गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कार्यप्रति कांग्रेसको निन्दा र भर्त्सना
काठमाडौँ — गण्डकी प्रदेश सभामा सभामुखले असंवैधानिक कार्य गरेको भन्दै नेपाली कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सभामा सभामुखले असंवैधानिक कार्य गरेको भन्दै घोर निन्दा र भर्त्सना गरेका छन् ।
'गण्डकी प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत भएको असंवैधानिक कार्यप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,' पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, 'नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भए अनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नु पर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत गरिएको कार्य हो भन्ने नेपाली कांग्रेसको ठहर छ ।'
कांग्रेसले सभामुखको सो कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधान माथि कै ठाडो प्रहार भएको जनाएको छ । 'यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ । यो असंवैधानिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,' उनले भने ।
प्रकाशित : वैशाख २४, २०८१ १९:०५