Kantipur

Kantipur

मिति | २०७१ वैशाख ८, सोमबार     Login | Register
विविधा»

मधेसी मोर्चाका नेताको मपाईंवाद

पुस ४ -
प्रधानमन्त्री बाबुराम भट्टराईको गत मङ्सिर ७ को सम्बोधनमा अभिव्यक्त 'सहमतीय सरकार गठन'बारे थप प्रस्ट्याउँदै सञ्चारमन्त्री र सरकारका प्रवक्ता सत्तारुढ मधेसी मोर्चाको एक घटक मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सम्बोधनलगत्तै प्रेससमक्ष यसो भनेका थिए, 'वैशाखमा संविधानसभा निर्वाचन हुने सुनिश्चितता हाम्रो पहिलो प्राथमिकता हो, सरकार प्राथमिकताको विषय होइन । तर हामी -एमाओवादी र मधेसी मोर्चा) ले सरकार छाडिदिने र संविधानसभाको निर्वाचन पनि नहुने भयो भने २०१७ साल दोहोरिएला भन्ने हाम्रो चिन्ता हो । मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा लैजाने परिवर्तनकामी शक्ति हामी दुई -मात्र) हांै । निर्वाचन हुने सुनिश्चितता भए राष्ट्रिय सरकारबारे छलफल गर्न सकिने तर त्यस्तो सरकारको नेतृत्व 'परिवर्तनकामी' शक्तिले गर्दा राम्रो हुने हँुदा एमाओवादी र मोर्चाकै कुनै नेताको नेतृत्वमा सरकार बन्नु उचित हुन्छ ।' नेपाली कांग्रेस र नेकपा एमालेजस्ता प्रतिपक्षी दलहरूतिर संकेत गर्दै उनले यसो पनि भने, 'यथास्थितिवादी शक्तिभन्दा परिवर्तनकामी शक्तिको नेतृत्वमा सरकार गठन गरेर निर्वाचनमा जाँदा गणतन्त्र, संघीयता, समावेशीजस्ता उपलब्धि संस्थागत गर्न र मुलुकलाई अग्रगमनमा लैजान मद्दत पुग्छ ।'

-कान्तिपुर, मङ्सिर ८,२०६९) ।

माओवादीहरूले आफूलाई परिवर्तनकारी र आपmना विरोधीलाई यथास्थितिवादी भन्नु नौलो वा ठूलो कुरा भएन । किनकि अर्थहीन भए पनि कम्युनिष्टले त आखिर कम्युनिष्टकै भाषा बोल्ने भए । तर मधेसी मोर्चाका नेताले समेत माओवादीकै 'जर्गन' प्रयोग गर्न थालेका हँुदा अबचाहिं यो विषयमा व्यापक, बँुदागत र वस्तुनिष्ठ राष्ट्रि्रय बहसकै आवश्यकता देखिन्छ । उनीहरूको भनाइमा साँच्चैको दम छ कि दम्भमात्र ? उनीहरूलाई साँच्ची नै आफूहरू ठूलो परिवर्तनकारी शक्ति हौँँ भन्नेे भ्रम छ कि अरुलाई भ्रममा पार्ने उद्देश्यले मात्र उनीहरू यस्तो प्रोपोगन्डा गर्दैछन् ? अथवा अझ 'परिवर्तनकामी' शक्ति भएकाले राष्ट्रिय सरकारको नेतृत्व आफूहरूले नै गर्न पाउनुपर्ने भनिएको हुँदा परिवर्तनको नारा अनन्तकालसम्म सत्तामा टाँस्सिइरहनेेे रणनीति त होइन ? परिवर्तनको परिभाषा के ? छुट्टै मधेस राज्यको पैरवी गर्नुमात्र परिवर्तन कि सिङ्गो देश र अरु क्षेत्र एवं समुदायको आकांक्षाबारे संवेदनशील हुनु पनि ? सिङ्गो देश र मधेसका लागि वाञ्छनीय परिवर्तन कस्तो— क्षेत्रीय वा एकल जातीय पहिचानका आधारमा संघीय राज्य बनाउनुमात्र कि गाउँ तहसम्म अधिकार, जिम्मेवारी र स्रोतसाधनको प्रभावकारी विकेन्द्रीकरण गर्नु अनि गरिबी, पछौटेपन र कुसंस्कारले गाँजेको समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्नुसमेत ? यादवजीहरूले भन्दिएको भरमा होइन कि यी र यस्ता कुराको जवाफका आधारमा उनीहरूको दाबीको परीक्षण गरिनेछ ।

