कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

ठोरी भन्सारबाट अस्थायी पैठारी अनुमति सुरु

चितवन — चितवनबाट नजिक रहेको पर्सा ठोरीको छोटी भन्सार कार्यालयबाट बुधबारदेखि अस्थायी पैठारी अनुमति दिन सुरु भएको छ । यस्तो अनुमति पाएका भारतीय नम्बर प्लेटका गाडी निश्चित राजस्व रकम तिरेपछि वर्षमा ३० दिनसम्म नेपालभर चल्न पाउने नियम छ ।

ठोरी भन्सारबाट अस्थायी पैठारी अनुमति सुरु

भरतपुर भ्रमण वर्षका लागि यो नाका हुँदै भारतीय पर्यटक आउने सम्भावनाका कारण ठोरी छोटी भन्सार कार्यालयले यस्तो अनुमति दिन सुरु गरेको हो । सेवा शुभारम्भका अवसरमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, माडी नगर प्रमुख ताराकाजी महतो, वाग्मती प्रदेशसभा सदस्य ठाकुर ढाकाल, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी र वीरगन्ज भन्सार कार्यालयका प्रमुखको टोली नै ठोरी पुगेको थियो ।

ठोरीमा ०२५ सालमै भन्सार स्थापना रहेको र पछिल्लो समय कर्मचारी बस्न छाडेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । ठोरी भन्सार र चितवनको नाता निकै पुरानो रहेको माडी नगरपालिका मेयर ताराकाजी कुमारी महतोले चर्चा गरिन् । राजस्व संकलनका साथै चितवन र पर्साको सम्बन्ध बलियो हुने उनको भनाइ छ । ‘चितवनका बासिन्दा नुनतेल लिन आउने पुरानो नाका नै ठोरी हो । चितवनका मात्रै नभएर गण्डकी क्षेत्रका पहाडीका बासिन्दाको व्यपारिक केन्द्र पनि ठोरी नै थियो । यो सम्बन्ध बीचमा टुट्यो । अब फेरि जोडिने भयो,’ मेयर महतोले भनिन् ।

घुम्न आउने भारतीयको सुविधाका लागि अस्थायी अनुमति दिन मात्रै नभएर भविष्यमा भन्सार कार्यालयको स्तरोन्नति गर्ने लक्ष्य राखेको भरतपुर महानगरकी मेयर दाहालले बताइन् । ‘ठोरी र चीनको केरुङ जोड्ने मार्ग बन्ने कुरा छ । त्यसैले यो भन्सार कार्यालय अहिलेकै अवस्थामा रहँदैन । यो त चीन, नेपाल र भारतबीच एउटा महत्त्वको भन्सार कार्यालय बन्ने सम्भावना बोकेको ठाउँ हो,’ मेयर दाहालले भनिन् । अहिले पनि यो नाका हुँदै दर्जनौं भारतीय गाडी ठोरी आउने गरेको पर्यटन व्यवसायी सुदीप थापाले बताए । जसको अस्थायी अनुमति वीरगन्ज भन्सार कार्यालयले जारी गर्छ ।

‘भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारणका बासिन्दालाई ठोरी नाका हुँदै नेपाल जान छिटो हुन्छ । अस्थायी अनुमतिपत्र यहीँबाट दिएका कारण ठोरीलगायत चितवनको माडी र भरतपुर तथा सौराहा गैंडाकोटसम्मको पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ,’ थापाले भने । ठोरीबाट चितवन सदरमुकाम भरतपुर ७५ किलोमिटर उत्तरमा छ । तर बाटो सबै ठाउँ सजिलो छैन । ठोरीबाट चितवन छिरेलगत्तै आउने चितवन निकुञ्जको अमुवा पोस्टदेखि माडी आउनुअघि बगइसम्मको १८ किमि जंगलको बाटो कच्ची र अप्ठ्यारो छ । माडी छिरेपछि बाटो सजिलो छ । तर माडीबाट उत्तर लागेपछि बनकट्टादेखि कसरासम्म चितवन निकुञ्जकै १० किलोमिटर जंगलको बाटो फेरि कच्ची छ । त्यसैले जंगल क्षेत्रको बाटो सुधार गर्न पनि पहल गरे घुम्न आउनेलाई निकै सहज हुने व्यवसायी बताउँछन् ।

अस्थायी पैठारी अनुमतिका लागि विभाग र वीरगन्ज भन्सार प्रशासनले अध्ययन गरेर सम्भावना देखेपछि सेवा सुरु गरेको भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले जनाए । ‘यात्रुले आफूसँग भएका यन्त्र चालित सवारी साधनलाई एक वर्षमा बढीमा ३० दिनसम्म नेपाल बस्न पाउने गरेर अनुमित दिने काम अब यहीँबाट हुन्छ । अन्य आयातमा घरायसी प्रयोजनका लागि १० हजार रुपैयाँ मूल्य बराबरका सामग्री मात्रै यहाँबाट भन्सार तिरेर ल्याउन पाइयो । त्योभन्दा बढीको मिल्दैन । मुख्य भन्सारमै जानुपर्छ,’ निरौलाले भने ।

प्रकाशित : वैशाख २२, २०८१ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?