२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको शिरमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको प्यारीभारानी (वराही) ताल झारले ढाकेपछि स्थानीय बासिन्दा सफाइमा जुटेका छन ।

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ कार्यालयको २ लाख ५० हजार बजेटबाट स्थानीय ताल संरक्षण समितिले झार हटाउन थालेको हो । झन्डै दुई सय मिटर लामो र ७० मिटर चौडाइ भएको प्यारीभारानी तालमा हिँउदमा भने पानीको सतह केही घट्छ ।

‘प्यारीभारानी तालको मनमोहक सौन्दर्य नष्ट गर्नेगरी पूरै ताल नाम थाहा नभएको झारले ढाकियो र बर्सेनि झार झन्झन् बाक्लो बन्दै गएकोले ताल सरसफाइ तथा ताल वरपर ढुङ्गा विच्छ्याएर पदमार्ग निर्माण थालिएको हो,’ अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जाले भने, ‘स्थानीयले श्रमदानसमेत थपेर दैनिक ८ जना युवाहरूले ५ दिनदेखि ताल सरसफाइ गरिरहेका छन् । तालको झारलाई किनारामा ल्याउन र किनाराबाट पनि उठाएर बाहिर फाल्न अझै ५–७ दिन लाग्ने अनुमान गरेका छौं ।’

तालको झार हटाउन स्थानीय प्रविधिको डुङ्गा बनाइएको छ । काठका पातलो फ्लेकहरु जोडेर बनाएको प्लेटमाथी तेलका ब्यारेल (ड्रम)हरु बाँधेर बनाईएको स्थानीय डुङ्गामा बसेर स्थानीयले तालको झार झिक्दै बाहिर निकाल्ने गरेका छन ।

घना गुराँशे जंगलको बीचमा अवस्थित रमणीय प्यारीभारानी ताल भौगोलिक रूपमा घराम्दीमा पर्ने भए पनि प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी/पुनहिलबाट एक घण्टा उत्तरपश्चिम पैदलयात्रापछि पुग्न सकिन्छ ।

घोरेपानीदेिख प्यारीभरानी मोटरबाटोले जोडिएको छ । घोरेपानी–भारानी तालसम्म छुट्टै साइकल लेन पनि बनाइएको छ । अन्नपूर्ण गाउँपालिका–६ खिवाङ र चित्र बस्तीबाट पनि मोटरबाटो जोडिएको छ । महरे–खोप्रा पदमार्ग पनि सोही तालको किनारैबाट छिचोल्नु पर्छ । यस तालमा जनैपूर्णिमाका दिन ठूलो धार्मिक मेला लाग्छ ।

प्रकाशित : वैशाख १३, २०८१ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?