१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपाली कला, साहित्यलाई विश्वबजारमा चिनाउन लन्डनमा ‘प्यालेट एण्ड प्रोज’

लन्डन — नेपाली कला साहित्यलाई केन्द्रविन्दुमा राखेर लन्डनमा तीन दिने ‘प्यालेट र प्रोज’ कार्यक्रम भएको छ । लन्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो । १६ अप्रिलदेखि सुरु भएको कार्यक्रम बिहीबार १८ अप्रिलमा सकिँदै छ । 

नेपाली कला, साहित्यलाई विश्वबजारमा चिनाउन लन्डनमा ‘प्यालेट एण्ड प्रोज’

कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरू प्रदर्शन र साहित्यकार संगीता स्वेच्छाको कथासंग्रह ‘रोजेज ओडिसी’ सार्वजनिक गरिएको थियो । पुस्तक बुकहिल इन्टरनेसनलले बजारमा ल्याएको हो ।

ग्रीनवीच रोयल बरोका डेपुटी मेयर काउन्सिलर जित रानाभाटलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा भएको उक्त उद्घाटन समारोहले लन्डनको जीवन्त क्यानभासमा नेपाली रचनात्मकतालाई प्रवर्द्धन गरेको थियो । उपमेयर रानाभाटले भने, 'नेपालको मनोरम परिदृश्य र नेपाली साहित्यलाई समेट्ने र प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथका सञ्चालन भएको कार्यक्रममा राखिएका मनमोहक कला र कृतिमा समावेश कथाहरुले नेपालको सम्झना स्मरण गराएको छ ।'

युनिभर्सल पिस फेडेरेसन युकेका निर्देशक मार्गारेट अलि तथा महासचिव रबिन मार्शले सांस्कृतिक आदानप्रदानको महत्त्वलाई जोड दिँदै नेपाली कला, साहित्य प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरुले नेपालको विविध परिदृश्य र वास्तुकलाका जिवन्तता दिएको थियो । अन्तर्राष्ट्रिय दर्शकहरूलाई आफ्ना कलाहरू प्रदर्शन गर्न पाउँदा निकै आनन्दित महसुस गरिरहको बताउने यी दुई कलाकारका चित्रहरू फोटोरियलिस्टिक चित्रणदेखि लिएर मनमोहक वन्यजन्तु चित्रहरूसम्म थिए ।

कार्यक्रममा युनिभर्सल पिस फेडेरेसन यूकेका महासचिव रोबिन मार्स, लेखक डा. रुपक श्रेष्ठ, प्यालेस्टिनी कवि शाहद महानवी, बेलायती लेखक डा. सायन ह्यारिस, अन्तर्राष्ट्रिय टीभी प्रसारक इयान पेल्हम टर्नर र संगीता स्वेच्छाले संयुक्तरुपमा कथासंग्रह 'रोजेज ओडीसी' सार्वजनिक गरेका थिए ।

साहित्यिक अभियन्ता तथा लेखक डा. रुपक श्रेष्ठले संगीता स्वेच्छाका कथाहरु तथा लेखनशैलीको प्रशंसा गर्दै 'रोजेज ओडीसी'ले विदेशी पाठकहरुमाझ नेपाली साहित्यलाई अगाडि लाने कुरामा दुईमत नभएको बताए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले रोजेज ओडीसीको विविध पक्षहरु लगायत यसको कथा, लेखन शैलीको प्रशंसा गरे । जसमा नेपाल र नेपाली डायस्पोरा दुवैमा जरा गाडिएको कथाहरू छन् । जयन्त शर्माले अंग्रेजीमा अनुवाद गरेको यस कृति २०१९ मा 'गुलाफसँगको प्रेम' शीर्षकमा नेपालीमा प्रकाशित भएको थियो ।

संगीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, 'कार्यक्रममा सम्मानित विविध वक्ताहरूले मेरो पुस्तकमा आफ्नो रोचक र उत्साहजनक दृष्टिकोण प्रस्तुत गर्नु मेरो लागि निकै हौसलाको कुरा हो ।'

नेपाली कला र साहित्यको उत्सवका रूपमा परिकल्पना गरिएको ‘प्यालेट एण्ड प्रोज’ कार्यक्रम उत्कृष्ट भन्दै नेपाल अध्ययन केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले यो स्वागतयोग्य रहेको बताए । ढकालले नेपालको जीवन्त सांस्कृतिक सम्पदालाई विश्वभरका दर्शकसामु देखाउने यस कला र साहित्यको फ्युजनका लागि कार्यक्रमको प्रशंसा गरे ।

प्रकाशित : वैशाख ६, २०८१ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?