कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

बुद्ध जयन्ती मनाउन बजेट अभाव

मनोज पौडेल

लुम्बिनी — बजेट अभावले २५६८ औं बुद्ध जयन्तीको तयारी हुन सकेको छैन् । बुद्ध जन्मस्थल लुम्बिनीमा विगतमा भब्य रुपमा मनाइदै आएको बुद्धजयन्ती यो वर्ष औपचारिकतामा सीमित हुने देखिएको छ ।

बुद्ध जयन्ती मनाउन बजेट अभाव

यस वर्ष बौद्धिष्ट मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई बोलाएर प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने योजना बनाइएकामा बजेट अभाव उक्त कार्यक्रम पनि रद्द गरिएको लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्यले बताए ।

अर्थमन्त्रालयसँग कोषले समयमै बजेट माग गरे पनि रातो किताबमा विनियोजन हुन नसक्दा समस्या भएको उनले बताए । ‘के गर्ने कसो गर्ने अन्यौल छ । सक्दो राम्रो गर्ने प्रयास गरेका छौं,’ उनले भने ।

यसअघि संघीय सरकारले बुद्धजयन्तीका लागि वार्षिक रूपमा ५० लाखदेखि डेढ करोडसम्म बजेट विनियोजन गर्दै आएको थियो । यसअघि कोभिड महामारीपछि ०७९ मा २५६६ औं बुद्ध जयन्ती मनाउदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा सरकारले करिब ३ करोड बजेट विनियोजन गरेको थियो ।

बजेट नहुँदा आगामी जेठ १० गते परेको २५६८ औं बुद्ध जयन्तीको कुनै तयारी गरिएको छैन् । कोषको बोर्ड बैठकले संस्कृति मन्त्री हितमान तामाङको अध्यक्षतामा ५६८ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यसबाहेक कुनै पनि बैठक, छलफल तथा तयारी गरिएको छैन् । ‘अघिल्ला वर्षमा एक महिनाअघिबाटै तयारी हुन्थ्यो,’ कोषका एक अधिकृतले भने, ‘तनि साता पनि समय भैन, अहिलेसम्म तयारी शून्य जस्तै छ ।’ बजेटको जोहो गर्न उपाध्यक्ष ल्याहारल्याक लामा, योजना प्रबन्धक स्मिता भट्ट र बोर्ड सदस्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय धाइरहेका छन् । उनीहरु साता बढी समयदेखि संघीय राजधानी काठमाडौंमा छन् ।

बुद्ध जन्मस्थलमा राम्ररी कार्यक्रम गरेर विश्वलाई नै शान्ति र भातृत्वको सन्देश दिनुपर्ने बेला बजेट नहुनु दुखदः भएको कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए । बुद्धजयन्ती एउटा उत्सव सँगै स्वदेश तथा विदेशमा लुम्बिनी एक भ्रमणीय स्थल हो भने सन्देश लैजानु पर्ने बेला बजेट खोज्दै हिड्नु लाजको अवस्था भएको सदस्य शर्माले बताए ।

लुम्बिनीमा २०५५ मा सम्पन्न ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलनले बुद्ध जयन्तीलाई लुम्बिनी दिवस पनि मनाउने निर्णय गरेको थियो । विभिन्न बौद्ध मुलुकको पहलमा सन् १९९९ देखि संयुक्त राष्ट्रसंघले समेत अन्तर्राष्ट्रिय रुपमै बुद्ध जयन्तीलाई बैशाख डेका रुपमा मान्यता प्रदान गरी उक्त दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयमा बिदा दिने गरेको छ ।

संयुक्त राष्ट्र संघले समेत बुद्ध जयन्तीलाई उच्चस्तरको महत्व दिँदा उनको जन्मस्थलमा बिरोनो बनेको स्थानीयको गुनासो छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भटराईले बजेटका लागि संघीय र प्रदेश सरकारबाट सकारात्म आश्वासन पाएको बताए ।

यहाँ साताब्यापी कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइन्थ्यो । लुम्बिनीसँगै प्राचीन कपिलवस्तु तिलौराकोट, रामग्राममा बनाइने कार्यक्रम पनि अन्यौलमा परेको छ । कोषको आफ्नै स्रोत नहुँदा अन्यसँग भर पर्नु परिरहेको हो । कोषको मुख्य स्रोत मन्दिर प्रवेश शुल्क र दानभेटी हो । यसबाटै कोषका कर्मचारी र प्रशासनिक खर्च चल्ने गरेको छ ।

प्रकाशित : वैशाख २२, २०८१ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?