१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८१

‘कमब्याक’ गर्दै तुलसी घिमिरे

‘दर्पण छायाँ २’ फ्लप भएसँगै तुलसी घिमिरे सिनेमा क्षेत्रबाटै पलायन भए भन्ने बजार हल्ला पनि चल्यो । तर उनी भन्छन्, ‘हल्ला त अनेक आउँछन्, यो हल्लै हल्लाको देशमा । जानेको काम फिल्म मेकिङ नै हो । अन्त, हातपाउ चलुन्जेल त चुपचाप कसरी बस्नु हौ ।’

विराटनगर — नेपाली सिने जगत्मा कुनै समय एकछत्र राज गरेका थिए, तुलसी घिमिरेले । कला र प्रविधि दुवै विधामा उम्दा यी दिग्गज सिनेकर्मीबारे यतिबेला सबैले सोधखोज गर्न थालेका छन्, ‘खोइ तुलसी घिमिरे ? ‘गुमनाम छु बदनाम छैन,’ हालैको एकाबिहान झापामा भेटिएका उनले मुस्काउँदै बोले, ‘अब नयाँ कथा बोकेर चाँडै फर्किंदै छु ।’ 

‘कमब्याक’ गर्दै तुलसी घिमिरे

सन् १९८१ मा ‘बाँसुरी’ मार्फत नेपाली फिल्म क्षेत्रमा पाइला सारेका उनले कुसुमे रुमाल, चिनो, लाहुरे, दुई थोपा आँसु, मीतज्यू, दक्षिणा, देवता, बलिदान, दर्पण छायाजस्ता करिब दुई दर्जन अजम्बरी सिनेमा बनाउँदै दर्शकको मन जिते । तर, लोकप्रिय यी सर्जक पछिल्लो आधा दशक यता भने लगभग ‘बेपत्ता’ झै छन् । पछिल्लो सिर्जना ‘दर्पण छाया २’ ले आशातित सफलता नपाएपछि उनी बिरक्तिएका हुन् कि ! ‘म हराएको पनि छैन, बिरक्तिएको पनि छैन, यतै छु, दर्शकलाई नयाँ र भिन्न स्वाद पस्किने तरखरमा छु,’ उनी भन्छन् ।

सन् २००१ ताका रिलिज भएको ब्लकबास्टर सिनेमा ‘दर्पण छाया’ को सिक्वेलको रूपमा करिब १८ वर्षपछि तुलसीले ‘दर्पण छाया २’ बनाएका थिए । तर, उनका अघिल्ला सिनेमा जस्तो दर्शकको माया दर्पण छायाको सिक्वेलले पाएन । उनले विगतमा थुप्रै अभिनेता–अभिनेत्रीलाई जन्माएर स्थापित गरेका थिए । तर, ‘दर्पण छाया २’ का साहारा कार्की र श्रद्धा प्रसाईं अहिले कतै नामोनिसान छैन भन्दा हुन्छ ।

कतिपय अखबारले ‘झुर सिक्वेल’ भनेर समीक्षा गरिदिए । जसको प्रत्यक्ष असर ‘दर्पण छाया २’ मा पर्न गयो । फिल्मको प्रसंग आइहाल्यो एउटा पुरानो र तीतो घटना सुनाउँछु,’ तुलसीले ‘दर्पण छाया २’ रिलिजको अघिल्लो दिनको एउटा घटना सम्झिए । शुक्रबार फिल्म रिलिज हुँदै थियो । बिहीबार दिउँसो उनीमाथि केही सिने पत्रकारले ‘डिमान्ड’ गरे, केही रकम र कक्टेल डिनर । तर, तुलसी डिमान्ड पूरा गर्न असमर्थ थिए । किनकि भएजति लगानी फिल्ममा खर्च भइसकेको थियो । ‘फिल्म रिलिजको समयसम्म त निर्माताहरू टाट पल्टिसकेका हुन्छन्,’ तुलसीले भने, ‘यस्तो बेला डिमान्ट गरेपछि पूरा गर्न सकिएन । फिल्म झुर छ भनेर लेख्न उनीहरू धेरै मिहिनेत गरेर लागे ।’ त्यो घटनापछि तुलसी मिडियादेखि हरपल तर्सिरहने बताउँछन् । ‘धेरैपछि पहिलो पटक कुराकानी गर्दै छु,’ उनले फिस्स हाँस्दै दाबी गरे, ‘फिल्म राम्रो बनेको थियो, मिडियाको दुष्प्रचारको सिकार भयो ।’

