कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६२

लोभलाग्दो ल्वाङ गाउँ [तस्बिरहरु]

आश गुरुङ

लमजुङ — ढुंगाले छाएका पुराना मौलिक घरहरु । केहीलाई सिसा र सिमेन्ट कम तथा ढुंगा र काठ बढी प्रयोग गरी पुरानै शैलीमा बनाइएका छन् । आँगन र बाटामा ढुंगाकै छपनी । गुचुमुच्च परेका मनमोहक अनि लोभलाग्दा छन् । विदेशी र स्वदेशी पर्यटकहरु गाउँ प्रवेश गरिरहँदा फूलबुट्टे टिसर्टमाथि रातो स्वेटर, मजेत्रो, लुंगी साथै नौगेडी माला लगाएर एउटै पोशाकमा उभिँदै आमाहरु पर्यटकलाई अविर टीका र फूलका गुच्छाले स्वागत गर्छन् । पर्यटक र गाउँलेको मुहार हँसिलो देखिन्छ ।

घनाबस्ती, धुवाँधुलो, भीडभाड र होहल्लाको प्रदूषणबाट आक्रान्त सहरीया जीवनबाट केही समय टाढा रहन पोखरा पुग्नेका लागि एउटा गन्तव्य हो, ल्वाङ गाउँ । घुम्न र बास बस्न एकान्त वा डाँडाकाँडाका होटल चहार्नेका लागि पोखराको हरिचोकबाट हेम्जा हुँदै खानेपानी, भेडाबारी, खोलामुख भएर मर्दी तिरैतिर २० किलोमिटरको यात्रा गरेर ल्वाङ गाउँमा पुग्न सकिन्छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८, ल्वाङ गाउँ पछिल्लो समय आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्य बनेको छ । सहरमा गर्मी बढिरहँदा यहाँको शित्तलपनले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमश्रृंखलाको दृश्यावलोकन र १ हजार ७ सय रोपनी क्षेत्रफलमा फैलिएको चिसाबगान, चैतबैशाखमा फुल्ने लालीगुराँसले पर्यटकलाई मन्त्रमुघ्ध बनाउँछ ।

पूर्वी नेपालको इटहरीकी मिश्रामाया गुरुङले सहरको कोलाहलबाट नजिकैको गाउँ उक्लिँदा मनै फुरुङ्ग भएको बताइन् । ‘यहाँको स्वागतसत्कार, बोलीचाली, संस्कृति, परम्परा निकै मीठो लाग्यो’ उनले सुनाइन् । होमस्टे पुग्नेवित्तिकै भुटेको मकै, झिलिंगा, चिया र बोडी (राजमा) को रसले उनको भोकमात्रै मेटिएन, साँच्चिकै आनन्दमयी ठाउँमा आएको महसुस गरिन् । गोरखा घर भइ हाल धरान बस्दै आएका कवि चन्द्र गुरुङले गाउँघर र चियाबारी घुमेर सिर्जना फुराए । त्यही सिर्जना उनले गुरुङ साहित्यिक मञ्चको स्थापना दिवस (चैत २१) को अघिल्लो साँझ ल्वाङबासीलाई सुनाए । नेपाल प्रहरीका पूर्व आईजीपी हेमबहादुर गुरुङले मिठो मानेर प्रतिक्रिया दिए । ‘गाउँ सवैका लागि प्रिय बनेको छ । पर्यटकका लागि गन्तव्य बनेको छ । हामीले हाम्रो भाषा, संस्कार, संस्कृतिलाई जोगाइराख्नुपर्छ,' काठमाडौंबाट आफ्नो गाउँ ल्वाङ आएका उनले भने । 

