१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

काठमाडौं पिंक केयराथन वैशाख ८ मा

काठमाडौँ — महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही वैशाख ८ गते काठमाडौं पिंक केयराथन हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो । काठमाडौं पिंक केयराथनमा महिलाको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम हुनेछ । यसपालि कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको छ ।

काठमाडौं पिंक केयराथन वैशाख ८ मा

जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमा गरेर पिंक केयराथनमा यसपटक २५ सयदेखि ३ हजार महिला सहभागी हुने अपेक्षा गरेको छ ।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलालाई आफ्नो र परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् ।

काठमाडौं पिंक केयराथनको यस संस्करण भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले सञ्चालन गर्नेछन् । सहभागी हुन चाहने महिलाले ई–सेवाबाट नाम दर्ता गर्नुपर्नेछ ।

पिंक केयराथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिएको जानकारीअनुसार तोकिएका स्थानमा गएर भौतिक रूपमा पनि नाम दर्ता गर्न सकिनेछ ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपालि अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयराथन नाममा गर्न लागेको जनाइएको छ ।

पिंक केयराथनकी ब्रान्ड एम्बासडर तथा अभिनेतृ नीति शाहले आफू सेलिब्रेटी भएर भन्दा पनि महिलाकै लागि गरिएको इभेन्टका कारण यससँग आबद्ध भएको बताइन् । उनले भनिन्, ‘पिंक केयराथनको उद्देश्य भनेको महिलालाई कसरी सशक्त बनाउने र स्वस्थ बनाउने भन्ने नै हो ।’

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक–आर्थिक कारणले रोकिएको इभेन्ट यो वर्ष भव्य रूपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ ।

प्रकाशित : चैत्र १६, २०८० २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?