१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

निजीबाट छोराछोरी सामुदायिकमा भर्ना गर्दै तुर्माखाँदका जनप्रतिनिधि

अछाम — अछामको तुर्माखाँद गाउँपालिकाका जनप्रतिनिधिले निजी विद्यालयमा पढिरहेका आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेका छन् ।

निजीबाट छोराछोरी सामुदायिकमा भर्ना गर्दै तुर्माखाँदका जनप्रतिनिधि

सदरमुकाम मंगलसेन र अन्य सहरमा पढिरहेका छोराछोरीलाई आफ्नै गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् ।

गत वर्षदेखि चालु शैक्षिकसत्रलाई सामुदायिक विद्यालय सुधारको वर्षको रुपमा लिनेगरी पूर्वतयारी अनुरुप पहिलो चरण आफैंबाट सुरुवात गरिएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताए ।

‘सुर्खेतमा निजी विद्यालयको रुपमा रहेको जनज्योति बोर्डिङ्ग स्कुलमा पढिरहेका छोराछोरीलाई तुर्माखाँदमा रहेका कालिकेश्वरी माविमा छोरालाई कक्षा ६ र छोरीलाई कक्षा १ मा भर्ना गरिसकेको छु’ उनले भने ,‘आफूले छोराछोरीलाई जिल्ला बाहिर निजी विद्यालयमा पढाउने र अरुलाई गाउँमा ल्याएर पढाउनुस् भन्न नैतिकताले पनि दिँदैन । सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कँदै जान थालेपछि सुधारका लागि योजना बनाएर नै लागिरहेका छौं ।’

उनकाअनुसार गाउँपालिकाभित्र रहेका सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरीलाई गाउँमै ल्याएर भर्ना गर्नका लागि २२ गतेसम्म समय दिइएको छ ।

सामुदायिक विद्यालयमा गुणस्तरको लागि राजनीतिमुक्त गर्ने, शिक्षकमाथि अनुगमन, विद्यार्थीलाई विद्यालय आउने वातावरण बनाउन लागिएको उनले बताए । ‘निजीबाट छुटाएर सामुदायिकमा भर्ना गर्ने र फेरि निजीमा लिएर पढाउने अन्तिम परिक्षा दिन सामुदायिक विद्यालयमा नै ल्याएर हाम्रो निर्णयलाई चुनौती दिनेहरुका लागि पनि हामी कडा बनेका छौं,’ अध्यक्ष बिसीले भने ,‘ १५ दिनसम्म जानकारी नदिएर विद्यार्थी अनुपस्थित भएको खण्डमा विद्यार्थी स्वतः आउट भएको मानिने छ । टाठाबाठाहरुले यता भर्ना गरेर निजीमा लैजाने र अन्तिममा परीक्षा दिन ल्याउने विषयलाई मध्यनजर गरेर यो निर्णय गरिएको हो ।’

सामुदायिक विद्यालयमा विद्यार्थीका संघसंगठन बनाउन नदिने , शिक्षक महासंघ बाहेक शिक्षकका अन्य दलगत संगठनलाई निष्क्रिय पार्न लागिरहेको उनले बताए । ‘नेकपा एमाले निकट विद्यार्थी संगठनको राजनीति गरेर नै गाउँपालिका अध्यक्ष भएको म नै यसरी लाग्दा आफ्नै पार्टीबाट पनि असहयोग हुने नै भयो । यसको सुरुवात पनि आफ्नै पार्टीमा आस्था राख्ने शिक्षकहरु अनुपस्थित भएको देखेर कारबाही अघि बढाइसकेको छु’ उनले भने ,‘ सामुदायिक विद्यालयको गुणस्तर राम्रो नहुनुको पहिलो कारण राजनीति हो । यसका लागि विद्यार्थी र शिक्षकका दलगत संगठनलाई तुर्माखाँदका विद्यालयमा अब प्रवेश हुन दिइनेछैन ।’

एक कक्षामा १५ जना विद्यार्थी हुनैपर्ने, नभएमा कक्षा घटाउने, विद्यार्थी नभएका विद्यालयलाई मर्ज गर्ने र बालविकास केन्द्रलाई प्रभावकारी बनाउने उनले बताए । ‘५ कक्षासम्म पढाइ हुने विद्यालयमा २५ जनाभन्दा कम विद्यार्थी पनि छन् । यस्ता विद्यालयमा पूर्वाधारमा लगानी, विद्यालयमै लगानी गर्नुभन्दा त्यहाँका विद्यार्थीलाई गाउँपालिकाको केन्द्रमा भएको विद्यालयमा पढाउने र ती विद्यार्थीको आवासको व्यवस्था, पढाउने व्यवस्था गरेर विद्यार्थीमाथि नै लगानी गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ,‘अहिले यी सबै कुराको तयारी गरिरहेका छौं । आगामी आर्थिक वर्षदेखि शिक्षामा आर्थिक लगानी पनि गर्छौं ।’

बैंक तथा वित्तीय संस्था र अभिभावकको सहकार्यमा गाउँपालिकाले सबै विद्यार्थीको अनिवार्य बचत गर्ने कार्यक्रम पनि तय भएको बिसीले बताए । ‘सामुदायिक विद्यालय सुधारको अर्को प्रयास प्रत्येक विद्यार्थीको बचत खाता खोल्नु पनि हो । यसका लागि बैंक तथा बित्तीय संस्थासँग छलफल गरिरहेका छौं’ उनले भने ।

उनका अनुसार डीजीटल शिक्षाका लागि शिक्षकहरुलाई ल्यापटप, मोबाइल मोटरसाइकल, जमिन जस्ता भौतिक सुविधा तलबबाट कट्टा हुने सम्झौता पालिका तथा व्यापारीको सहकार्यमा गर्ने गराउने , दलितमाथिको जातीय छुवाछुत अन्त्य गर्ने तथा उनीहरुका परम्परागत सीपहरुको खोजी, उद्यमीकरण तथा बजारीकरण गर्ने लगायतका १८ बुँदे प्रतिबद्धतामा तुर्माखाँद गाउँपालिकाका सरोकारवालाले हस्ताक्षर गरेका छन् ।

तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष विमला शाहीले पनि सदरमुकाम मंगलसेनमा निजी विद्यालयमा पढिरहेका तीन जना छोराछोरीलाई गाउँमा लिएर भर्ना गरेकी छन् ।

‘सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन खस्कँदै जान थालेपछि सुधारको पहल गर्नैपर्ने भयो । सदरमुकाममै जन्मे हुर्केका छोराछोरीले सुरुमा गाउँको विद्यालयमा पढ्नुपर्छ भन्दा मानेका थिएनन् । सम्झाइ बुझाइ गरेर गाउँमा ल्याएर भर्ना गरिसकेकी छु’ उनले भनिन् ,‘ तुर्माखाँदको कालिकेश्वरी माविमा जेठी छोरीलाई १० , छोरालाई ८ र कान्छो छोरा ४ कक्षामा भर्ना भएका छन् ।’

प्रकाशित : वैशाख १४, २०८१ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?