‘दर्पण छाया २’ फ्लप भएसँगै तुलसी घिमिरे सिनेमा क्षेत्रबाटै पलायन भए कि ! भन्ने बजार हल्ला पनि आयो । तर, त्यो हल्ला हल्ला मात्रै थियो । ‘हल्ला त अनेक आउँछन्, यो हल्लै हल्लाको देशमा,’ लामो हाँसोसँगै विरोध जनाए उनले । ‘दर्पण छाया २’ को असफलतापछि ‘अब फिल्म नबनाउने हो कि !’ भन्ने तहसम्म पनि सोच्न बाध्य भए । तर, उनको मन मानेन । केही राम्रा फिल्म बनाएर मात्रै मर्छु भन्ने शक्ति उनमा जाग्यो । अन्ततः उनी वर्षयता पुनः नयाँ ऊर्जाका साथ कस्सिएका छन् । ‘जानेको काम फिल्म मेकिङ नै हो । अरू कामधन्दा जानिएन, सिकिएन, सिक्ने समय पनि भएन,’ दार्जिलिङे पारामा उनले बोले, ‘अन्त, हातपाउ चलुन्जेल त चुपचाप कसरी बस्नु हौ ।’

सन् १९९४ यता नेपालमै छन् निर्देशक घिमिरे । कहिले बम्बई त कहिले कालेबुङ ओहोरदोहोर गरिरहन्छन् । तीन दशकदेखि नेपाललाई कर्मथलो बनाएर फिल्ममार्फत योगदान गरेका उनको इच्छा नेपालको मानार्थ नागरिक बन्ने छ । भन्छन्, ‘कुनै अवार्ड नेपालकै नागरिकको हैसियतमा पाए हुन्थ्यो भन्ने लाग्छ ।’

बीचको यो ‘संक्रमण काल’ मा उनी चुपचापचाहिँ बसेनन् । काठमाडौं–मुम्बई–कालेवुङ गरिरहे । वैकल्पिक बजारको खोजी पनि गरे । जब वैकल्पिक बजारको सम्भावना देखे तब पुनः फिल्म निर्माणको तयारीमा जुटे । ‘पहिलाजस्तो फिल्म बोकेर अस्ट्रेलिया, जापान, हङकङ जाने फिल्म देखाइदेऊ न भनेर साथीभाइलाई गुहार्ने अवस्था अब रहेन,’ उनी थप्छन्, ‘इन्टरनेटको जमाना भएकाले इन्टरनेटबाटै फिल्म बेच्ने हो ।’

नयाँ पुस्ताले तपाईंका फिल्म पुरानो धारको भयो भनेर खासै मन पराएनन् नि भन्ने प्रश्न भुइँमा खस्न नपाउँदै तुलसी जंगिन्छन्, ‘पुरानो धार, नयाँ धारको कुरा छ । के भन्न खोजेको हो मैले पत्तो पाउनै सकेको छैन ।’ नयाँ पुस्ताका कलाकारहरू उनलाई अनुभवी लाग्छ । खासगरी रंगमञ्चका कलाकारको परिपक्व अभिनयले उनी हायलकायल हुने गरेका छन् ।

‘नेपाली फिल्ममा अलग्गै पहिचान, रङ र रस छ । नयाँ–पुरानो धार भन्ने भाष्यमा मलाई चाहिँ खासै विश्वास छैन,’ उनी भन्छन् । घिमिरे अब नयाँ र पुरानो धारा हैन कि ‘अनुभवी धार’ का साथ पुनः नेपाली रजतपटमा कमब्याक गर्दै छन् । उनी लगालग ३, ४ फिल्म गर्ने योजनाका साथ आइरहेका छन् । पहिलो प्राजेक्ट ‘पहाड’ हुनेछ । दिनदिनै रित्तिँदै मानवविहीन बन्दै गएको पहाडी भूगोलको कथा फिल्ममा देख्न पाइनेछ । ‘कलाकार छान्ने काम भइरहेको छ,’ उनले थपे, ‘त्यसपछि मात्रै फिल्म निर्माणको औपचारिक घोषणा हुनेछ ।’

