रामनगरमा सहिद लखन थापाको सालिक निर्माण
चितवन — भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।
साढे तीन फिट अग्लो शालिकका लागि महानगरले ११ लाख ४९ हजार रुपैयाँ सहयोग गरेको छ । शालिक निर्माणमा १३ लाख रुपैयाँ खर्च भएको र बाँकी रकम स्थानीयले सहयोग गरेको लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष निलकुमार मगरले जानकारी दिए ।
विस १८९१ सालमा गोरखाको बुंकोट, काहुलें भंगारमा जन्मेका लखन थापाले विस १९३३ सालको फागुन २ मा साहदत पाएका थिए । सरकारले उनलाई औपचारिक रुपमा विस २०७३ सालको असोज ३ मा देशका पहिलो सहिद घोषणा गरेको थियो ।
शालिक स्थापनासँगै रामनगरमा बृहत् पार्क निर्माणको योजना पनि रहेको अध्यक्ष निलकुमार मगरले बताए । रामनगरमा नारायणगढ मुग्लिन सडकदेखि सात सय मिटर जति दक्षिण बरण्डाभार जंगल आडको २१ बिघा क्षेत्रलाई वनभोज स्थल र पार्क बनाउन लागेको उनले बताए ।
वन क्षेत्र भएका कारण आडैमा विशाल कृतिम ताल बनाउने योजना पनि रहेको उनको भनाइ छ ।
प्रकाशित : वैशाख १५, २०८१ १५:४५