कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फास्टिङको स्वास्थ्यमा प्रभाव

सुदर्शन पौडेल

स्वस्थ्य, स्फूर्ति र आकर्षक शरीरको लागि पेट खाली राख्ने (फास्टिङ) प्रचलन नेपाली युवाहरु माझ निकै प्रचलनमा रहेको छ । आवधिक रुपमा (साप्ताहिक वा पाक्षिक) सोह्रदेखि छत्तिस घण्टासम्म पानी मात्र सेवन गरी पेट खाली राख्दा मोटोपन कम हुने, निद्रा लाग्ने, खानामा रुचि बढन गै शारीरिक र मानसिक रुपमा बढी फलदायी भएको अनुभव धेरैको पाइन्छ ।

फास्टिङको स्वास्थ्यमा प्रभाव

धेरै अध्ययनहरूले फास्टिङले मेटाबोलिक हेल्थ, शरीरको तौल नियन्त्रणका साथै शरीरको प्रतिरक्षात्मक प्रणालीमा सुधार भै दीर्घरोगहरू जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायत कतिपय क्यान्सरहरूको जोखिम कम हुने देखाएका थिए । तर हालै अमेरिकामा प्रकाशित एक अध्ययनको संक्षिप्त विवरणमा आठ घण्टा भन्दा बढी समय पेट खाली राख्नु जुनसुकै उमेर समूहका मानिसका लागि हानिकारक हुने नतिजा प्रकाशित हुनुलाई विश्वले निकै चासोको रुपमा हेरेको छ ।

उसो त फास्टिङलाई विभिन्न धर्म शास्त्रले पनि जोड दिएका छन् । हिन्दु धर्ममा विभिन्न यज्ञ यज्ञादी गर्दा, पूजा पाठ गर्दा होस या विशेष धार्मिक महत्वका दिन वा अवधिमा भोको बस्ने प्रचलन छ । त्यसमा पनि मुस्लिम सप्रदायमा महिना दिन सम्म दिनको समयमा (करिव १६ घण्टा सम्म) भोको बसी धार्मिक अनुष्ठान गर्ने प्रचलन छ । यस्तो प्रचलनलाई रमदान भन्ने गरिन्छ । हाल रमदान चलि रहेको हुँदा उक्त सप्रदायका मानिसहरू फास्टिङ गरि रहेको छन् ।

फास्टिङ परम्पराको प्रचलन विभिन्न खालका ब्रतका रुपमा परापूर्व देखि अभ्यासमा रहेका थिए । पछिल्लो चरणमा बढि प्रचारमा आएको सन २०१२मा बिबिसिका टेलिभिजन पत्रकार डा. माइकल मोस्लेले ‘इट फास्ट, लिभ लङगर’ सृखलामा कार्यक्रम संचालन गरे र त्यसैमा आधारित भएर ‘द फास्ट डाइट’ पुस्तक प्रकाशन पछिलाई मान्न सकिन्छ । उनको पुस्तक सार्बजनिक हुनु भन्दा पहिले पनि अर्का पत्रकार केट हेरिसनले त्यस्तै विषय वस्तु समेटेर ‘द ५ः२ डाइट’ पुस्तक प्रकाशनमा ल्याएकी थिइन् । यिनै प्रर्यासले पश्चिमा समाज लगायत सबै तिर फास्टिङको बारेमा धेरै चर्चा हुन थाल्यो । यो विधिलाई विश्वमा महामारीको रुपमा बढ्दै गएको मोटोपन उपचारको प्रभावकारी उपायको रुपमा समाचार र लेखहरू छापिए र यस्को अनुशरण गर्नेहरू बढ्दै गए ।

सन् २०१६मा डा. जासन फङले ‘दि ओबेसिटी कोड’ प्रकाशन गरे । यो पुस्तकले मोटोपनको नियन्त्रणका लागि सरल र व्यवहारिक परामर्शहरू दिएको थियो त्यसैले तात्कालिन समयको सर्बाधिक विक्रि हुने पुस्तक बन्न गयो । उक्त पुस्तकमा शरीरको संरचनाको आधारमा खानाको चयन र परिमाणलाई महत्त्व दिए । साथै मुख्य खानाको विचमा प्रर्याप्त समयको अन्तराल कायम गर्न सुझाए । त्यसैलाई पछिल्लो समयमा फास्टिङका बिभिन्न मोडेलहरू विकास गरियो । यस सम्बन्धमा निकै प्रचलनमा रहेका चार विधिहरू छन् ।

