चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ रामनगरमा आज बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । एकजनाको अवस्था मध्यम र बाँकी तीनजना सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए ।
रामनगरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि सुरक्षा जाँच भइरहँदा बिहान ५ बजे उक्त दुर्घटना भएको डीएसपी भण्डारीले जानकारी दिए ।
झापाबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको यात्रु बस जाँच गर्न प्रहरीले रोकेको बेला ग २ ख २२५ नम्बरको माइक्रोले बसलाई पछाडि ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि माइक्रो झनै अनियन्त्रित भइ कमला न्यौपानेको घरमा सञ्चालित ग्यारेजमा गएर ठोक्किएको थियो । घाइतेहरू माईक्रो बसका यात्रु हुन् ।
घाइतेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित : चैत्र १५, २०८० ०७:४७