यो फिल्मको कथा बुन्दा उनले नायकमा दयाहाङ राईलाई कल्पना गरेका थिए । तर, दयाहाङ यो वर्ष १२ वटा फिल्ममा अनुबन्धित छन् । जसकारण उनले समय दिन नसक्ने संकेत पाएपछि सौगात मल्ललाई नायक बनाउने सोच बनाएका छन् । उनी पनि १० वटा फिल्ममा अनुबन्धित पाएँ । प्रदीप खड्काको हाल पनि उही छ । समय निकाल्नै मुस्किल । अन्ततः उनले विपिन कार्कीलाई लगभग कन्फर्म गरिसके । मह जोडी पनि निश्चित भयो । अब नायिकाको खोजीमा छन् । नायिका चाहिँ नयाँलाई ब्रेक दिने मुडमा उनी छन् । तर, निर्माताहरूले जोखिम उठाउन चाहिरहेका छैनन् । भन्छन्, ‘फिल्म वितरकले त नयाँ कलाकारको नामै सुन्न नमान्ने रैछन् ।’

७३ वर्षअघि कालेवुङको विकट सिन्देवुङ गाउँमा जन्मिएका तुलसी कक्षा ७ मा पढ्दा ताकाको एउटा किस्सा रोचक छ । शिक्षक बीसी सेमिक (लेप्चा) ले कक्षाका सबै विद्यार्थीको रुचिबारे सोधेछन्, ‘तिमेरु किन पढेको ? के बन्छु भनेर पढेको ?’ कोही पनि विद्यार्थी नबोलेपछि शिक्षकले दुई दिनको समय दिएछन् आफ्नो रुचि भन्नका लागि । तुलसी स्कुलबाट घर पुगे तर दिमागमा खेलिरह्यो के भन्ने भनेर । खासमा निकै अन्योलमा थिए उनी ।

त्यही कुरा सोच्दै बारीमा मकै छर्दै रहेछन् । अचानक एउटा नेगेटिभ (फिल्म) को टुक्रा फेला पारेछन् । ‘हाम्रो बारीमा यो फिल्मको टुक्रा कसरी आयो म निकैबेर घोरिएँ,’ तुलसी नोस्टाल्जिक बने, ‘बडो जतनले फिल्मको टुक्रा घरमा लगेर राखेँ ।’ पर्सिपल्ट जब स्कुल लाग्यो । शिक्षकको जवाफको उत्तर धमाधम दिन थाले सहपाठीहरूले । धेरैले पुलिस–आर्मी बन्छु भने, थोरैले डाक्टर । पालो आएपछि तुलसीले जुरुक्क उठेर भनेछन्, ‘आई वान्ट टु जोइन फिल्म ।’

तुलसीको जवाफपछि सिंगो कक्षा नै हाँसोले गुन्जियो । उनी अवाक् बने । ‘अरुले हिँड्ने खोजेको बाटोमा दिशानिर्देश गर्न मलाई कुनै कठीन छैन तर, तिमीले रोजेको बाटो चाहीँ मलाई थाहा छैन,’ तुलसीको जवाफ सुनेपछि शिक्षकले भनेछन्, ‘यु ह्याब टु फाइन्ड योर वन वे ।’ उतिबेला फिल्मबारे प्रायः सबै बेखबर हुन्थे । तर, माला सिन्हा दार्जिलिङकै नेपालीभाषी हिरोइन हुन् रे भन्ने गाइगुइँ सुनेको सम्झना उनीसँग ताजै छ ।

सन् १९७० को दशकमा स्कुल सकेर उनी मजदुरी गर्न छिमेकी राज्य सिक्किम उक्लिए । ‘रोमियो एन्ड सिक्किम’ भन्ने फिल्म निर्माण टोली अचानक आयो । त्यो टोलीदेखि पछि उनमा फिल्मतिर छिर्ने हुटहुटी जाग्यो । कसोकसो उनी टोलीसँग जोडिए । त्यो समय राज कपुरको चर्चा अचाक्ली थियो । उम्दा अभिनेता राज जस्तै बन्ने मोहले उनी बिरानो सहर बम्बई (मुम्बई) भासिए ।