पहिलो विधि भनेको ५ः२ फास्टिङ हो जहाा हप्तामा दुई दिन अत्यान्त न्यून क्यालोरीको (महिलाले ५०० क्यालोरी र पुरुषले ६०० क्यालोरी भन्दा बढी नहुने गरी पानी वा अन्य झोलिलो पदार्थ) खाना खाने बाकीका पााच दिन नियमित खाना (महिलाले २००० क्यालोरी र पुरुषले २४०० क्यालोरी भन्दा बढी नहुने गरी) दुई खानाको बिचमा आठ घण्टाको फरकमा खाना खान सिफारिश गरिन्छ । अर्को विधि भनेको ६ः१ फास्टिङ हो, यसमा हप्तामा छ दिन नियमित खाना खाने एक दिन (२४ घण्टा) केही पनि नखाने गरिन्छ । यसै विधिलाई परिमार्जन गरी हप्तामा दुई दिन (४८ घण्टा) केही पनि नखाने विधि समेत प्रचलनमा रहेको छ । अर्को विधिलाई १६ः८ फास्टिङ भनिन्छ, यस अन्तर्गत हरेक दिन आठ घण्टाको अन्तरालमा नियमित खाना खाने तर दिनमा कुनै एक पटकको खाना छोड्ने (१६ घण्टाको फरक पार्ने) गरिन्छ ।

हाल प्रचलनमा रहेका फास्टिङमा के खाने भन्दा पनि कहिले र कसरी खाने भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । यस कारण यो विधिलाई (परम्परागत शैलीको) फास्टिङ भन्दा पनि खाना खाने तरिका फरक पारेको भन्नु बढी उपयुक्त हुन्छ । केही अध्ययनहरूका अनुसार निश्चित समय बिराएर गरिने फास्टिङ हाल पोषण विज्ञानमा प्रचलनमा रहेको कम क्यालोरीको खाना (तौल कम गर्ने उद्देश्यले) बराबर प्रभावकारी हुने गर्दछ । त्यसका अलावा कतिपय हाडजोर्नीको समस्या, सुन्निने, दम, मुटुरोग समस्याको उपचारमा समेत यस्तो विधि उपयोगी भएको पाइएको छ । तौल घटाउदा र शारिरीक रुपमा सकृय रहादा मोटोपनासंग सम्बन्धित रोगहरू जस्तै मधुमेह, श्वासप्रश्वास लगायत धेरै थरीका क्यान्सरहरूबाट बच्न मद्धत मिल्दछ ।

यसै कुरालाई जापानका वैज्ञानिक योशिनोरी आसुमीले प्रयोगशाला परिक्षणबाट प्रमाणित गरी विज्ञानमा छुट्टै मानक कायम समेत गरे । उनले लामो समयसम्म पेट खाली राख्दा शरीरले शुक्ष्मतन्तुमा संग्रह गरेको प्रोटिन र अन्य पोषणतत्व शक्तिमा बदल्ने प्रकृयाले कसरी फाइदा पुर्याउछ भन्ने अध्ययन गरेको थिए । यो प्रक्रियामा शरीरले सुक्ष्मतन्तुमा विकसित हुँदै गरेका विषाक्त तत्वहरू जुन पछि क्यान्सर, संक्रामक, दीर्घरोग लगायत प्रतिरक्षात्मक प्रणालीमा कमजोर पार्ने रोगका रुपमा परिणत हुन सक्थे । त्यसमा रहेको प्रोटिन वा अन्य पोषणतत्वलाई शक्तिको रुपमा प्रयोग गर्ने पत्ता लगाए । उनको यो अध्ययनलाई शरीर विज्ञान र चिकित्शा विज्ञानमा नविनतम उपलब्धि मान्दै सन २०१६मा चिकित्शाशास्त्रको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो ।

विश्वमा ठूलो जनसंख्या कतै खान नपाएको कारण लामो समय खान नपाएको अवस्था छ भने पछिल्लो समयमा उचित तरिकारले खान नजानेको कारण अस्वस्थ (मोटोपन वा अन्य पोषणसंग सम्बन्धि रोगको सिकार) भएको पाइन्छ । त्यस क्रममा कतिपय स्थानमा थोरै खानाको उपयोगबाट आधारभूत स्वास्थ्य कायम राख्ने पद्धतिहरू अभ्यासहरू विकसित गर्न थालियो । यसका साथै शरीर विज्ञान, चिकित्शा विज्ञानमा पनि शरीरको प्रतिरक्षा प्रणाली विकास गर्ने सम्बन्धमा नयाा तथा परम्परागत पद्धतिहरूको अध्ययन अनुसंधानको अध्याय शुरु भयो ।

