सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अघि बढाउने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अघि बढाउने औपचारिक निर्णय गरेको छ ।
बुधबार आलोकनगरस्थति केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सोडारीको नेतृत्वमा गठबन्धन दलहरुको समर्थनमा मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको हो ।
गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने भन्ने सहमति भएपनि गत आइतबार गठबन्धन दलहरु एमाले र माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन दिएर अघि बढाएपछि एकीकृत समाजवादीले कांग्रेसको साथ लागेर बैकल्पिक गठबन्धन बनाउने प्रयास थालेको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएका थिए ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहमति जुटाएर सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने बातावरणा बनाएका थिए । सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका ४ सासद छन् । सोडारीले एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ सांसदको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।
प्रकाशित : वैशाख ५, २०८१ १४:५९