कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कस्ता विद्यालय राम्रा ?

तिलक गौतम

नागरिकलाई शिक्षित मात्रै होइन, सभ्य, सुसंस्कृत र मूल्यबोधी बनाउने स्थान विद्यालय नै हुन् । जैविक रूपमा जन्मिएको बच्चालाई सामाजिक र वैचारिक प्राणी बनाउने कार्य विद्यालयले नै गर्छन् । त्यसकारण विद्यालय शिक्षा सफल र प्रभावकारी हुन जरुरी छ ।

कस्ता विद्यालय राम्रा ?

विद्यालय राम्रा हुन केही आधारभूत मानक वा आयाम हुनैपर्छ । विद्यालय राम्रो बनाउने कुरा यसको स्थापनासँगै सुरुवात हुन्छ । नक्सांकनका आधारमा मात्रै विद्यालय स्थापना गर्ने पद्धतिलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्छ । तोकिएका मापदण्ड पूरा गरेर समुदायको माग र आवश्यकताका आधारमा विद्यालय खोल्नु बुद्धिमानी हुन्छ । सैद्धान्तिक रूपमा विद्यालय सेवा क्षेत्रको अवधारणा प्रस्ट हुनुपर्छ । राजनीतिक आड र पक्षधरताका आधारमा जथाभावी खोलिएका विद्यालयहरू राम्रा बन्न सक्दैनन् । विद्यालयमा पुरस्कार र दण्ड प्रणालीलाई कडाइका साथ लागू गरिनुपर्छ ।

राम्रो र प्रभावकारी नतिजाका लागि विद्यालयलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउन जरुरी छ । शिक्षकलाई सामान्य डायरी प्रयोग गर्न लगाउने र वर्षान्तमा त्यसको सुपरिवेक्षकद्वारा मूल्यांकन गरी पृष्ठपोषण उपलब्ध गराउने प्रणाली विकास गर्न सकिन्छ । शिक्षकलाई मेन्टरिङ कोचिङजस्ता प्राविधिक सहायता उपलब्ध गराउन पुराना र अनुभवी शिक्षकलाई उपयोग गर्न सकिन्छ । विद्यालयलाई राम्रो बनाउन विद्यार्थीको नतिजा सर्वोपरि हुन्छ । यसका लागि

पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धि र सक्षमता प्राप्तिको सुनिश्चितताका लागि योजनाबद्ध प्रयास जरुरी हुन्छ । विद्यार्थीका विभिन्न समूह एवं क्लब निर्माण गरी उपयोग गर्ने, योजनाबद्ध रूपमा विद्यार्थीका प्रतिभा पहिचानका लागि विभिन्न अतिरिक्त क्रियाकलापका कार्यक्रम जोड्ने, शैक्षिक भ्रमण गराउने, उत्कृष्ट प्रतिभाका रूपमा घोषणा र पुरस्कृत गर्नेलगायतका क्रियाकलाप गर्न सकिन्छ ।

विद्यालय राम्रो हुन स्थानीय पाठ्यक्रमको रचनात्मक कार्यान्वयन जरुरी हुन्छ । स्थानविशेषको पहिचान र विशिष्टतालाई विद्यार्थीसम्म जोड्ने माध्यमका रूपमा यसलाई लिइनुपर्छ । विद्यार्थीको उत्कृष्ट नतिजा सुनिश्चितताका लागि परीक्षा प्रणालीको सुदृढीकरण गरिनुपर्छ । विद्यालयले गर्ने सबै गतिविधिको लिखित रूपमा अभिलेखीकरण र तिनको सामयिक रूपमा सम्बन्धित निकायहरूमा प्रतिवेदन गर्ने प्रचलनलाई अनिवार्य गरिनुपर्छ ।

