कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

हात्तीपाइले नियन्त्रण गर्न १६ औं पटक औषधि

मनोज पौडेल

कपिलवस्तु — १५ औं पटक हात्तीपाइले (फाईलेरिया)को औषधि खुवाउँदा पनि निष्प्रभावी भएपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन थालिएको छ । रोग निवारणका लागि सन् २००७ देखि हरेक वर्ष औषधि खुवाउँदै आइएको थियो । 

लुम्बिनी प्रदेशका अन्य ११ जिल्लामा हात्तीपाइले निवारण भए पनि कपिलवस्तु मात्र बाँकी छ । जाने बुझेका, सचेत र शिक्षित वर्गले नै औषधि सेवन नगर्दा हात्तीपाइलेको परजीवी नियन्त्रण हुन सकेको छैन । सर्वसाधारण हात्तीपाइलेको उच्च जोखिममा छन् । त्यसैले यहाँ वैशाख १६ गते १६ औं पटक हात्तीपाइलेको औषधि सेवन गराइँदैछ । जिल्लाको ६ लाख ६९ हजार जनसंख्यालाई लक्षित गरी औषधि खुवाउने योजना बनाइएको छ ।

१५ औं पटक औषधि खुवाउँदा जिल्लाको ७ लाख जनसंख्याको एक दशमलव ११ प्रतिशतमा फाईलेरियाको परजीवी पाइएको थियो । एक हजार दुई सय ५८ जनाको रगत परीक्षण गर्दा १४ जनामा परजीवी पाइएको थियो । एक प्रतिशतभन्दा कम परजीवीको दर पाइएमा रोग न्यूनीकरण भएको मानिने छ ।

नेपालमा ‘उचेरिया बान्क्रोफ्टी’ परजीवीबाट हात्तीपाइले लाग्ने गरेको छ । सुरुमा सन् २००७ देखि औषधि सेवनको अभियान चलाइएको जिल्ला सन् २०१३ मै हात्तीपाइले रोग निवारण हुनुपर्ने थियो । उक्त अवधिमा औषधि सेवन गराएर ६ वर्षपछि रगत परीक्षण गर्दा न्यूनतम मापदण्डभन्दा बढी हात्तीपाइलेका परजीवी देखिएको हो । सन् २०१३ मा रगतको नमुना परीक्षण गर्दा ४ दशमलव ७ प्रतिशतमा हात्तीपाइलेको परजीवी देखिएको थियो । ४० विद्यालयका २ हजार ६९२ विद्यार्थीको रगतको नमुना परीक्षण गर्दा २७ जनामा हात्तीपाइलेका परजीवी देखिएको थियो ।

आठौं पटक खुवाएर परीक्षण गर्दा १३ दशमलव ५ प्रतिशतमा परजीवी देखियो । १० औं पटकमा जाँच गर्दा १२ दशमलव ५ प्रतिशतमा परजीवी देखिएको थियो । १३ औं राउण्ड खुवाएर जाँच गर्दा ९ दशमलव ३९ प्रतिशतमा परजीवी देखिएको थियो । ‘१५ औं राउण्डमा जाँच गर्दा धेरै सुधार भएको छ,’ स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक उदयचन्द्र चौरसियाले भने, ‘यसपटक सबैले औषधि सेवन गरेर जिल्लालाई हात्तीपाइले रोगमुक्त बनाउनु पर्छ ।’

कपिलवस्तुसँगै औषधि खुवाउन थालिएका ५३ जिल्लामा रोग निवारण भइसकेको उनले बताए । अब कपिलवस्तुसहित रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापामा हात्तीपाइले निवारण हुन बाँकी छ । नेपालका ६० जिल्लामात्र हात्तीपाइले रोगको जोखिम रहेको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वाथ्य अधिकृत रामकुमार महतोले बताए । नेपालले सन् २०२० मा नै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर, उपलब्धि हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने नयाँ लक्ष्य छ । हात्तीपाइलेको परजीवीले समस्या नपर्दासम्म केही थाह हुँदैन । लामखुट्टेबाट सर्ने यो रोग लागेर हातखुट्टा सुन्नियो भने जिन्दगीभरि सन्चो हुँदैन । अशक्त, अपांगसरह नै कष्टकर जीवनयापन गर्नुपर्छ । कुरुप र शारीरिक असमर्थता हुन्छ । तर, अण्डकोष र शरीरका अन्य भागमा लाग्ने रोग भने निको गर्न सकिन्छ । चेतना र अशिक्षाका कारण औषधि सेवन नगर्ने प्रवृत्ति बढ्दा हात्तीपाइलेको परजीवी बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारायणप्रसाद चौधरीले बताए । सुरुमा पुर्वी नेपालमा औषधि सेवन गरेका व्यक्तिमा विभिन्न समस्या देखिएको हल्ला आए पछियता औषधि सेवन नगर्ने प्रवृत्ति बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

हात्तीपाइले निवारणका लागि राष्ट्रिय र जिल्लास्तरमा माइक्रोफाइलेरियाको दर १ प्रतिशतभन्दा कम वा एन्टीजेनेमियाको दर २ प्रतिशतभन्दा कम हुनुपर्छ । हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, एक साता नपुगेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन । यस वर्ष एलबेन्डाजोल, डीईसी र आईभर मेक्टिन गरी तीन प्रकारको औषधि खुवाइँदैछ । यस्ले हात्तीपाइले विरुद्धमात्र सुरक्षित नगरेर लुतो, खुजुरी र चिलाउने रोग पनि निको पार्छ ।

वैशाखमा ७ जिल्लाका ५० लाख ७८ हजारलाई औषधि खुवाउने लक्ष्य लिइएको छ । यसका लागि ६ हजार स्वास्थ्यकर्मी र ५ हजार ८ सय स्वंसेविका परिचालन हुनेछन् ।

प्रकाशित : वैशाख १३, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?