३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

समयमै पुल निर्माण सम्पन्न हुँदै

डम्बरसिं राई

खोटाङ — मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । भालुखोला, मेवाखोला र छेपेखोलाको पुल अन्तिम चरणमा पुगेको हो ।

समयमै पुल निर्माण सम्पन्न हुँदै

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र उक्त नगरपालिकाकै वडा नं ६ नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २०–२० मिटर लम्बाइको पुलको भौतिक प्रगति ८० प्रतिशत देखिएको मध्यपहाडी योजना कार्यालय धुलिखेलका सूचना अधिकारी हर्क प्रधानले बताए । आर्थिक प्रगति पनि ८० प्रतिशत नै देखिएको उनको भनाइ छ । उक्त दुवै पुलमा एप्रोच रोडको काम हुँदैछ । ‘दुवै पुलको एप्रोच रोडको कालोपत्रे, रेलिङ र रङ रोगन मात्र बाँकी छ,’ प्रधानले भने, ‘वर्षौदेखि योजनाहरू अलपत्र परिरहेको अहिलेको अवस्थामा दुवै पुल म्याद नथप्दै सकिने भयो । यो खुसीको कुरा हो ।’

सात करोड ७४ लाख २५ हजार रुपैयाँमा सक्ने गरी उक्त दुवै पुल निर्माणको ठेक्का केएम इन्जिनियर्स विल्डर्स प्रालिले लिएको हो । २०८१ असार–२२ गतेभित्र सक्ने गरी २०७९ असार २२ गते सडक विभागसँग सम्झौता गरेको थियो । दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाखसम्म सकेर जिम्मा लगाइने निर्माणमा संलग्न केएम इन्जिनियर्स विल्डर्स प्रालिका प्रबन्ध निर्देशक मोहन कार्कीले बताए । दुवै पुल सम्झौता अवधिभन्दा दुई महिनाअघि सकिने कार्कीले बताए ।

यस्तै उक्त सडक खण्डकै नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा निर्माणाधीन पुल पनि सकिएर गाडी गुड्न थालेको छ । तीन करोड पाँच लाख ८० हजार एक सय ३७ रूपैयाँको लागतमा २०८० कात्तिक ११ गतेभित्रै सक्ने गरी सगरमाथा सजिव जेभीले ठेक्का लिएको थियो । तर स्थानीय, प्रदेश र संघीय चुनाव तथा कोसी प्रदेशमा पहिचानपक्षधरहरूले सञ्चालन गरेको आन्दोलनका कारण काममा अवरोध आएपछि बेलामा सक्न नपाएको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए । रेलिङ, रङरोगन, एप्रोच रोडमा कालोपत्रेको काम पनि केही दिनमै सक्ने योजना रहेको घिमिरेको भनाइ छ । ‘बाँकी रहेका काम केही दिनमै सकिन्छ,’ घिमिरेले भने,‘भुक्तानी लिनका लागि म्याद थप गर्नु पर्ने देखिएको छ, सायद थप हुन्छ होला ।’

प्रकाशित : चैत्र १७, २०८० ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?