विद्यार्थी सहायता कोष हुनु राम्रा विद्यालयको अर्को परिचायक हो । कतिपय विद्यार्थी सामान्य खर्च धान्न नसक्ने, कापी, कलम, किताब किन्न नसक्ने वा मुस्किलले जीवनयापन गर्नुपर्ने हुन सक्छन् । तिनलाई आवश्यकताका आधारमा सहयोग गर्न सक्ने गरी लचिलो कोष खडा गर्नु महत्त्वपूर्ण हुन्छ । आर्थिक स्रोतको सही पहिचान र परिचालन एवम् त्यसको दिगोपनाका लागि विद्यालयले योजनाबद्ध रूपमा काम गर्नुपर्छ । राम्रा विद्यालय हेर्दा पनि सुन्दर देखिनुपर्छ । स्वच्छता र सरसफाइलाई विशेष ध्यान दिनु जरुरी हुन्छ । विद्यालय शान्ति क्षेत्रको अवधारणा पनि कडाइका साथ कार्यान्वयन गरिनुपर्छ । विद्यालय राम्रा हुन पाठ्यक्रमबाहिरका क्रियाकलापमा पनि उत्तिकै अब्बल हुन जरुरी छ । विद्यार्थी र शिक्षक दुवैमा नियमित पठनपाठनका अलावा अन्य सान्दर्भिक विषयको चेत र ज्ञान हुनुपर्छ । यसका लागि विद्यार्थीकेन्द्रित विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्छ । स्काउट, रेडक्रस, किशोरकिशोरीमैत्री सूचना केन्द्र, राष्ट्रिय सेवा दलजस्ता फोरमहरूको प्रभावकारी उपयोग गर्न सकिन्छ ।

विद्यालय विद्यार्थीका लागि सुरक्षित र विश्वासिलो हुन जरुरी छ । बालमैत्री विद्यालयको अवधारणालाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ । विद्यार्थीको मनोवैज्ञानिक सुरक्षा र संरक्षण विद्यालयका लागि महत्त्वको विषय हुनुपर्छ । विद्यार्थीलाई विभेद, शोषण, बुलिङजस्ता कुराबाट जोगाउन विद्यालयले सुझबुझका साथ काम गर्नुपर्छ । अभिभावकको योगदान पनि अपरिहार्य छ । विद्यालय सुधार योजनामै अभिभावकको भूमिका र सहयोगलाई प्रस्ट रूपमा उल्लेख गरी कार्यान्वयन गर्न सकिन्छ । विद्यार्थीका लागि दिवा खाजा, स्यानिटरी प्याड र पाठ्यपुस्तकको उपलब्धता हुनुपर्छ । सूचना अधिकारीको व्यवस्थापनबाट विद्यालय सुशासनको प्रवर्द्धन गर्न सकिन्छ ।

उद्यमशीलता र उत्थानशीलता विद्यालयका लागि आधुनिक मूलमन्त्रजस्तै हुनुपर्छ । विद्यार्थीमा श्रमको मूल्य स्थापित गर्न र न्यूनतम श्रम सीप सिकाउन विद्यालयमा पढ्दै कमाउँदैजस्ता व्यावहारिक कार्यलाई जोड्न सकिन्छ । विद्यालय मूल रूपमा पठनपाठनको थलो हो । प्रत्येक कक्षाकोठामा बुक कर्नर हुनुपर्छ । बाल सन्दर्भ सामग्री, इन्टरनेट र डिजिटल सामग्रीको व्यवस्थापन गर्न सके शिक्षण सिकाइलार्ई प्रभावकारी बनाउन सकिन्छ । पाठ्यक्रमले तोकेका सक्षमता हासिल गरी सिकाइ उपलब्धि सुनिश्चित गर्न जरुरी छ । सामाजिक सद्भाव, सहअस्तित्व, ऐक्यबद्धता, सम्मान, विश्वास र मानवीय सेवाजस्ता मूल्य प्रवर्द्धन गर्न राम्रा विद्यालयबाट मात्रै सम्भव छ ।

प्रकाशित : चैत्र १५, २०८० ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?