कालेबुङस्थित तुलसी घिमिरेको घर ।

तुलसीको बम्बईप्रतिको लगाव देखेपछि फिल्म निर्माण टोलीका एक जजना क्यामेरा पर्सन लालजी यादवले भनेछन् ‘एउटा प्रश्न गर्छु मनबाटै जवाफ दिनुपर्छ है ?’ तुलसीले ‘हुन्छ’ भनेर टाउको हल्लाएपछि यादवले थपेछन्, ‘तिमी फिल्म लाइनमा समर्पित हुन सक्छौ ?’ तुलसीले एक छिन सोचे, अनि छोटो जवाफ दिएछन्, ‘किन नसक्नु, सक्छु ।’ ‘त्यसो भए आऊ,’ यादवले भनेछन्, ‘सपना देखेर मात्र हुँदैन, बम्बई आऊ ।’

यादवले उनलाई अर्को अनौठो कुरा पनि भनेका थिए, गोजीमा ५ सयभन्दा धेरै पैसा बोकेर नआउनु भनी । तर, त्यो किन भनेका थिए तुलसीले अहिलेसम्म खुट्याउँदै सकेनन् । अन्ततः २२ वर्षे लक्का जवान तुलसी कालेवुङ पहाड छाडेर समुद्री सहर बम्बई जाने निश्चित भो । बम्बई हिँड्न लाग्दा उनलाई बुबाले भनेको एउटा कुरा अझै सम्झना छ, ‘सकिनस् भने, घरखेत छ फर्केर आउनु है, उतै बेपत्ता नहुनु ।’

उनी सन् १९७४ ताका बम्बई पुगे । ५ दशक अघिको फिल्मी नगरी अहिले जस्तो झकिझकाउ त कहाँ थियो र ! तर, पनि बम्बई आखिर बम्बई नै थियो । फिल्म नगरीमा अमिताभ, धर्मेन्द्र, जितेन्द्र, जया भादुरी, हेमा मालिनीजस्ता सयौं कलाकार स्थापित भइसकेका थिए । तर, तुलसीका लागि बम्बई सहज थिएन । सपना सजिलो थिएन । संघर्षका अग्ला पहाडहरू गजधम्म थिए । ‘बम्बई पुगेपछि केही रात त भोकभोकै बित्यो,’ तुलसीले संघर्षको त्यो कालखण्डतिर लगे, ‘रेलको पट्रीदेखि फुटपाथमा पनि रात बिताइयो ।’

फिल्म लाइनमै काम गर्ने ऊर्जा बटुलेर आएका उनले स्पट ब्वाई, लाइट ब्वाईको काम मात्र गरेनन्, डुप्लिकेट फाइटर भएर पनि जेनतेन ज्यान बचाए । ‘जे पायो त्यही काम गरेँ, किन कि बाँच्नका लागि थियो त्यो,’ तुलसी भावुक बन्छन्, ‘अहिले सम्झिँदा लाग्छ त्यो त समयले दिएको उपहार रहेछ । जसले मलाई जीवन जिउन सिकायो ।’ एउटा फिल्मको स्पट ब्वाईको पगार (पारिश्रमिक) बढीमा ५० रुपैयाँ थियो । त्यही पैसाले उनी डेरा भाडा तिर्थे । खान्थे । पछि त उनले लाइट चलाउन र मेकअप गर्न पनि सिक्दै गए ।

जीजी पाटिल नामक एक व्यक्तिसँगको भेटपछि भने उनको जीवनमा बदलाबको झिनो संकेत देखा पर्‍यो । पाटिल त्यतिबेलाका मसुर फिल्म एसिडर थिए । उनैसँग तुलसी एसिटिङ सिक्न थाले । त्यसबापत् पाटिलले उनलाई एक छाक भात ख्वाउँथे । ‘एडिटिङ रुममा पसेपछि थाहा भो, फिल्मका धेरै टेक्निकहरू,’ उनले फिल्मको रिललाई झैं आफ्नो समयलाई पछि लगे र सुनाए, ‘एडिटिङ सिकेर धेरै राम्रो काम गरेछु भन्ने भयो ।’ एक दिन पाटिल काम विशेषले पुणे गएछन् ।

