कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडकद्वारा जेलबाटै बलात्कार पीडितलाई धम्की

पीडकले जेलबाटै फोन गरेर धम्क्याएपछि पीडित युवतीले दिइन् प्रहरीमा उजुरी
पीडित भन्छिन्– ‘गुन्डा लगाएर अपहरण गरी मारिदिन्छु भन्यो, जेलमा परिसकेपछि पनि यस्तो धम्की आएपछि कहीं जानसमेत डर लागिरहेको छ’
घनश्याम खड्का

काठमाडौँ — जबरजस्ती करणीमा दोषी करार भइ कारागार चलान भएका पीडकले जेलबाटै फोन गरेर आफूलाई धम्क्याएको भन्दै पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौं जिल्ला अदालतले गत असोज २२ मा गरेको फैसलाअनुसार ७ वर्ष सजाय पाएका नुवाकोटका पशुपति मैनालीले डिल्लीबजार कारागारबाट पटक पटक फोन गरेर धम्की दिने गरेको पीडित सिंहदरबार–८४ ले बताएकी छन् ।

पीडकद्वारा जेलबाटै बलात्कार पीडितलाई धम्की

‘सुरुमा त मैले कारागारमा भएको मानिसले के नै गर्न सक्छ र भनी त्यति वास्ता गरिनँ,’ पीडित युवतीले भनिन्, ‘तर, पछिल्लो पटक फोन गरेर मलाई मुद्दा हालेर थुनाइस्, अब तँलाई र तेरो छोराछोरी समेतलाई गुन्डा लगाएर अपहरण गरी मारिदिन्छु भन्यो ।’ गुन्डा लगाउँछु भनेपछि आफूलाई असुरक्षा महसुस भएकाले गाउँ छाडेर अन्यत्रै बस्नुपरेको उनले बताइन् । ‘कारागारको मोबाइल नम्बरबाट फोन गरेको रहेछ, जेलमा परिसकेपछि पनि यस्तो धम्की आएपछि मलाई कहीँ जानसमेत डर लागिरहेको छ,’ उनले भनिन् ।

सिंहदरबार–८४ ले प्रहरीवृत्त सिंहदरबारमा पीडकलाई झिकाइ अनुसन्धान गरिपाऊँ भनी उजुरी दिएकी छन् । पीडितका अनुसार निवेदन दिएपछि कारागार प्रशासनले परिवारलाई फोन गर्न पाउने सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको जनाएको छ । पीडित युवतीका श्रीमान् विदेश गएका बेला पीडक मैनालीले घरैमा आएर राति सुतिरहेका बेला जबरजस्ती करणी गरेको र हल्ला गरे बेइज्जत गर्दिन्छु भनेर डर देखाइदेखघ पछिसम्म पनि करणी गर्ने गरेका थिए । उनले यौन गतिविधिको ‘भिडियो खिचेको छु’ भनेर धम्क्याई जबरजस्ती गर्दै आएको पीडितले अदालतमा दिएको बयानमा उल्लेख छ ।

उनका अनुसार पछिल्लो पटक मैनालीले पीडितलाई भिडियो डिलिट गर्छु भनी बोलाएर २०७८ कात्तिक १५ मा बागबजारको एक होटलमा लगेर जबरजस्ती करणी गरेका थिए । घटनालगत्तै पीडित युवतीले प्रहरीलाई खबर गरेपछि मैनालीविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । पुर्पक्षका लागि काठमाडौं जिल्ला अदालतले मैनालीलाई थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले धरौटीमा छाडेको थियो । गत जेठ २६ मा सर्वोच्चले उच्चको आदेश बदर गरेको थियो । पछि जिल्ला अदालतले गत असोज २२ मा दोषी ठहर गरेपछि भने पीडक कारागारमा छन् । धरौटीमा छुटेपछि पनि पीडकले ज्यान मार्ने धम्की दिएपछि आफू लामो समयसम्म लुकीलुकी हिँड्नुपरेको पीडित युवतीले बताइन् ।

‘घटनापछि म घरबाट निकालिएँ, माइतमा बस्न सक्ने अवस्था रहेन,’ पीडित युवतीले कान्तिपुरसँग भनिन्, ‘पीडकबाट त अन्यायमा परेँ परेँ, घरकाले पनि मलाई निकालेर छोराछोरीलाई भेट्ने अधिकारबाट बञ्चित गरेका छन्, मलाई सबैतिरबाट अन्याय भइरहेका बेला जेलबाट छोराछोरीसहित मलाई अपहरण गरी मार्ने धम्की आएपछि एकदमै डर लागिरहेको छ ।’

प्रकाशित : चैत्र १५, २०८० १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?