कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

‘फेक न्युज’ उत्पादन गरेर मिडिया र न्यायाधीशबारे भ्रम फैलाउने कुचेष्टा’ : मिडिया सोसाइटी

काठमाडौँ — नेपाल मिडिया सोसाइटीले नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्देश्यका साथ कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर भ्रम फैलाउने कुचेष्टा गरेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले शनिबार विज्ञप्ति जारी गर्दै जिम्मेवार मिडिया संस्थाका बारेमा भ्रम फैलाउने त्यस्तो कुचेष्टाले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् ।

‘फेक न्युज’ उत्पादन गरेर मिडिया र न्यायाधीशबारे भ्रम फैलाउने कुचेष्टा’ : मिडिया सोसाइटी

शुक्रबार सिधाकुरा डटकम अनलाइनबाट ‘भ्रष्टाचारका चार सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधीशसहित डिल’ शीर्षकमा अडियो सामाग्री प्रकाशित भएको थियो । सोसाइटीले सो यूट्युब भिडियोमार्फत् लोकतान्त्रिक संरचना, स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरुको बद्नाम गर्ने र अराजक उत्तेजित भीडको शासन लाद्ने दूषित प्रयास भइरहेको टिप्पणी गरेको छ ।

‘एक अमूक युट्युव च्यानलमा नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्धेश्यका साथ विना कुनै तथ्य र प्रमाणका आधारमा आग्रहपूर्ण अभिनय गरिएको घटनालाई कानुनको पालना गराउने निकायहरुले तत्काल कारबाही गर्नुपर्दछ, यस प्रकारका गैरजिम्मेवार र नियोजित ‘फेक खुराक’ उत्पादन गर्ने कारखानाहरु मिडिया हुन नसक्ने तथ्यलाई स्पष्ट गर्नु आवश्यक छ,’ सोसाइटीका अध्यक्ष कँडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यस्ता खालका फेक कारखानाका पछाडि र ‘हेट स्पिच‘को वर्गमा पर्ने क्रियाकलापलाई सरकारले तत्कालै कारबाहीको दायरामा ल्याउन समेत हामी जोडदार माग गर्दछौं ।’

सोसल मिडियाको चरम दुरुपयोग गर्ने, प्रविधिलाई निहित उद्धेश्यका लागि प्रयोग गरेर गलत सूचना फैलाउने तथा आम जनता र सिंगो समाजलाई नै गैरजिम्मेवार भीडमा बदल्ने कुचेष्टाका बारेमा विश्वभरि अन्तराष्ट्रिय मिडिया संस्था, युनेस्को र संयुक्त राष्ट्रसंघले समेत लगातारजस्तै गरी चिन्ता जाहेर गरेको भन्दै अध्यक्ष कँडेलले नेपालमा पनि त्यस्तै प्रयास भइरहेको भनेका छन् ।

‘विश्वभर प्रविधिको चरम दुरुपयोग गरेर लोकतान्त्रिक संरचना र स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरुको बद्नाम गरेर अराजक र उत्तेजित भीडको शासन लाद्ने दूषित हावा चलिरहेको छ । त्यसकै पछिल्लो घटनाका रुपमा शुक्रबार एक यूट्युब भिडियोले कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर नेपाली मिडिया जगत र स्थापित तथा जिम्मेवार मिडिया संस्थाका बारेमा भ्रम फैलाउने कुचेष्टाको समाचारले हामीलाई गम्भीर बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले अभिव्यक्ति स्वतन्त्रताका नाममा सामाजिक मूल्य, मान्यता र जिम्मेवारीलाई पूर्णतः वेवास्ता गरेर सोसल मिडियामा भइरहेको गालीगलौज, अल्पसंख्यक तथा महिलाद्धेषी दुर्भावाना र धार्मिक उन्माद जस्ता प्रवृत्ति बढ्दै गइरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

‘पछिल्लो समय नेपालमा भ्रष्टाचार विरुद्धका केही घटना तथा बेथिति र विकृतिको भण्डाफोरका सन्दर्भमा नेपाली जिम्मेवार मूलप्रवाहको मिडियाले अग्रणी भूमिका खेल्दै आएका कारण स्वार्थ समूह र राज्य संयन्त्रको दुरुपयोग गर्नेहरु अत्तालिंदै आएको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विषयमा जो कसैका बारेमा (मिडिया संस्था र पत्रकार समेत) तथ्यसहित समाचार बन्न सक्छन्, बन्नु पनि पर्छ । तर कुनै रिस साध्न वा अरुलाई पनि आफू जस्तै त हो नि भन्ने भाष्य तयार गर्न कुनै अनलाइन वा सोसल मिडियाको दुरुपयोग हुनु आफैमा डरलाग्दो प्रवृत्ति हो । यस्तो रबैयालाई समयमा नै नरोकिएमा भविष्यमा यस्ता घटनाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने निश्चित छ ।’

सोसाइटीले कुनै पनि कुरा सोसल मिडियाका भित्तोमा पोतिएका कुरा वा प्रविधिको छिद्र प्रयोग गरेर बनाइएका अमूक अनलाइन डोमेन र तिनका सामाग्री समाचार र सही सूचना हुन नसक्ने दाबी गरेको छ ।

‘जिम्मेवारी विनाको कुनै पनि कुरा लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुनसक्दैन भन्ने वास्ताविकतालाई नेपाल सरकार र कानुन पालना गराउने निकायहरुले समेत आत्मसात गर्न आवश्यक छ,’ विज्ञप्तिमार्फत् अध्यक्ष कँडेलले भनेका छन्, ‘पछिल्लो फेक अडियो प्रकरण विगत केही समयदेखि लगातार नेपाली मिडिया, पत्रकार र न्यायालयमाथि खुलेआम हुने गरेका आक्रमण, धम्की र अवाञ्छित अभिव्यक्तिको नियोजित सिलसिला हो । यो फेक अडियो प्रकरण एक कलाविहीन फेक खुराकको तमासा भन्दा बढी केही होइन भन्ने स्पष्ट छ ।’

उनले त्यो कुरालाई प्रेस काउन्सिलले गरेको निर्देशनले समेत स्पष्ट पारेको दाबी गरेका छन् ।

प्रकाशित : वैशाख १५, २०८१ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?