देवराज गुरुङ र डम्मरकुमारी गुरुङदम्पत्ति बुढ्यौलीमा पनि होमस्टेमा व्यस्त छन् । ‘म बेलायत गएँ, सिंगापुर, हङकङ गएँ । जहाँ गएपनि मलाई गाउँ नै प्यारो लाग्यो । आफन्तहरु उतै छन् । म गाउँ आएर बसेको छु । गाउँकै माया लाग्छ’ डम्मरकुमारीले भनिन् । ल्वाङ गाउँ सामुदायिक होमस्टे अध्यक्ष मञ्जु गुरुङका अनुसार गाउँमा २६ घरमा होमस्टे छन् । ३ सय ५० जनाको क्षमता छ । गाउँका होमस्टेमा पर्यटक प्रायः टुट्दैनन् । असोज, कार्तिक र मंसिर साथै चैत र बैशाखमा बढी पर्यटक आउने समय हो । २०६७ सालमा गाउँका महिला मिलेर ७ घरबाट होमस्टे सुरु भएको ल्वाङ गाउँको होमस्टे अहिले गाउँलेका लागि आम्दानीको स्रोत बनेको छ । विदेश गएका, कतिपय पोखरा झरेका तथा लेखपढ गरेकासमेत गाउँ फर्केर होमस्टे सञ्चालनमा जुटेको होमस्टेका सचिव तीर्थबहादुर गुरुङ सुनाउँछन् । स्वागत खाजा, साँझ र भोलिपल्ट बिहानको खाना (एक छाक मासु) र बिहानको नास्ता समेत गरी प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँको प्याकेज छ । बिहान खान नखानेका लागि १ हजार रुपैयाँको प्याकेज छ । विदेशीका लागि २ छाक खानासहित १ हजार ६ सय र १ छाक खाना नखाएमा १ हजार ४ सय रुपैयाँको प्याकेज छ ।

स्थानीय सम्राट गुरुङका अनुसार पर्यटकलाई होमस्टेले स्थानीय चामलको भात, ढिँडो, रोटी, कुखुराको मासु, गाउँकै दाल, सागपात, तरकारी खुवाउँछन् । कतिपयले गाउँमै तरकारी र गोलभेंडा फलाएका छन् । वरपरका गाउँका स्थानीय तरकारी र गोलभेडा लिएर ल्वाङ गाउँमा विक्री गर्न आउँछन् । गाउँमा १ सय ६० घर छन् । केही दलित, मगर र क्षेत्री समुदाय ल्वाङ गाउँमा बस्छन् । गाउँमा सामाजिक कार्यका लागि मसिक्यु आमा समूह, ग्रीन हिल युवा क्लवलगायत छन् । ल्वाङ गाउँलाई गुरुङ भाषामा ‘ल्होंगो नास’ भनिन्छ । गाउँका समाजसेवी हितकाजी गुरुङको नेतृत्वमा ल्होंगो तमू सेवा समिति रहेको छ । यसले गाउँमा सामाजिक कार्यसंगै हरेक क्षेत्रबाट गाउँलाई जोड्ने काम गर्दै आएको छ । गुरुङ भाषा, कला र संस्कार संस्कृति जोगाउने कार्यमा पनि यो समिति लागिपरेको छ । वातावरण संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय पनि ल्वाङ गाउँमा छ ।

गाउँमा बराही आधारभूत विद्यालय छ । कक्षा-८ पास गरेपछि छिमेकी भेडाबारीस्थित बराह माविमा पढ्नुपर्ने बाध्यता छ । सहरबाट नजिकै भएकाले धेरैजसो पोखरा गएर पढेका छन् । गाउँमा स्वास्थ्य इकाई छ । चिया प्रशोधन केन्द्र पनि गाउँमै छ । चिया गाउँमै विक्री हुने र कतिपयले पोखरामा खरिद गर्नुका साथै पर्यटकले खरिद गरेर पनि लाने गरेको सञ्चालक हितकाजी गुरुङ बताउँछन् । उनका अनुसार चियाबारी घुम्दा थकान मेट्ने ठाउँहरु निर्माण गरिएका छन् । पर्यटकलाई आकर्षित गराउन भौतिक संरचनाहरु निर्माणाधीन अवस्थामा छन् । माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष रामबहादुर गुरुङका अनुसार ल्वाङ गाउँसम्म पुग्ने सडकको स्तरोन्नति भइरहेको छ । पोखराबाटै गाउँमुनीसम्म पिच बाटो भएकाले पर्यटक सजिलै ल्वाङ गाउँ आउन सक्छन् । गाउँसम्मै सडक कालोपत्रको तयारी भइरहेको उनले बताए । उनका अनुसार ल्वाङ गाउँसंगै नजिकका पर्यटकीय गाउँ घलेल पनि पुग्न सकिन्छ । नजिकै क्यानोइङ पनि सञ्चालनमा छ । गाउँले जनजीवन, अतिथि सत्कार, खानपिन, घुमफिर साथै कला संस्कृतिका आनन्द लिने अर्को ठाउँ ल्वाङसंगै घलेल पनि रहेको उनले सुनाए । ‘ल्वाङ घलेललाई हामी पर्यटकीय गन्तव्य बनाउन लागि परेका छौं’ उनले सुनाए ।


प्रकाशित : वैशाख १५, २०८१ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्