भात ख्वाउने मान्छे नै हिँडेपछि उनी भोकै भएछन् । तीन दिनसम्म उनी भोकै भए । ‘दोस्रो दिनदेखि त पानी पनि मन पर्न छाड्यो,’ भोकलाई नजिकबाट बुझेका उनी थप्छन्, ‘मरिन्छ कि क्या हो जस्तो पनि भयो ।’ पाटिल चौथो दिन टुप्लुकिए । कार्यालय अघिल्तिरको एउटा पान पसलमा उभिएर तुलसीलाई उनले सोधेछन्, ‘खाना नही खाया है क्या ?’

तुलसीले भनेछन्, ‘हजुर गुरु, केही खाएको छैन ।’ कति दिन भयो केही नखाएको भन्ने प्रश्नमा तुलसीले सकिनसकी फेरि भने, ‘तीन–चार दिनदेखि भोकै छु ।’ यति सोधेपछि अब गुरुजीले पैसा देला र पेटभरि खाना खाउला भन्ने आशा भोकसँगै जागेको थियो । तर, उनी त १२० जर्दा पान च्यापेर ‘यसलाई त अझै दुई/चार दिन खाना नमिलोस भगवान्’ भन्दै पो हिँडेछन् । ‘गुरुलाई मन मनै गाली गरेँ । तर, त्यसको केही अर्थ थिएन् त्यो बेला,’ उनी सम्झिन्छन्, ‘पछि थाहा भो गुरुजीले त मेरै लागि तेसो गरेका छैन । भोकले संघर्षशील र मिहिनेती बनाउँछ भन्ने कुरा उनको रहेछ ।’

तुलसीको संघर्ष यात्रा कालेवुङको विकट पहाडदेखि सुरु भएर, वैभवशाली सहर बम्बई अनि काठमाडौंसम्मै जारी रह्यो । पहिलाजस्तो संघर्ष थियो अहिले पनि उस्तै संघर्ष गरिरहेको बताउँछन् तुलसी । फिल्म निर्माणको भोक उनमा अझै उस्तै छ । उनी अझैसम्म तृप्त भएकै छैनन् रे । ‘पूर्ण सन्तुष्टिपछि रिटायर्ड हुनुपर्छ,’ दारी मुसार्दै तुलसी भन्छन्, ‘म रिटायर्ड हुन चाहन्नँ ।’

गुरुजी पाटिलसँग उनी एडिटिङ सिक्दै थिए । फिल्म निर्देशक प्रकाश थापा अचानक आइपुगे । खासमा थापा ‘सिन्दुर’ फिल्मको गीत रेकर्डिङका लागि बम्बई आएका थिए । उनी बलिउड अभिनेता नै थिए । जब्बर भिलेन । ‘प्राण’ जस्ता भिलेनलाई टक्कर दिने क्षमता प्रकाश थापामा थियो । तर, अचानक उनी नेपालतिरै फर्किए । ‘प्रकाश दाइ र म गफ गर्दैथ्यौ गुरुजीले सोध्नुभयो कुन भाषामा कुरा गरेको भनेर,’ तुलसीले भने, ‘नेपाली भाषामा बात गरेको भनेपछि गुरुजी त छक्क परे, अनि भने, ‘नेपाली भाषा बोल्न आउँछ त ?’ तुलसीले भनेछन्, ‘म भारतीय हुँ तर हाम्रो भाषा नेपाली हो ।’

यति सुनेपछि पाटिलले फेरि सोधेछन्, ‘कति वटा फिल्म बन्छ नेपाली भाषामा ?’

