कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बोक्सीको आरोप लगाउने झाँक्रीसहित ३ जना पक्राउ

आश गुरुङ

लमजुङ — एकजना युवतीलाई बोक्सीको आरोप लगाएको जाहेरीको आधारमा लमजुङ प्रहरीले झाँक्रीसहित ३ जनालाई पक्राउ गरेको छ ।

बोक्सीको आरोप लगाउने झाँक्रीसहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बेंसीसहर नगरपालिका १० पाग्रेक्युका ५२ वर्षीय झाँक्री बामदेव भनिने गमबहादुर गुरुङ, ४८ वर्षीया कासीमाया गुरुङ र उनका बुहारी २४ वर्षीया अनिता गुरुङलाई पक्राउ गरिएको बताए । अनिता बिरामी भएको र गत चैत २९ गते साँझ गमबहादुरलाई झाँक्री बस्न लगाइएको थियो । झारफुकका क्रममा अनिता काँपेको र युवतीको नाम लिएपछि बोक्सी तिनै युवती रहेको आरोप लगाइएको थियो ।

बेंसीसहर बस्दै आएकी युवतीमाथि बोक्सीको आरोप लागेपछि उनी गाउँ पुगेको र गाउँ पुग्दा सासुबुहारी (कासीमाया र अनिता) मिलेर दुर्व्यवहार गरेको भन्दै ती युवतीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएकी थिइन् । जाहेरीको आधारमा झाँक्री र सासुबुहारीलाई सोमबार पक्राउ गरिएको थियो । त्यस दिन बिदा परेकाले बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताए । प्रहरीले झाँक्री बस्दा बोलेका प्रमाणसमेत संकलन भएपछि उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार आरोप पुष्टि भएमा ३ वर्षदेखि ७ वर्षसम्म कैद र ३० हजारदेखि ७५ हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : वैशाख ५, २०८१ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?