बर्दघाटमा सुरु भयो साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सव
परासी — पश्चिम नवलपरासीको बर्दघाटमा साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानले गरेको महोत्सव सोमबारसम्म चल्ने छ । नगरभित्र रहेका पर्यटकीय, धार्मिक एवम् पुरातात्विक स्थलको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको प्रज्ञा प्रतिष्ठानका कुलपति डां.घनश्याम न्यौपानेले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवमा योजना तयार पारिने छ । नगरभित्र रहेका बुद्ध मङ्गलताल, कन्चनगढी, बनदेवी, सन्सारकोट क्षेत्र र बाउन्नघोला सिमसार क्षेत्रलाई साहित्य मार्फत प्रचारप्रसार गरिने छ ।
पर्यटकीय स्थलको विकाससँगै पर्याबरणीय सुन्दरता कायम राख्न महोत्सव महत्वपूर्ण हुने बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताए । महोत्सवमा नगर भित्र रहेका विभिन्न जातजातिका भेषभूषा र भाषा, साहित्य प्रस्तुत गरिएको छ ।
प्रकाशित : वैशाख २३, २०८१ २०:४१