२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

इलाम-२ उपनिर्वाचन : रास्वपाले आज उम्मेदवार घोषणा गर्दै 

पर्वत पोर्तेल

विराटनगर — सत्ता गठवन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा रिक्त रहेको इलाम–२  निर्वाचन क्षेत्रको  उपनिर्वाचनका शनिबार उम्मेदवार घोषणा गर्दैछ । 

इलाम-२ उपनिर्वाचन : रास्वपाले आज उम्मेदवार घोषणा गर्दै 

रास्वपाले पूर्व पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । इलाम नगरपालिका–७ लाकुरी चौतारा बजारमा रास्वपाले भव्य समारोहबीच उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय गरेका छ । जसका लागि पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता तथा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहप्रवक्ता रमेश प्रसाईंलगायतको टोली शुक्रबार नै इलाम पुगिसकेको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको यो क्षेत्रमा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकिककेको छ ।

इलाम-२ मा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन । प्रदेश समितिले गत चैत ११ मा ६ जना आकांक्षीको नाम सिफारिस गरेको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम सिफारिस गरेको छ।

उम्मेदवारको नाम टुंगो लाग्न केही दिन लाग्ने कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाले जनाए । प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिं थेगिमले उम्मेदवारी घोषणा गरिसकेका छन् । सीके राउतको मधेश केन्द्रित दल राष्ट्रिय जनमत पार्टीले पहिलो पटक पहाडमा उम्मेदवार उठाउने निर्णय गरेको छ । उसले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माओवादीले भने उम्मेदवार बनाउने विषयमा निर्णय गरेको छैन । एक नेताले माओवादीले एमालेलाई सघाउने सम्भावना रहेको दाबी गरे ।

प्रकाशित : चैत्र १७, २०८० ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?