कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुणस्तरीय सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौँ — उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरमा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गरे ।

गुणस्तरीय सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन

दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै उनले चिकित्सकहरुलाई सोहीअनुरुप सेवामा जुट्न निर्देशन दिएका थिए । 'सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी स्वास्थ्यकर्मीको हो । मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्छ,' उनले भने, 'मधेश प्रदेशले छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्नेमा विश्वस्त छु । जनकपुर, राजविराज र वीरगन्जमा स्वास्थ्यका ठूला परियोजनाका लागि काम भैरहेकोे छ ।'

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसीसीमार्फत भैरहेको विकास निर्माणको चर्चा पनि उनले गरेका थिए । ए एस इन्डो प्यासिफिक कमान्ड र अमेरिकी राजदूतावासको सहयोगमा करिब ६ करोडको लागतमा निर्मित ७५ बेडको बर्थिङ सेन्टरको निर्माण भएको हो । उक्त सेन्टरको शिलान्याससमेत २०१८ नोभेम्बर १९ उपप्रधानमन्त्री यादवले नै गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, उर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी, संघीय स्वास्थ्य सचिव रोशन पोखरेल, अमेरिकी राजदूत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डितसहितको सहभागिता रहेको थियो ।

प्रकाशित : चैत्र १६, २०८० १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?