२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

पुराणबाट पाँच दिनमा दुई करोड

भीम घिमिरे

सिजुवा -मोरङ — क्याम्पसको पूर्वाधार निर्माणका लागि आयोजित श्रीमद्भागवत् महापुराणमा दाताहरूले १ करोड २ लाख नगद र एक करोड मूल्य बराबरको ४१ कट्ठा जग्गा दान गरेका छन् ।

विराटनगरबाट करिव ४० किलोमिटर पूर्वमा पर्ने मोरङको सिजुवा गाविस ९ मा सौंठा बहुमुखी क्याम्पसको भवन निर्माण सहयोगार्थ जारी साताव्यापी पुराणको पाँचौं दिन सोमबारसम्ममा यति परिमाणमा दान प्राप्त भएको हो पुराणवाचक दीनबन्धु पोखरेल हुन् । सोमबार आयोजक समिति कोषाध्यक्ष रहेका स्थानीय देउमान सुब्बा एक्लैले ५० लाख १ हजार नगद दान गरे । उनी भन्छन्, 'यो आफ्नै गाउँमा कलेज बनोस् भनेर गरेको दान हो । सबै मिल्यांै भने चाहे जस्तो कलेज अवस्य बन्छ ।'
पुराण आयोजक समिति सचिव लीलानाथ अधिकारीका अनुसार पाँच वर्षदेखि सञ्चालनमा ल्याइएको कलेजको आफ्नै जग्गा र भवन छैन । त्रिविको सम्बन्धनमा स्नातक तहमा व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको क्याम्पस गाउँलेकै बलमा सञ्चालनमा आएको हो । स्नातक 'बडो मुस्किलले यहाँको स्कुलको कोठामा कलेज चलाइएको छ,' उनले भने, 'अब यो पुराणपछि भने हाम्रो कलेजले आकार पाउने भयो ।'
क्याम्पस प्रमुख भरतमणि कार्कीका अनुसार पुराणपछि आफ्नै भवन बनाएर कृषिसम्बन्धी प्राविधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गाउँलेको इच्छा छ । 'आफ्नो पूर्वाधार बनाउन सबै गाउँले लागिपरेका छौं', उनले भने, 'हाम्रो टारगेट २ करोड सहयोग जुटाउने थियो, पुराणबाट त्योभन्दा बढी जुट्दै छ ।'  
स्थानीय जयप्रसाद नेउपाने र उनकी पत्नी गोमादेवीले कलेजलाई दिएको डेढ बिघा जग्गामा पुराण लगाइएको छ । यही जमिनमा कलेजले भवन बनाउने निर्णय गरेको प्रमुख कार्कीले बताए । कलेजका लागि जीवन पनेरू र उनका परिवारले मूल बाटोसँगै जोडिएको १३ कट्ठा जग्गा दिएका छन् । यसैगरी दाताहरूले गच्छेअनुसार एक/दुई र तीन कट्ठा जग्गा दिएका छन् । साताव्यापी पुराण वाचनका लागि पण्डित पोखरेल आफ्ना डेढ दर्जन सहयोगीसहित खटिएका छन् ।

प्रकाशित : पुस १७, २०६९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?