असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयो : अध्यक्ष राई
काठमाडौँ — नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि विभाजन गरेर नयाँ पार्टी बनाउनैपर्ने अवस्था बनेको बताएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद् सचिवालयमा बुझाउन सोमवार अपरान्ह सिंहदरवार पुगेका उनले पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने निष्कर्षमा पुगेको बताए ।
अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरुले पार्टी विभाजन नगरेको जिकिर समेत गरे । सांसदहरुले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रुपमा जोडिन जाने भएपनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उनको भनाइ थियो ।
‘अब यो चाँहि पानी उमाल्ने क्रममा तापक्रम बढ्दै बढ्दै जान्छ । सय डिग्री पुगेपछि पानी उम्लिन्छ भन्ने एउटा बैज्ञानिक नियम छ । अहिले भएको त्यस्तै हो,' उनले भने, 'पार्टीमा अन्तरविरोधको लामो श्रृंखला छ, पार्टीलाई एकीकृत बनाएर सुदृढ पार्टी बनाउनुपर्नेमा महाधिवेशनमा लाठे रोपाईँ गर्ने प्रयास भएपछि हामी अलग हुन बाध्य भयौँ ।'
उनले नौ वर्षको सहकार्यमा उद्देश्यअनुरुप प्रगति समेत प्राप्त हुन नसकेका कारण विभाजन गर्नुपर्ने निष्कर्षमा पुगेको बताए ।
प्रकाशित : वैशाख २४, २०८१ २०:१२