कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

स्वस्थ जीवनशैलीका लागि सन्देश फैलाउँदै पैदल यात्रा

प्रशान्त माली

काठमाडौँ — स्वस्थ जीवनशैलीको सन्देश फैलाउन पृथ्वीको परिधि बराबर ४० हजार किमि पैदल हिँड्ने अभियानमा रहेका भारत गुजरातका ४३ वर्षीय योगेन शाहले नेपालको पैदल यात्रा गरेर फर्किएका छन् । भारतको उत्तरखण्डबाट पैदल सुरु गरेका उनी २०८० चैत २ गते गड्डाचौकी–महेन्द्रनगर आइपुगेका थिए ।

स्वस्थ जीवनशैलीका लागि सन्देश फैलाउँदै पैदल यात्रा

त्यहाँबाट उनले २२ दिनसम्म पैदल हिडेर कञ्चनपुर, कैलाली, चिसापानी, लुम्बिनी, चितवन र नागढुंगा हुँदै काठमाडौंसम्म पैदल यात्रा गरे । उनले चैत २४ गते काठमाडौं आइपुगेका थिए ।

२०७७ असार १ गते स्वास्थ्य र दिगो विकासबारे जनचेतना फैलाउन भारतको गुजरातबाट पैदल यात्रा सुरु गरेका उनले हालसम्म १९ हजार किमि यात्रा गरिसकेको दाबी गरेका छन् । उनले भारतको गोवा, तामिलडाडु, महाराष्ट्र, राजस्थान, हरियाना गरेर विभिन्न १० राज्य हुँदै दिल्लीसम्म पैदल यात्रा पूरा गरेको बताए । अभियानकोक्रममा उनको यो पहिलो विदेश भ्रमण हो ।

पेशाले उनी शिक्षक तथा लेखक हुन् । गुजरातको आइएमएस इन्स्टिच्युटमा अंग्रेजी पढाउँछन् । अभियान्ता शाहले भने, ‘युवायुवतीहरूमा ३० वर्षको उमेरसम्म आइपुग्दा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल देखा पर्न थालेका छन् । पछि यसैले कडा रोग निम्तिने गरेको छ । स्वस्थ रहन विद्यार्थीहरूलाई व्यायाम गर्न, जंक र फस्ट फुड नखान धेरै अनुरोध गर्दै हिडेको छु ।'

उनले व्यक्तिगत खर्चमा अभियानमा लागेको बताए । ‘कसैसँग एक रुपैयाँ चन्दा संकलन गर्दिनँ,’ उनले भने, ‘उत्तराखण्ड– काठमाडौं करिब ७ सय ५० किमि दूरीमा पर्छ । नेपालको वन्यजन्तु आरक्षण क्षेत्र, नारायणगढ सडक मर्मतलगायत कारणले गर्दा ५ सय किमि मात्र हिड्न पाएँ । लक्ष्य भने नेपालको पश्चिमदेखि पूर्वसम्म हिड्ने र त्यसपछि बंगाल हुँदै भुटान जाने थियो ।’

उनी अभियानको क्रममा १६ देखि ३० वर्ष उमेर समूहका युवाहरूमाझ पुग्छन् । आफैँ पनि शिक्षक भएकोले स्कूल र कलेजमा विद्यार्थी र शिक्षकलाई भेट्ने गरेका छन् । उनीहरुको समस्यालाई धैर्यपूर्वक सुन्छन् । तर उनीहरूलाई चिकित्सकीय सल्लाह दिँदैनन् । बरु जीवनशैलीमा सुधार गर्न नियमित व्यायाम गर्न र खानपानमा ध्यान दिन सल्लाह दिन्छन् ।


उनका अनुसार स्वास्थ्यमा समस्या देखा पर्नुको प्रमुख कारण अस्वस्थ आहार र नियमित व्यायाम नगर्नु हो । ‘मानिसले दैनिक व्यायाम, योग, प्रशस्त पानी पिउने, जंक फुड नखाने जस्ता सामान्य कुरामा बेवास्ता गर्नाले स्वास्थ्य समस्या निम्ति हो,’ उनले कान्तिपुरसँग भने, ‘अभियानले जीवनशैली परिवर्तन, व्यक्ति, समाज र वातावरणको दिगो विकास गर्न प्रेरित गर्छ भन्ने मलाई लागेको छ ।'

उनले अभियानकोक्रममा नेपालीले परम्परादेखि चल्दै आइरहेको संस्कृति सम्पदाको संरक्षण गरेको देखेर आफू दंग परेको र गर्व लागेको बताए । ‘नेपालीहरु इमानदार, मेहनती र सहयोगी भावना भएको पाएँ । नेपालको मौसम चिसो र हिड्नका लागि उपयुक्त पनि रहेछ,’ उनले भने, ‘चाँडै फेरि नेपालको भ्रमण गर्ने सोच बनाएको छु ।'

उनका अनुसार अभियान सम्पन्न गर्न अझै पाँच वर्ष यात्रा गर्नुपर्छ । यात्रा बंगलादेश, थाइल्यान्ड, माल्दिभ्सलगायत देशमा गर्ने पनि योजना रहेको उनले जनाए । यात्राकोक्रममा कहिले आश्रम, मन्दिर, पाटीपौवा, पेट्रोल पम्प त कहिले होटेल, सर्वसाधारणको घरमा बास बस्ने गरेको उनले बताए । उनको परिवारमा आमाबुवा, श्रीमती र ५ वर्षका छोरा छन् ।

प्रकाशित : वैशाख १३, २०८१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?