१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

सुनसान बन्दै होमस्टे

घरबास कार्यक्रम रहरमै सीमित, हल्ला, लहैलहै र अनुदानको लोभमा खुलेका म्याग्दीका प्रायः होमस्टे बन्द 
घनश्याम खड्का

म्याग्दी — बजेट कार्यान्वयन गर्ने निकायले चर्चा गरेजस्तो छैन, होमस्टे पर्यटनको कथा । जिल्लाका विभिन्न गाउँमा सञ्चालन गरिएको घरबास (होमस्टे) रहरमै सीमित भएका छन् । परम्परागत साँघुरा घरको सामान्य स्वरूप परिवर्तन गरी स्थानीयले पाहुना राख्ने कोठा, सुधारिएको ओछ्यान, अलग्गै भान्सालगायत पूर्वाधार थपेर सुरु गरेका होमस्टेमा पाहुना नआएपछि रहरमै सीमित भएका हुन् । 

सुनसान बन्दै होमस्टे

हल्ला, लहैलहै र अनुदानको लोभमा खुलेका म्याग्दीका प्रायः सबै होमस्टे बन्द छन् । केही होमस्टेमा आक्कलझुक्कल आन्तरिक पर्यटक पुगे पनि कुनै होमस्टेले एक जना पर्यटकलाई स्वागत गर्न नपाई भताभुंग बनेका छन् ।

गाउँ पर्यटनका हब भन्दै खोलिएका कागजी होमस्टेहरू पाहुनाको स्वागत गर्नै नपाई बन्द भएपछि ‘होमस्टे कार्यक्रम’ ले पर्यटन विकास गर्नेभन्दा अनुदान रकमले कार्यकर्ता पोस्ने माध्यम बनेको देखिएको छ । कोरोना महामारीपछि सुस्ताएको ग्रामीण पर्यटन अझै ब्युँतिन सकेको छैन । पर्यटन पदमार्ग क्षेत्रका बस्तीमा खुलेका होमस्टेहरूमा फाट्टफुट्ट पर्यटक पुगे पनि गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालयबाट प्रवर्द्धन गरिएका होमस्टेहरू अहिले गुमनाम छन् । घरायसी पाहुनालाई सुताउनेबाहेक यी होमस्टेमा बाह्य पर्यटक पुग्दै पुगेनन् ।

‘हिजो गाउँमा फिल्ड जाँदा चिनजानका व्यक्ति खोजेर बास माग्नुपर्थ्यो । होमस्टे बनाएपछि ती गाउँमा जाँदा आफन्त वा चिनजानका व्यक्ति खोज्नु पर्दैन, होमस्टेमा गएपछि बास पाइन्छ । तर सबै गाउँमा त्यस्तो छैन,’ गैरसरकारी संस्था मिलन म्याग्दीकी अध्यक्ष दिलमाया बिटालुले भनिन्, ‘धेरै होमस्टे अनुदान आउँदा केही दिन बोर्ड राख्ने तर मापदण्ड नपुर्‍याउने थियो, अहिले कति भट्टी भएका छन्, कति हराए ।’

म्याग्दीमा ०६६–६९ ताका महावीर पुनको अगुवाइमा खुलेको गलेश्वर–बाँसखर्क–नागी–महरे–खोप्रा पदमार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका ५ स्वाँता, ६ खिवाङ, ७ हिस्तान र ८ नागीमा एक्याप, मेडेप र आईएचसीको सहकार्यमा साविक गाविसहरूले एक–एक वटा होमस्टे सञ्चालन गरेका थिए । पश्चिम धवलागिरिमा गुड नेवर्सले राउन्ड धवलागिरि पदमार्गमा पर्ने नाउरा, बगरा क्षेत्रका होमस्टे सञ्चालनमा सहयोग गरेको थियो । विभिन्न संस्था र निकायको आर्थिक तथा प्राविधिक सहायतामा विभिन्न गाउँका स्थानीयले कम्तीमा ५० वटा होमस्टे चलाएका थिए । दाता फर्केसँगै ती होमस्टे गुमनाम छन् । सुरुमा फाट्टफुट्ट पर्यटक राख्ने गरे पनि त्यसबाट गुजारा चलाउन नसक्ने भएपछि बन्द भएका हुन् ।

