कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले अर्पण गर्दै आएको ७५ हजार राशिको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ लेखक गीता रेग्मीलाई दिइएकाे छ । काठमाडौँमा बुधबार आयोजित एक विशेष समारोहबीच ‘प्रशान्तको तीरैतीर’ नियात्रासंग्रहका लागि प्रतिष्ठानले रेग्मीलाई पुरस्कार दिइएकाे हो । रेग्मीको ‘प्रशान्तको तीरैतीर’ २०७८ सालमा प्रकाशन भएको थियो ।

रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्यले नियात्रा लेखनमा निरन्तर क्रियाशील रहेकाले गीता रेग्मीलाई यो पुरस्कार अर्पण गरिएको जनाइन् । ‘कुनै पनि विधामा निरन्तर क्रियाशील रहने स्रष्टा एवम् लेखकलाई यो पुरस्कार दिने गरिएको छ,’ उनले भनिन् ।

पछिल्लो समय नियात्रा विधामा पनि धेरै पुस्तक आइरहे पनि तुलनात्मक रुपमा नाटक विधाका लेखक नै कम भएको उनले बताइन् । त्यसमा पनि नारी लेखक अत्यन्तै कम भएको आचार्यको भनाइ छ ।

कुनै पनि लेखकले निरन्तर एउटै विधामा कलम चलाइरहनु ठूलो उपलब्धि रहेको र त्यसमाथि उत्कृष्ट लेख्नु झनै महत्त्वपूर्ण रहेको प्रतिष्ठानका कोषाध्यक्ष एवम् लेखक गोपी सापकोटाले बताए ।

‘एकातिर हामीले एउटै विधामा लामो समयसम्म समर्पित भएर लेखिरहेको व्यक्तिलाई पुरस्कार अर्पण गरेका हौं,’ उनले भने, ‘अर्काेतिर गीताजीको नियात्राकृति ‘प्रशान्तको तीरैतीर’ अब्बल छ । रेग्मीलाई पुरस्कृत गर्न पाएकामा संस्था नै गौरवान्वित भएको मैले महसुस गरेको छु ।’

कार्यक्रममा समीक्षक हेम भण्डारीले नियात्रा मात्र नभएर कविता, कथा र उपन्यास लेखनमा पनि गीता रेग्मी सक्रिय रहेको जनाए । नियात्राकृति ‘प्रशान्तको तीरैतीर’ काठमाडौँबाट सुरु भएर काठमाडौँमै आएर टुंगिएको भए पनि अस्ट्रेलियाका विविध घटना र सन्दर्भ धेरै रहेको भण्डारीले बताए । पुस्तकमा विदेशलाई नेपालीले हेर्ने दृष्टि, विदेशमोह, बिदेसिने संस्कृति, डायस्पोरा चेतना आदि विषयलाई गहन रुपमा उठान गरिएको उनको भनाइ छ ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व गीता रेग्मीले यति महत्त्वपूर्ण पुरस्कारका लागि आफूलाई योग्य देखेकामा अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतलाई धन्यवाद व्यक्त गरिन् । पुरस्कारले आफूमा चुनौती थपिदिएको र त्यसको जिम्मेवारी आफूले वहन गर्न सकुँला, नसकुँला, त्यो चुनौती र दोधारपूर्ण रहेको उनको रेग्मीको भनाइ छ ।
प्रतिष्ठानले सन् २०१३ मा तत्कालीन सांसद शान्ता चौधरीलाई ‘कमलरीदेखि सभासद्सम्म’ कृतिका लागि यो पुरस्कार अर्पण गरेको थियो ।

सन् २०१५ मा ‘युवा पत्रकार’ का रूपमा समाजमा पुर्याएको योगदानका लागि नारायण अमृत र लेनिन बञ्जाडेलाई, सन् २०१६ मा ‘करोडौं कस्तूरी’ का लागि लेखक अमर न्यौपानेलाई र सन् २०१९ मा अंग्रेजी कृति ‘गोर्खा’का लागि कैलाश लिम्बूलाई यो पुरस्कार अर्पण गरिसकिएको छ । सन् २०२२ मा भने ‘प्रशान्तको तीरैतीर’का लागि गीता रेग्मीलाई अनेवा नक्षत्र पुरस्कार अर्पण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य र महासचिवका रुपमा जयालक्ष्मी राई छन् । प्रतिष्ठान सन् २०१२ मा बेलायतमा स्थापना भएको हो । यसले विभिन्न साहित्यिक कार्यक्रमका अतिरिक्त विभिन्न विधामा पुरस्कार र सम्मान अर्पण गर्दै आएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र १५, २०८० २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?