तुलसीले भने, ‘६, ७ वटा ।’ ‘वर्षमा ?’, पाटिलले सोधे । ‘हैन, अहिलेसम्म,’ तुलसीले जवाफ दिए । पाटिलले एउटा जुक्ति दिए, ‘तेसो भए अब नेपाली फिल्मका लागि पायोनियर भएर काम गर्ने ठूलो अवसर छ ।’ उनले नेपाली भाषामा १० वटा सकारात्मक फिल्म बनाउनु भनेका थिए । केही समयपछि उनको निधन भयो । त्यसपछि तुलसीले गुरुजीको आज्ञा पालन गर्ने सुर कसे । उनलाई फिल्म त बनाउन मन थियो । तर, मुल समस्या थियो, अर्थ । ‘तँ आँट म पुर्‍याउँछु’ भनेझैं उनले आँट गरे ।

सन् १९८० को दशकमा संगीतकार रञ्जित गजमेर पनि बम्बईतिर संघर्षरत थिए । उनीचाहिँ दार्जिलिङबाट काठमाडौं हुँदै सोझै बम्बई पुगेका थिए । गजमेर बलिउडमा मादल भित्र्याउने संगीतकर्मीका रूपमा चिनिन्छन् । फिल्म र संगीतमा अलगअलग ढंगले संघर्षरत घिमिरे र गजमेरको भेटले सन् १९८१ मा म्युजिकल फिल्म ‘बाँसुरी’ जन्मियो ।

गुरुजीको सदिच्छा पूरा गर्न १० औं फिल्म ‘दक्षिणा’ को बिट मारेर तुलसी बम्बई फर्किने ताउरमाउरमा थिए । प्रकाश थापा, चेतन कार्की, जितेन्द्र महत अभिलाशीजस्ता दिग्गज फिल्म निर्देशकहरूले उनलाई सुझाएछन्, ‘अब तिम्रो समाज यही (नेपाल) हो । तिमीलाई माया गर्ने मान्छे यहीँ (नेपालमै) छन्, बम्बई नफर्क, यही बस ।’

सन् १९९४ देखि उनी नेपालमै छन् । कहिले बम्बई त कहिले कालेवुङ ओहोरदोहोर गरिरहन्छन् । तर, उनको सबथोक अब नेपालमै छ, मात्र उनी नेपालका नागरिक हैनन् । ‘बस भन्नेहरू सबै गए, म यतै बसिरहेको छु,’ तुलसी भावुक भए । सन् २०१६ मा उनले ‘गौतमबुद्ध’ नामक कार्टुन फिल्म बनाए । तर, त्यो फिल्म प्रदर्शन हुन सकेन । यदि त्यो फिल्म प्रदर्शन भएको भए आफूले अन्तर्राष्ट्रिय अवार्ड पाउन सक्ने सम्भावना रहेको उनको भनाइ छ । तर, विविध कारणले फिल्म प्रदर्शन भएन । तीन दशकभन्दा बढी समयदेखि नेपाललाई कर्मथलो बनाएर सिनेमामार्फत योगदान गरेका दर्शकका प्रिय तुलसीको अन्तिम इच्छा नेपालको मानार्थ नागरिक बन्ने छ । ‘कुनै अवार्ड पाउँदा नेपालकै नागरिकको हैसियतमा पाए हुन्थ्यो भन्ने लाग्छ,’ तुलसी भन्छन्, ‘मलाई नेपालको मानार्थ नागरिक बन्ने इच्छा छ । एक दिन त्यो पक्कै पूरा हुनेछ ।’

नेपाली सिनेमाको ठूलो बजार हो– भारतको पूर्वोत्तर राज्य । त्यहाँ करिब एक करोड नेपालीभाषीको बसोबास छ । त्यहाँ नेपाली सिनेमालाई पुर्‍याउन सक्दा लगानी खेर नजाने उनको दाबी छ । नेपाली फिल्मलाई राम्रो र हेर्न योग्य कसरी बनाउने ? भन्ने चिन्ताले तुलसी अहिले पनि वेचैन हुन्छन् । यस्तै उहापोहबीच उनी कहिले दगुर्दै मेची तरेर कालेबुङ उक्लिन्छन् । कहिले आकाशमा उडेर बम्बई पुग्छन् । अनि पुराना यादहरू ताजा गरेर फेरि काठमाडौं फर्किन्छन् । ‘मलाई काठमाडौंले नछाड्या हो कि मैले आफैंलाई थाहा छैन,’ तुलसी भन्छन्, ‘सायद मलाई नै काठमाडौंले छाड्न नचाहेको होला ।’

प्रकाशित : वैशाख ६, २०८१ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?