कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ जारी, आजै फैसला आउने
रौतहट — नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा अहिले जिल्ला अदालत रौतहटमा सुनुवाइ चलिरहेको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा सुनुवाइ भइरहेको हो ।
मुद्दामा प्रमाण बुझ्ने र दुवै पक्षका कानुन व्यवसायीहरुको बहससमेत भइसकेकाले बिहीबारको सुनुवाइपछि सो मुद्दामा अन्तिम फैसला आउन सक्ने अदालत स्रोतले जनाएको छ ।
भित्र सुनुवाइ चलिरहेका बेला अदालत परिसरमा भने अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ । पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।
थुनछेक बहसपछि ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसयता उनी नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
प्रकाशित : वैशाख १३, २०८१ १८:३४