देशको आधा जनसंख्या बस्ने सिंगो तराई क्षेत्रीय एकात्मकताका आधारमा एउटा वा बढीमा दुइटा राज्य कायम हुनुपर्ने, राज्य पुनःसंरचना गर्दा त्यहाँको चाहिं जातीय, सांस्कृतिक, भाषिक र भौगोलिक बहुलता तथा विविधता प्रतिविम्बित हुनु नपर्ने, उता पहाड र उपत्यकामा चाहिं छानिएका केही जातिको जातीय, सांस्कृतिक, भाषिक पहिचानका नाममा थुप्रै नश्लीय राज्यहरू बन्नुपर्ने कुराको पैरवी नै यदि परिवर्तनकारी हुनुको पहिचान हो भने कांग्रेस, एमाले लगायतका प्रतिपक्षी यथास्थितिवादी नै हुन्, त्यसमा शंका छैन । यस्तोमा एमाओवादी र मधेसी मोर्चा त परिवर्तनकामी हुने नै भए । अतः यसको मूल्यांकन गर्ने जिम्मा इतिहासलाई छाडेर अबचाहिं सामाजिक, आर्थिक परिवर्तनतर्फ मधेसी मोर्चाको प्रतिबद्धताको समीक्षा गरांै ।  

छुवाछूत जस्ता दलित उत्पीडन, बालविवाह, बोक्सी र दाइजो प्रथाजस्ता खासगरी महिला उत्पीडन, जात विरादरीवाद अनि हरूवा-चरुवाजस्ता अनेकानेक रूपमा असंगठित क्षेत्रमा विद्यमान श्रमिक शोषणजस्ता विकृति सम्भवतः मुलुकको राष्ट्रिय औसतभन्दा बढी नै छ, मधेसी समाजमा । सामाजिक कुसंस्कार, रुढी, अन्धविश्वास र वर्गीय विषमताबाट परिवर्तनतर्फको गति त्यहाँ अत्यन्त सुस्त छ । महिलाहरू लैङ्गकि विभेद र पितृसत्तात्मक थिचोमिचोका सिकार छन्, जिमदारीजस्तो सामन्तवादको अवशेष व्यवहारमा अद्यापि कायम छ । तर एकाध बाहेक मधेसको प्राज्ञिक वा राजनीतिक नेतृत्व कसैले पनि यस्तो विषयमा जागरण ल्याउने हेतुले कलम चलाएका, बोलेका देखिँदैनन् । मधेसी समाजभित्र सुधारको आन्तरिकीकरण गर्नपट्ट िभन्दा 'पहाडे राज्यसत्ता'को आलोचना गर्नुमै उनीहरूले आपmनो ऊर्जा खर्च गर्ने गरेको देखिन्छ ।

शासनमा हालीमुहाली गर्ने सम्भ्रान्त वर्ग त झन् आपmनो अधिकार र रवाफ गुम्ला भन्ने डरले भित्र-भित्र सामाजिक, आर्थिक परिवर्तनको विरोधमै छ । भूमिसुधार उनीहरूको एजेन्डा कहिल्यै हँुदैन । मधेसी समुदाय भित्रकै गरिब, पिछडिएका, उत्पीडित र सिमान्तीकृत समुदायको उत्थान र सशक्तीकरण उनीहरूको एजेन्डा हँुदैन । प्रतिनिधित्वदेखि निर्णय प्रक्रियासम्मका सबै पक्षमा मधेसी दलहरूमा महिला र दलितहरूको स्थिति यथास्थितिवादी भनी उनीहरूले आरोपित गर्ने गरेका दलहरूको भन्दा दयनीय छ । पचासौँ जातजाति छन्, तर शासनमा यादव, कायस्थ, राजपुत र झा, मिश्रजस्ता सीमित र उपल्लो जातिका बाहुन समुदायकै मात्र बर्चस्व छ । यस्ता मुद्दामा उनीहरू यथास्थितिको पक्षपोषण गर्छन्, तर भन्ने बेलाचाहिं आफूले आफैलाई ठूलो परिवर्तनकारी भन्छन् ।

लमजुङका श्रीकान्त अधिकारीजस्ता कांग्र्रेसका नेतासमेत रहेका पहाडे बाहुनले त ००७ सालमै बाहुनले हलो जोत्न नहुने मान्यताविरुद्ध बगावत गरे र हलो जोते । 'यथास्थितिवादी' कांग्र्रेस, एमालेका नेता हिजोका बीपी कोइरालादेखि आजका वामदेव गौतमसम्मले मृत्युसंस्कार लम्बे र रुढीग्रस्त भयो भनेर त्यसमा सरलीकरण र समयानुकूल सुधार गर्ने काममा आफै उदाहरण बनेर प्रस्तुत भए, हँुुदैछन् । आफूलाई परिवर्तनकारी भन्ने मधेसका कतिजना राजनीतिज्ञले यस्तो सामाजिक परिवर्तनको अगुवाइ गरेका छन् ? आफूले आफैलाई परिवर्तनकारी भनेर घोषणा गर्नु सट्टा त परिवर्तनका ससाना कुरा आपmनै घरगाउँबाट सुरुआत गरेर समाजलाई बाटो देखाउँदा पत्यारिलो होला नि !

