कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्या घट्दै 

माधव अर्याल

पाल्पा — पाल्पाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या हरेक वर्ष घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो ५ वर्षको तथ्यांकमा जिल्लामा प्रत्येक वर्ष एसईईका परीक्षार्थी घट्दै गएको देखिएको हो । 

पाल्पामा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्या घट्दै 

जिल्लामा जन्मदर कम हुनु र बसाइँसराइले एसइईमा सहभागी हुने विद्यार्थीको संख्या घटेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदीले बताए । बिहीबारबाट सुरु यस वर्षको एसईईमा पााल्पाबाट ४ हजार १ सय ८२ विद्यार्थी सहभागी हुँदैछन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट ३ हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४ सय ८७ जनाले एसईई परीक्षा दिने तयारी गरेको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ । नियमिततर्फ ४ हजार १० जना र ग्रेड वृद्धिका १ सय ७२ जना विद्यार्थी परीक्षा दिने इकाई प्रमुख सुवेदीले बताए ।

२ हजार १८ जना छात्र र दुई हजार १ सय ६४ जना छात्रा रहेका छन् । जिल्लाभरका २७ केन्द्रबाट एसईईको परीक्षा सञ्चालन हुनेछ । तानसेन नगरपालिका–९ दमकडा माविमा दृष्टिविहीन एक र पाल्पा कारागारबाट एक जना परीक्षार्थी सहभागी हुने उनले बताए । एसईई परीक्षा दिनेमा २ सय ६७ जना प्राविधिक धारतर्फका विद्यार्थी छन् । तानसेनस्थित जनता माविमा सञ्चालित एकमात्र खुल्ला विद्यालयबाट १५ जनाले एसईई दिने इकाई प्रमुख सुवेदीले बताए ।सबैभन्दा बढी रामपुरस्थित दरैठाँटी मावि परीक्षा केन्द्रबाट २८७ जना र सबैभन्दा कम बगनासकालीस्थित चन्द्र मावि चापपानीबाट ६० जनाले एसईई परीक्षा दिनेछन् ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षाका लागि आवश्यक व्यवस्थापन गरेको छ । गत वर्ष २०७९ को एसईईमा पाल्पाबाट ४ हजार ५ सय ५४ जना सहभागी थिए । २०७८ सालमा ४ हजार ७ सय ८२, २०७७ मा ४ हजार ८ सय ८४ सहभागी थिए ।

प्रकाशित : चैत्र १५, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?