कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

बेनी-गलेश्वर सडकमा ‘बिटुमिन ब्लिडिङ’ले यात्रा असहज

घनश्याम खड्का

म्याग्दी — कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अर्न्तगतको बेनी–गलश्वेर ३ किलोमिटर खण्डमा गरिएको कालोपत्रे सडकमा ‘विटुमिन ब्लिडिङ’ हुँदा दुर्घटनाको जोखिम बढेको छ । गत मंसिरको चिसो मौषममा सडक कालोपत्रे गर्दा विटुमिन (अलकत्रा)को मात्रा बढी बिच्छाएकोले अहिले तापक्रम बढेसँगै विटुमिन उम्लेने (रोड ब्लिडिङ)समस्या हुने समस्या आएको हो ।

बेनी-गलेश्वर सडकमा ‘बिटुमिन ब्लिडिङ’ले यात्रा असहज

डिबीएसडी प्रविधिको कालोपत्रे गरिएको सडकमा तापक्रम बढेसँगै बिटुमिन उम्लेर बाहिर आएपछि सडकमा सवारीसाधन चिप्लिने र पैदल यात्रा गर्दा च्यापच्याप खुट्टा अल्झने भएको छ ।

‘बेनी–गलेश्वर सडकमा बिटुमिन ब्लिडिङ हुने समस्या आएको छ । चैतपछि मात्र चार पटक स्याण्ड सिल्क (बालुवा) हाले अझै समस्या दोहोरिएको छ,’ बेनी–गलेश्वर सडक कालोपत्रे गरेको ठेकेदार कम्पनी मंगलादेवी सुवास कन्ट्रक्सनका संचालक सुवास कार्कीले भने, ‘मंसिरमा कालोपत्रे गर्दा सडक राम्रो भएको थियो, बिटुमिनले राम्रो समाएकोले एउटै पनि चिप्स खेर गएन । तर अहिले गर्मी बढेपछि उम्लेर हैरान बनाएको छ ।’

बिटुमिन ब्लिडिङ रोक्न ठेकदारले कालो च्याप च्याप लाग्ने सडकमा बालुवा हालेपछि हिड्नै नमिल्नेगरी धुलो उड्ने गरेको छ । अधिक धुलोले दुई पाङ्गे सवारी यात्रा थप जोमिखपूर्ण बनेको छ । पैदल यात्रा गर्न उस्तै सास्ती भएको छ ।

सडक कालोपत्रे गरेको ५ महिना नबित्दै बिटुमीन ब्लिडिङ भएर सवारीसाधन चिप्लने र टाँसिने मात्र होइन, बेनी–गलेश्वर ३ किलोमिटर खण्डमा दर्जन बढी स्थानमा उप्केर खाल्डाखुल्डी पर्न थालेको छ । ‘सडकमा केही प्राविधिक समस्या आएका छन् । हामी ट्रिटमेन्टमै छौं । ब्लिडिङ रोकिएपछि उप्केको स्थानमा फेरि टाल्ने काम सुरु गर्छौ । अलपत्र छोड्दैनौं,’ अलकत्रा उम्लेको स्थानमा स्याण्डसिल्क छर्दै गरेको ठेकदार कार्कीले सुनाए ।

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–गलश्वेर खण्ड सडक स्तरउन्नत गरी ८ मिटर चौडा कालोपत्रे बनाउन दुई वर्षभित्र काम सक्ने कार्यादेशमा १२ करोड ७५ लाख ९४ हजारमा धनञ्जय/मंङ्गलदेवी सुवास कन्ट्रक्सन जेभीलाई ठेक्का दिएको थियो ।

ठेकदारले पनि एक वर्षभित्रै काम सम्पन्न गरेको थियो । तर काम चाँडो सकेर सबैको धन्यवाद पाएको ठेकदार कम्पनीले पिच ५ महिना नपुग्दै उप्कने र ब्लिडिङ भैरहने समस्या देखिएपछि गुणस्तरमा भने प्रश्न उठेको छ ।

प्रकाशित : वैशाख १५, २०८१ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?