२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

महिला लिग छनोटमा कोशीको लगातार दोस्रो जित

अर्जुन सुवेदी

सुनसरी — राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार बिहान भएको पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ को जित निकालेको हो ।

महिला लिग छनोटमा कोशीको लगातार दोस्रो जित

कोशीलाई जित दिलाउन दुवै गोल समीक्षा मगरले गरिन् । उनी प्लेयर अफ द म्याच समेत भइन । सुदूरपश्चिमका लागि यशोदा चिरालले एक गोल फर्काइन् । खेलको नवौं मिनेटमा उदयपुर मैनामैनीकी समीक्षाको गोल मार्फत कोशीले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा समीक्षाले नै टोलीको अग्रता दोब्बर बनाएर जित निश्चित गरिन् । यशोदाले ४९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो जितका लागि पर्याप्त भएन । दुई साताअघि पनि चितवनको भरतपुरमा सुदुरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै कोशीले स्वर्ण पदक जितेको थियो ।

उक्त टिममा तीन खेलाडी परिवर्तन गर्दै कोशी टिम सुर्खेत पुगेको हो । लगातार दोस्रो जित निकालेको कोशीले दुई खेलमा ६ अंक जोडेको छ । पराजित सुदूरपश्चिमको दुई खेलबाट तीन अंक छ । पहिलो खेलमा कोशीले कर्णालीलाई ३–० तथा सुदूरपश्चिमले गण्डकीलाई ५–१ ले पराजित गरेका थिए ।

बिभागीय टिमबाहेक ७ प्रदेश टिमले सहभागिता जनाएको राष्ट्रिय लिग छनोटमा कोशी प्रदेशले अब बैशाख १४ मा लुम्बिनी, १६ गते मधेश र १९ गते बागमती प्रदेशसंग प्रतिष्पर्धा गर्ने टिम मेनेजर केशव कार्कीले जानकारी दिए । सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् ।

वैशाख २० गतेसम्म चल्ने छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्टिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : वैशाख १०, २०८१ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?