फास्टिङ र डाइटिङलाई आम रुपमा एकै अर्थमा बुझिएको पनि हुन सक्दछ । तर तिनको विचमा केही अन्तर हुन्छ । फास्टिङ (सामान्यतया आठ घण्टा भन्दा बढी समय) केही पनि नखाने भन्ने अर्थ लाग्दछ भने डाइटिङले शरीरको अवस्थाको आधारमा तोकिएको मात्रा र परिकारका खाद्यान्नको सेवन गर्ने भन्ने अर्थ लाग्दछ । फास्टिङमा मानिसको शरीरले नियमित खाद्यान्नबाट प्राप्त हुने पोषणलाई शक्तिमा (गुल्कोज) परिणत गर्ने र शरीरलाई तुरुन्तै आवश्यक नपर्ने शक्तिलाई बोसोको रुपमा संचय गर्ने गर्दछ भने डाइटिङमा (विज्ञको सल्लाह बमोजिम) शरीरको अवस्थाको विश्लेषण गरी खाद्यान्नको छनोट र प्रयोग गरिन्छ ।

पूर्वीय दर्शनमा परापूर्वकाल देखि स्थापिय यस्तो पराम्परागत उपचार पद्धतिका बारेमा पश्चिमा समाजले पनि पत्याउने आधार पायो । त्यहााका युवा देखि सबै उमेर समूहका मानिसहरूले यस्तो उपचार पद्धति अनुसरण गर्न थाले । चिकित्शा विज्ञान लगायत अन्य शिक्षाका पाठ्यक्रममा यस्तो पद्धतिकाबारेमा उल्लेख हुन थाल्यो । त्यसको छोटो अवधिमा फास्टिङ र डाइटिङले निकै लोकप्रियता पायो ।

यो पद्धति थप प्रचार प्रसार हुँदै धेरै मानिस यस प्रति आकर्षित हुँदै गरेको अवस्थामा हालै अमेरिकामा प्रकाशित भएको अध्ययनले विश्वभरी तरंङ्ग पैदा गराएको छ । अमेरिकाको मुटु चिकित्शकहरूको सम्मेलन (तदनुसार मार्च १८ देखि २१, २०२४ सम्म सिकागोमा हाल चलिरहेको सम्मेलनमा) मा प्रस्तुत गरिएको एक अध्ययनको संक्षिप्त विवरणमा आठ घण्टा भन्दा बढी समय पेट खाली राख्नु जुनसुकै उमेर समूहका मानिसका लागि हानिकारक हुने उल्लेख छ । अमेरिकाका करिव विस हजार भन्दा बढी युवाहरूमा लामो समय सम्म (सन २००३ देखि २०१८ सम्मको आंकडा विश्लेषण गरी प्रकाशन गरिएको अध्ययनले फास्टिङ गर्ने ९१ प्रतिशत मानिसहरूमा मुटु रोगको जोखिम हुने (मृत्यु समेत हुन सक्ने) प्रारम्भिक नतिजा प्रकाशन भएको छ ।

यस अध्ययनलाई आधार मान्ने हो भने हाल दीर्घरोग, मुटु रोग, क्यान्सर भएका विरामीहरूको लागि फास्टिङ गर्नु निकै घातक हुन सक्ने तर्फ साबधान गरिएको छ । यो अध्ययनको विस्तृत विवरण आउन बाकी छ । उक्त विस्तृत अध्ययनले अरु धेरै कुरामा थप जानकारी पाइएला तै पनि प्रारम्भिक रुपमा जे जस्ता जानकारीहरू प्रकाशित भएका छन् ति आम मानिसलाई पत्यार गर्न नसकिने खालका छन् । यस्तो समाचारका सम्बन्धमा संचार माध्यम देखि सामाजिक सञ्जालमा निकै चासो व्यक्त गरेको पाइन्छ ।

अमेरिकाको जनसंख्यामा गरिएको र पहिलो अध्ययनको प्रारम्भिक नतिजाका आधारमा विधिपूर्वक गरिने फास्टिङलाई पनि नराम्रो भन्न मिल्दैन । हाल विश्वव्यापी रुपमा बढदोक्रममा रहेको मोटोपना कम गर्न सरल र किफायती विधिको रुपमा स्थापित हुँदै गरेको यो पद्धतिलाई अहिले नकार्न मिल्दैन । त्यसमा पनि हिन्दु मुस्लिम लगायतका विभिन्न धार्मिक समुदायमा यसको आफनै विशिष्ठ महत्व रहेको छ । अतः यसका सम्बन्धमा दक्षिण पूर्वी एशिया लगायत नेपालमा प्रर्याप्त अध्ययन अनुसंधानको थालनी गर्नु आवश्यक हुने छ । तव सम्म यस्ता नतिजाले आम मानिसको परम्परागत आस्थामा ठेस पुग्न सक्ने छ भने जनस्वास्थ्यका दृष्टिकोणले खानालाई औषधिको रुपमा प्रयोग गरौ ता कि औषधिलाई खानाको रुपमा प्रयोग गर्नु नपरोस भनी साबधान गराउदै सिकाउँदै आएको तथ्यलाई मानिसले अविश्वास गर्ने छन् ।

सुदर्शन पौडेल जनस्वास्थ्यकर्मी हुन् ।

प्रकाशित : चैत्र १५, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?