कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघुवित्त कार्यक्रमले महिला लाभान्वित

गणेश चौधरी

टीकापुर — किसान बहुउद्देश्यीय सहकारी संस्थाको लघुवित्त कार्यक्रमले यहाँका विपन्न महिला लाभान्वित भएका छन् ।


घरदैलो बैंकिङ सेवा  गाउँ-गाउँ, टोल-टोलमा पुगेपछि न्यून आय भएका विपन्न दलित, जनजाती, सुकुम्बासी परिवारका महिलाहरूको बचत गर्ने बानी तथा सिर्जनशीलताको विकासका साथसाथै उनीहरूको नेतृत्व एवं व्यक्तित्व विकासमा समेत योगदान पुर्‍याएको छ ।
लघुवित्त कार्यक्रममा कैलालीका २५ वटा गाविस र १ वटा नगरपालिकामा ३ सय ४५ वटा केन्द्रमा ९ हजार महिला सदस्यहरू आबद्ध रहेका प्रबन्धक डम्बर शाहले बताए । न्यून पुँजी तर दृढ इच्छाशक्ति तथा श्रम र सीप भएका महिलालाई लघुवित्त कार्यक्रमले स्वावलम्बी बनाउने शाहले बताए ।  'कार्यक्रममा आबद्ध हुने समूह र केन्द्र गठन हुने क्रम दिन प्रतिदिन बढिरहेकोछ' उनले भने ।  उनले भने, 'महिलाको समूहलाई विश्वास गरेर आयआर्जनका लागि बिनाधितो ऋण दिने गरेका छौं ।'
बलिया गाविस ५ की लक्ष्मी रोकायाले लघुवित्त कार्यक्रमबाट लिएको १० हजार ऋणबाट सुरु गरेको किराना पसलबाट ४ कोठाको पक्की घर र होटल सञ्चालन गर्न सक्षम भएको बताइन् ।
लघुवित्त कार्यक्रममार्फत ऋण लिएर बौनियामा सिलाइकटाइ गर्दै आएकी शोभादेवी टमट्टाले ९ जनाको परिवारको पालनपोषणका साथै केटाकेटीको पढाइ खर्च त्यसैबाट चलेको बताइन् । उनले भनिन्, सीप थियो तर पुँजी थिएन । लघुवित्त कार्यक्रमबाट बिनाधितो पाएको १५ हजार ऋणबाट खोलिएको सिलाइ सेन्टर बाँच्ने आधार बनेको छ ।'
सहकारी संस्थाले विपन्न वर्गका महिलालाई लक्षित गरी पाँच वर्षअघि देखि लघुवित्त कार्यक्रम सुरु गरेको हो । आफ्नो जीविकोपार्जन गर्न चाहने महिलाका लागि लघुवित्त कार्यक्रमले बिनाधितो ऋण दिएर अभिभावकीय भूमिका निर्वाह गरेको प्रबन्धक शाहले बताए । उनले भने, 'हाम्रो समाजमा महिलाका नाममा जग्गाजमिन लगायतका जिन्सी सम्पत्ति नहुँदा उनीहरूलाई धितो राख्ने समस्या हुने र उनीहरूले चाहेर पनि व्यवसाय गर्न नसक्ने हुँदा उनीहरूका लागि यो कार्यक्रम सञ्चालन गरेका हौं ।'
'सबैका लागि एक, एकका लागि सबै' भन्ने सहकारीको मूल सिद्धान्त अनुरूप यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई यसै क्षेत्रमा लगानी गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको शाहले बताए ।

प्रकाशित : पुस १७, २०६९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?