कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

दशकसम्म योजना नबन्दा पानीको हाहाकार

प्रकाश बराल

बागलुङ — जैमिनी नगरपालिका–१ टारकी कक्षा ८ पढ्ने सोनम नेपाली साँझ-बिहान गृहकार्य गर्न छाडेर पानी बोक्नु हिँड्नु परेको छ । उनी हरेक दिन बिहान खोल्साबाट एकखेप पानी ल्याएपछि मात्रै विद्यालय जान पाउँछिन् । उनकी छिमेकी सोनु नेपाली पनि पानी बोक्दै समय जाँदा नियमित पढ्न लेख्न नपाएको गुनासो गर्छिन् ।

दशकसम्म योजना नबन्दा पानीको हाहाकार

नजिकका धारोमा पानी आउन छाडेपछि उनीहरु खानेपानीको जोहोका लागि बिहानभर बिताउन बाध्य छन् । उनीहरु कहिले जुम्लीखोला पुग्छन् भने कहिले कुश्मीसेरा बजार छेउको टिमुरखोला । धारोमा पानी नआएपछि तातोपानी भन्ने स्थानको कुवाबाट पानी बोकेर ल्याएको सोनुले बताइन् ।

बालबालिकामात्र हैन, उमेर पुगेकाहरुले पनि पानी खेप्न हैरानी भएको गुनासो गर्छन् । स्थानीय कृष्णमाया थापाले खडेरीले मूल सुकेको र जंगलमा लागेको आगोले कैयौं पानीका मूलमा समस्या आएको बताइन् ।

काम भ्याएर कार्यालय जानेलाई पनि पानीकै सास्ती छ । ‘धारोमा पानी छैन, खेपेर ल्याउँदा काम भ्याउनै मुस्किल छ,’ स्थानीय शिक्षक यमुना शर्माले भनिन्, ‘यो वर्ष त पानीको हाहाकार नै भयो ।’ गत असोजपछि अहिलेसम्म बर्षात भएको छैन । लामो खडेरीका कारण वरपरका सबै मूल सुकेको उनले बताइन् । पहिलेदेखि नै पानीको समस्या भएकोले ठाउँको नामसमेत टार भनिन्छ । दशकदेखि यहाँका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ एक घर एक धारा अभियान दश वर्षअघि नै चलेको थियो । पाइप गाडिसकेपछिको जग्गा विवादले योजना अलपत्र छ । बनेका धारामा पानी खसेको छैन । खोल्साखोल्सीबाट ल्याएको मूल पनि सुकेर स्थानीयले सास्ती खेपेका हुन् । कतिपयले पाइपबाट ल्याएर फिल्टर गरेर जोहो गरेका थिए । पानी अभावमा बारीमा सागपात फलाउन नपाउँदा तराई र पोखराबाट झिकाउनु परेको स्थानीयले गुनासो गरे ।

२०५० देखि निरन्तर यहाँको छहरा खोलाबाट पानी खाएकाहरुसमेत अहिले मूल सुकेर हैरान छन् । यो मूलबाट टारका ४५ र सामरुम्टाका ४५ गरी ९० घरले पानी खाइरहेका छन् । पानीको समस्यामा उनीहरुसमेत थपिएका हुन् ।

वर्षौंअघि बागलुङ नगरपालिका–११ रायडाँडाबाट पानी ल्याउने गरी योजना बनेको थियो । उक्त योजनाअनुसार यहाँ धारासमेत बनेका छन् । पाइपलाइन पनि बिच्छ्याइएको छ । मुहानमै विवाद भएपछि पानी आउने सम्भावना छैन । ‘हामीले धेरैनै पहल गरिरहेका छौं, तर जग्गावालाले विवाद झिकेर मुहान बनाउन सकेका छैनौं,’ वडाध्यक्ष विष्णुप्रसाद आचार्यले भने, ‘तत्कालका लागि पानीकै समस्या भयो ।’

रायडाँडाबाट ल्याउने प्रस्ताव भएअनुसार ९० एमएमको पाइपसमेत बिच्छ्याइएको छ । तर अहिले ३० एमएममात्रै पानी आएको छ । त्यसैले यो सास्ती भएको उनले बताए ।

कुश्मीसेरा बजारमा अधिकांशले खोलाखोल्सीबाट पानी ल्याएका छन् । उक्त पानी शुद्ध नभएकोले उमालेर मात्रै खान सुझाव दिएको आचार्यले बताए । ‘मुख्य योजना सफल नभएसम्म पानीको हाहाकार छ,’ आचार्यले भने, ‘यो खडेरीले झनै सास्ती दियो ।’ आसपासका सबै वनमा डढेलो लागेकोले पानीका सानासाना स्रोतसमेत घटेको उनले बताए ।

रायडाँडादेखि ल्याएर खाने गरी टार, कुश्मीसेरा, सामरुम्टालगायतका स्थानका २ सय ६० घरमा धारा बनाइएको छ ।

आर्थिक वर्ष २०७१/०७२ देखि निर्माण सुरु भएको यो आयोजना अझै पूरा नभएको हो । कुल १७ करोड ४० लाखको यो आयोजनामा अहिलेसम्म १३ करोड ७० लाख रुपैयाँ खर्च भैसकेको छ । ‘हामीले भौतिक रुपमा ८५ प्रतिशत र वित्तीय रुपमा ८४ प्रतिशत प्रगति गरेका छौं,’ खानेपानी तथा सरसफाइ डिभिजन बागलुङका प्रमुख किरण पौडेलले भने, ‘केही समस्याले पानी वितरण गर्न नसेका छैनौं ।’

मुहानबाट पाइपलाइन बिच्छ्याइएको स्थानमा पहिरो गएपछि स्थानीयले पानी लैजान नदिएपछि वितरणमा समस्या भएको हो । वितरणमा समस्या आएपछि डिभिजनले वैकल्पिक उपायाको खोजी गरी दुई स्थानमा लिफ्ट पानीको परीक्षणसमेत गरेको छ । परीक्षणबाट पनि अझै पानी खुवाउने अवस्था आइनसकेपछि समस्या समाधान नभएको हो ।

जग्गाधनीको विवादले पानी आउन नसक्दा सिंगो बस्तीले समस्या भोगेका छन् । अधिकांशले खानेपानी नभएपछि एउटै धारोको पानी बाँडेर खान बाध्य भएको स्थानीय लक्ष्मण आचार्यले गुनासो गरे । ‘कैयौं धारा सुके, भएका धाराबाट पालो गरेर खानुपरेको छ,’ उनले भने, ‘त्यसैले दिनदिनै झगडा निम्तेको छ ।’ अभाव भएपछि कुवा र पानी आएका धारोमा झैझगडा भइरहेको हो । ‘एक गाग्री पानी ल्याउन बिहानभरि लाग्ने भएपछि झगडा पनि हुने नै भयो,’ स्थानीय भीमसेन थापामगरले भने, ‘हामीलाई योजनाले त ठगेकै थियो, खडेरीले पनि ठग्यो ।’

मुख्य बजार रहेको कुश्मीसेरामा त अधिकांशले खोलाखोल्सीको पानी ल्याउने भएकोले सरसफाइका लागि भए पनि पिउनयोग्य भने छैन ।

प्रकाशित : वैशाख २३, २०८१ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?