कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वित्तीय साक्षरताबिना वित्तीय समावेशीकरणको लक्ष्य प्राप्त हुँदैन : गभर्नर अधिकारी

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रभावकारी वित्तीय साक्षरताबिना वित्तीय समावेशीकरणको लक्ष्य प्राप्त गर्न कठिन हुने बताएका छन् । ‘ग्लोबल मनी विक २०२४’ शुभारम्भ कार्यक्रममा सोमबार गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि पनि वित्तीय साक्षरतालाई प्रभावकारी तुल्याउनुपर्ने बताएका हुन् ।

वित्तीय साक्षरताबिना वित्तीय समावेशीकरणको लक्ष्य प्राप्त हुँदैन : गभर्नर अधिकारी

‘राज्यका सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न सकिँदैन । वित्तीय साक्षरता त्यसको एउटा अभिन्न पक्ष हो,’ उनले भने, ‘ग्लोबल मनी विकको साताव्यापी अभियानलाई सफल तुल्याउनका लागि बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिन उनले विद्यार्थीहरूलाई आग्रह गरे । विद्यार्थीहरूलाई आफ्नो सुरक्षित वित्तीय भविष्यको निम्ति जागरुक रहन पनि उनले सुझाब दिए ।

यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बिमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रव्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिने सरोकारवालाहरुको दाबी छ ।

यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवर्द्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकको दाबी छ ।

सोमबारदेखि ग्लोबल मनी विक शुभारम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौं संस्करण हो ।

प्रकाशित : चैत्र ६, २०८० १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?