महन्थ ठाकुरजस्ता अत्यन्त थोरै नेताबाहेक मधेसी मोर्चाका नेताहरू कसैको पनि न आचरण गर्व गर्नलायक छ, नत कार्यसम्पादन । चाहे मन्त्री हुन्, चाहे सभासद, चाहे मोर्चामा सम्मिलित दलका नेता, अधिकांश कित भ्रष्टाचार लगायतका विभिन्न फौजदारी अपराधमा भmयालखान परेका छन्, कि सत्तास्वार्थका लागि बारम्बार आपmनै दल फुटाउनेमा कहलिएका छन्, कित पदीय मर्यादालाई नसुहाउने अनैतिक आचरणका एकपछि अर्को काण्डमा मुछिएका छन् । एजेन्डा परिवर्तनकारी हुनलाई त त्यो एजेन्डा बोक्ने शक्तिको पृष्ठभूमि पनि त गर्व गर्नलायक हुनुपर्‍यो नि ! स्व. गजेन्द्रनारायण सिंहले कुनै जमानामा 'गर्व से कहु हम मधेसी छि' भनेर मधेसी स्वाभिमानलाई वाणी दिँंदा उनको अभिव्यक्तिमा ओज थियो, किनकि उनले सिद्धान्तको राजनीति गरेका थिए । तर आज टिभीको पर्दामा आफूलाई परिवर्तनकारी शक्ति भनिरहँदा राजकिशोर यादवको मुहार मलिन र हीनताबोधले ग्रस्त छ । किनकि उनले सिद्धान्तको होइन, सत्ताको राजनीति गरेका छन् । अनि किन पनि आफू कुन परिस्थितिमा कसरी मन्त्री भएँ, आपmनो दल कसरी बन्यो र भर्खर आफू अध्यक्ष चुनिएको महाधिवेशन कसरी सम्पन्न भयोे भनेर फर्केर हेर्दा उनी आफैले गर्व गर्ने ठाउँ कहीं फेला पार्दैनन् ।

जहाँसम्म एमाओवादी परिवर्तनकारी शक्ति हो भन्ने यादवकोे कथन छ, एउटा कोणबाट हेर्दा त्यो सत्य हो । भलै त्यो परिवर्तनमध्ये थोरैमात्र कल्याणकारी र धेरै उपद्रवकारी किन नहोस्, त्यो परिवर्तनका लागि राष्ट्रले ठूलो मूल्य चुकाएको किन नहोस्, धेरै रगत बगाएको किन नहोस्, त्यसले राष्ट्रको जीवनको लामो अमूल्य समय बर्बाद तुल्याएको किन नहोस् । एमाओवादीले ल्याएको वा ल्याउन खोजेको परिवर्तन कति वाञ्छनीय थियो र कति विनाशकारी, कति महंँगो थियो र कति उपलब्धिपूर्ण, त्यो छुट्टै बहसको विषय हो । तर सही वा गलत, उनीहरू परिवर्तनकारी शक्तिचाहिं हुन्, त्यसमा विवाद छैन । मधेसी मोर्चाका हकमा त त्यो पनि भन्न मिल्दैन ।

अनि यादवसँंग अन्त्यमा एउटा नसोधी नहुने प्रश्न— परिवर्तनकारी शक्ति भएको नाताले आज एक हुने एमाओवादी र मधेसी मोर्चा हिजोका दिनचाहिं लहानदेखि गौरसम्म किन आफू-आफूमा मारकाट गर्दै हिँडेका त ? सत्ता राजनीतिमा पो 'एलायन्स'हरू बदलिने हुन्, सिद्धान्त वा परिवर्तनका एजेन्डाले एकताबद्ध भएकाहरूको साझेदारी त कहिल्यै टुट्नु नपर्ने हो । कि त्यसबखत जुन शक्तिले लड्नु भनेको थियो, उही शक्तिले मिल्नु भनेको हुनाले आज मिलेको अनि यो परिवर्तन र यथास्थितिका कुराजति सबै सार्वजनिक खपतका लागिमात्र हो ?

प्रकाशित मिति: २०६९ पुस ५ ०८:५९

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बन्द गद्र्यो रे ?!... ढोकामात्रै कि झ्याल पनि ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication