कामनपा र मध्यपुर थिमि सेमिफाइनलमा, यमनको ह्याट्रिक
ललितपुर — काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा भइरहेको प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।
गोदावरी बहुउद्देश्यीय रंगशालामा मध्यपुरले कीर्तिपुर नगरपालिकालाई ५–४ गोल हरायो । मध्यपुरका दीपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले १–१ गोल गरे ।
खेलको चौथो र ५४ औं मिनेटमा गोल गरेका दीपक प्लेयर अफ द म्याच भए । उनले ५ हजार र ट्रफी पाए ।
प्रतियोगितामा व्यक्तिगत ४ पुर्याएका मध्यपुरका रोहनले खेलको ५८ औं मिनेटमा गोल गर्दा कप्तान यमनले ६० औं मिनेटमा गोल गरेका हुन् । ४१ औं मिनेटमा मध्यपुरका खेलाडीलाई बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा सुदर्शनले गोल गरेका थिए ।
कीर्तिपुरका लागि यमन महर्जनले ह्याट्रिक गरेका थिए । उनको यो दोस्रो ह्याट्रिक हो । उनले तारकेश्वरविरुद्ध ह्याट्रिक गरेका थिए । यमनले ४३, ६६ र ८२ औं मिनेटमा गोल गरे । कीर्तिपुरका लागि एक अर्को गोल सन्जोग महर्जनले ८१ औं मिनेटमा गरे ।
शनिबार अर्को क्वाटरफाइनलमा आयोजक गोदावरी नगरपालिका बी टिमलाई २–१ ले हराएर कामनपा सेमिफाइनलमा पुगेको हो ।
काठमाडौं महानगरबाट दुवै गोल राज पौडेलले गरे । उनले २० र ६५ औं मिनेटमा गोल गर्दै प्लेयर अफ द म्याचको ट्रफी जिते । गोदावरीबाट ९० औं मिनेटमा राजन मर्हजनले एक गोल फर्काएका थिए ।
सेमिफाइनल समिकरण पूरा भएको छ । वैशाख २५ मा काठमाडौं महानगर र मध्यपुर थिमिबीच पहिलो सेमिफाइनल तथा चन्द्रागिरि र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनल हुनेछ ।
प्रकाशित : वैशाख २२, २०८१ २१:५०