सरकारले कार्यविधि बनाएर होमस्टे दर्ता थाले पनि यी होमस्टेले अनुदान हात पार्नेबाहेक कुनै पर्यटन गतिविधि गर्न पनि सकेका छैनन् । गाउँमा लाग्ने मेलाजात्रा र बिहेवारीमा आउने छिमेकी गाउँका पाहुना राख्नेबाहेक प्रायः होमस्टेमा बाह्य तथा आन्तरिक दुवै पर्यटक खासै पुगेका छैनन् । सरकारी तहबाट भने गण्डकी प्रदेश सरकार मातहत डिभिजन वन कार्यालयले आव ०७५/७६ मा बेनी नगरपालिकाबाहेक धवलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा २–२ वटाको दरले १० वटा होमस्टे सञ्चालन गर्न १ करोड ३४ लाख १३ हजार २ सय २२ रुपैयाँ खर्च गरेको थियो । यी होमस्टे अहिले कुनै पनि सञ्चालनमा छैनन् ।

यी होमस्टे सञ्चालनमा ल्याउन पालिकाहरूको ४ लाख ५० हजार तथा समुदायको ३४ लाख १ हजार खर्च भएको डिभिजन वन कार्यालयले जनाएको छ । आव ०७५/७६ यता जिल्लामा होमस्टेमा कुनै निकायबाट लगानी भएको छैन । ‘होमस्टे छन्, छैनन्, केही अत्तोपत्तो पाएको छैन । पर्यटकको फ्लो कम भएकाले पनि होला, पर्यटन क्षेत्रको चर्चा नै कम हुन थालेको छ,’ मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले भने, ‘पहिला–पहिला होमस्टेमा पनि लगानी भएको कुरा सुनेको हो, ती अब त्यतिकै हराए ।’ सामान्यतया होटल, रेस्टुराँसमेतका पर्याप्त पर्यटन पूर्वाधार नबनेका तर पर्यटकको आवत–जावत सुरु भएका नयाँ गन्तव्यमा ठूलो लगानीका पूर्वाधार नबन्दासम्म पर्यटकलाई खाना, खाजा र बास बस्ने सुविस्ताका लागि घरबास गराइन्छ । गाउँमा आएका पाहुनालाई स्थानीयका घरमा पारिवारिक वातावरणमा रैथाने स्वाद पस्कने गरिन्छ ।

ग्रामीण पर्यटनको स्वाद चखाउने उद्देश्य र लक्ष्य लिएका होमस्टेका गतिविधि पनि सुस्ताएका छन् । गाउँमा घुम्न आएका पाहुनालाई आफ्नो घरमा राखेर जस्तो पाक्छ त्यस्तै खुवाएर आतिथ्य दिने र सुत्ने, बस्ने व्यवस्था गर्ने र थोरै शुल्क लिने भन्ने होमस्टेको अवधारणा हो । होमस्टेले होटलमा जस्तो लाभ दिने होइन, बरु अतिरिक्त आम्दानीको स्रोत मात्र हो । हिजोआज होमस्टे रहर र फेसन बनेको छ । होमस्टेलाई होटलका रूपमा बुझ्ने गरिएको छ ।

‘साँघुरा घरको धन्सारमा तला थपेर पाहुना राख्ने सुविधायुक्त कोठा निकालेको थिएँ । सुरुमा फाट्टफुट्ट पर्यटक राखेको पनि हुँ । अचेल पर्यटक नै आउन छोडेकाले बेडबिस्तारा तन्नाले छोपेर राखेका छौं,’ हिस्तानका घरबास पर्यटन व्यवसायी टेकबहादुर पुनले भने, ‘पहिला आफ्नै परिवार सुत्ने समस्या थियो, न घरमा सबै जहानपरिवार एकै पटक न पर्यटक/पाहुनाको स्वागत भयो ।’ घरबास कार्यक्रम चलाएका गाउँमा आएका पर्यटकलाई घर–घरमा बाँडेर राख्ने गरिएको छ ।

प्रकाशित : चैत्र १६, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?