२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन रोक्नुपर्छ : उपकुलपति बराल

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई परिचालन गर्न रोक्नुपर्ने बताएका हुन् । 

दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन रोक्नुपर्छ : उपकुलपति बराल

हरेक राजनीतिक दलको विद्यार्थी, कर्मचारी र प्राध्यापक संगठन रहेका भन्दै बरालले हरेक दिन उनीहरूसँग नै अल्झिरहनु परेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । विगतमा भ्रातृ संगठन आवश्यक भएपनि अबका दिनमा शैक्षिक संस्थामा भातृ संगठनको उपयोगिताको सम्बन्धमा दलहरूले सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

विश्वविद्यालयलाई कसैमाथि आग्रह, पूर्वाग्रह नराखि सुद्ध किसिमले चलाउने उपकुलपति बरालको प्रतिबद्धता थियो । विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेन्डर प्रणाली लागू गर्न गाह्रो हुने उनले बताए ।

‘हामीले परिक्षा लिन्छौँ तर नतिजा महिनौँ ननिस्किएको कुरा सत्य हो । तथ्यलाई हामीले स्वीकार्नु पर्छ । परीक्षालाई सुधार्न मेरो टीम लागिराखेको छ । परीक्षा क्यालेन्डर बनाउने, परीक्षा सुधार्ने र समयमा रिजल्ट निकाल्ने भन्ने कुरा हाम्रो पहिलो प्राथमिकता भएको हुनाले अब आउने एक वर्षभित्रमा क्यालेन्डर लागू गर्ने र परीक्षालाई समयमै निकाल्ने हाम्रो योजना छ,' उपकुलपति बरालले थपे, 'सबैले स्वीर्कानुपर्ने कुरा के हो भने जति दल छन्, ती दलका विद्यार्थी संगठन, कर्मचारी संगठन र प्राध्यापक संघ पनि छन् । एक दिन एउटा पार्टीको आउँछ । अर्कोदिन अर्को पार्टीको आउँछ । त्यसैमा हामी धेरैजसो अल्झिराख्नु परेको छ । हामीले अनावश्यक रुपमा आफ्नो भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्छ । यो महत्वपूर्ण कुरा छ ।'

उपकुलपति बरालले राजनीतिक दलका सांसदहरूलाई आग्रह गरे, 'हिजो पञ्चायतकालमा आवश्यक थियो । अब शैक्षिक क्षेत्रमा, शैक्षिक संस्थामा भ्रातृ संगठनलाई परिचालन गर्नुपर्ने छ कि छैन भन्ने कुरामा यहाँहरूले पनि सोच्नुपर्ने बेला आएको छ । हामीले पनि निष्पक्ष भएर विश्वविद्यालय सञ्चालन गर्ने भनेका छौँ । भागबण्डा लगाउनु हुन्न भन्नेकुरा छ । मैले तीतो सत्य भन्नैपर्छ, एउटा प्राफेसर भागबण्डाको नाममा एउटा लेक्चररको मातहतमा काम गर्नुपर्दा प्रोफेसरले कुन मन लिएर कक्षामा जान्छ ? त्यसैले राजनीतिबाट मुक्त नगराउँदासम्म विश्वविद्यालयमा क्यालेन्डर प्रणाली लागू गर्न अप्ठ्यारो महसुस गरेको छु, तर हामी प्रयासमा गर्छौं ।'

उपकुलपति बरालले विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त स्वदेशी कलेज रहेको बताए । तर तिनमा न कोटा रहेको न त गुणस्तर अनुगमन हुने गरेको उनको भनाइ थियो । विदेशी सम्बन्धनप्राप्त कलेजको अनुगमनका लागि निश्चित संयन्त्र आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २७, २०८१ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?