२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उपनिर्वाचनको सन्देश

पाठक पत्र

प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१(क) मा भर्खरै सम्पन्न उपनिर्वाचनको मतपरिणाम हेर्दा आगामी आम निर्वाचनमा पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेकै बीच मुख्य प्रतिस्पर्धा देखिन्छ । २०७४ र २०७९ को निर्वाचनमा विभिन्न दलहरूको गठबन्धनका कारण कुन दलको कति क्षमता छ भनेर यथार्थ मूल्यांकन गर्न सक्ने अवस्था थिएन ।

यस उपनिर्वाचनमा मुख्य दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले उनीहरूबीच स्वच्छ प्रतिस्पर्धा भएको छ । यसले केही क्षेत्रीय दल र नयाँ भनिएका दलहरूको राजनीतिक भविष्य सुखद हुने देखिँदैन ।

उपनिर्वाचनमा भाग लिएका अधिकांश उम्मेदवारको जमानत जफत हुन पुगेको छ । राजनीतिक धरातल नै नभएकाहरूले बोलेकै आधारमा कतिन्जेल राजनीति गर्न सक्दा रहेछन् भन्ने प्रमाण बनेको छ यो उपनिर्वाचन ।

एउटा निर्वाचन लडेर प्रतिनिधिसभाको केही सिट जित्न सफल भएकै भरमा त्यसैमार्फत सत्ता दुरुपयोग गरी आफूले आम नागरिकमाथि गरेको शोषणलाई लुकाएर आफूले आफैंलाई निर्दोष सावित गराउँदा परिणाम कस्तो आउँदो रहेछ भन्ने पनि यसै उपनिर्वाचनले देखाएको छ । सत्ताको बलमा हौसिएर अरूमाथि तथानाम गाली गलौजमा उत्रने दलहरू निर्वाचनमा आफ्नो जमानतसमेत जोगाउन नसक्ने अवस्थामा पुगे । अब उनीहरूले जनतालाई के आश्वासन देलान् ?

त्यस्ता दलहरूलाई क्यामरा समाएर टेलिभिजनमा बोलेको जस्तो सहज होइन रहेछ राजनीति भन्ने हेक्का भयो कि भएन ? राजनीतिमै नयाँ बनेर उदाएका दल हुन् या मूल पार्टीबाट अलग भएर बनेका नयाँ हुन् यी सबै दलले आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गरे आफ्नो अस्तित्व जोगाउन गाह्रो पर्नेछ ।

हुन त २०७९ मा सम्पन्न भएको निर्वाचनमा गठबन्धनबाटै निर्वाचनमा जाँदासमेत कुनै दलले राष्ट्रिय दलको मान्यता पाउन नसकेको उदाहरण छ । यो निर्वाचनको परिणामलाई ध्यानमा राखेर अब कांग्रेस र एमालेले आजैदेखि सहयात्रा सुरु गर्दा राम्रो हुन्छ । यी दुई दल मिल्दा अरू साना दलसँग सहकार्य गर्न जरुरी देखिँदैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

गत वर्षको निर्वाचनमा २० सिट जितेको रास्वपाले इलाम–२ मा भएको उपनिर्वाचनमा जमानत जोगाउन सकेन । रास्वपामा दम्भ धेरै बढेको थियो, जनताले सबक सिकाएका छन् । रास्वपाले यो मतपरिणामबाट केही सिक्छ कि फेरि त्यही रटान लगाउँछ, हेर्न बाँकी छ । इलाम–२ मा एमाले ५ हजारभन्दा बढी मतान्तरले विजयी भएको छ ।

बझाङमा भएको प्रदेशसभाको उपनिर्वाचनमा पनि एमालेले नै जित हात पारेको छ । उपनिर्वाचनको मतपरिणामले के देखायो भने देशमा प्रमुख राजनीतिक दल भनेकै एमाले र कांग्रेस मात्र हुन् । उपनिर्वाचनमा जनताको खासै उत्साह भने देखिएन । इलाममा ६० प्रतिशत र बझाङमा ५० प्रतिशत हाराहारी मत खस्यो । भोट हाल्न जनता किन तयार भएनन्, दलहरूले गम्भीर बनेर सोच्नुपर्छ ।

निर्वाचन प्रक्रियामा गएपछि हार–जित स्वाभाविक हो । गत वर्षको निर्वाचनामा रास्वपालाई जनताले किन रोजे भन्ने कुरा पार्टी नेतृत्वले बुझ्न सकेन । रास्वपा सभापति रवि लामिछाने आफैं सहकारीको रकम अपचलनमा फसेका छन् । उनले जति निर्दोष दाबी गरे पनि प्रमाणले उनलाई निर्दोष भनेको छैन । अरूलाई औंला ठड्याउनेले पहिला आफू ठीक हुनुपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

इलाम र बझाङको उपनिर्वाचनले कांग्रेसलाई गठबन्धन नगरी एक्लै चुनाव लडे हारिँदो रहेछ भन्ने सन्देश दिएको छ । एमालेलाई पनि माओवादीको साथ नरहेको भए इलाममा भारी पर्ने रहेछ भन्ने सन्देश दिएको छ । उता मिसन २०८४ मा एक्लै बहुमत ल्याएर सरकार बनाउँछु भनेर दाबी गर्ने रास्वपाको जमानत जफत गरेर इलामेली जनताले काम र कुरा फरक हुन्छन् भन्ने गतिलो पाठ पढाएका छन् ।

पहिचानवादीहरूलाई पनि तेस्रो स्थानमा राखेर जातीय राजनीति आम जनताले रुचाउँदैनन् भन्ने सन्देश दिएका छन् । उपनिर्वाचनमा सबैभन्दा ठूलो घाटा राजावादी पार्टी राप्रपालाई भएको छ । आन्दोलनको आँधीबेहरी ल्याएर नेपालमा राजतन्त्र पुनःस्थापना गराउँछु भन्ने राप्रपाले इलाम र बझाङमा १ प्रतिशत पनि मत पाएन । यो राप्रपाका लागि शर्मनाकको विषय हो । अब आन्दोलनमार्फत राजतन्त्र ल्याउँछौं भन्ने बालहठ राप्रपाले सधैंका लागि त्याग्नु नै श्रेयष्कर हुन्छ ।

इलाममा सुहाङ नेम्वाङप्रति सहानुभूति मत प्राप्त भयो तर बझाङमा कांग्रेसका उम्मेदवार जसको पिता पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन भएको थियो, उनले सहानुभूति मत पाएको देखिएन । बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी झिनो मतान्तरले विजयी भए । कांग्रेससँग माओवादी वा समाजवादीको गठबन्धन भएको भए एमाले पराजित हुने अवस्था त्यहाँ देखियो । यस संकेतले पनि २०८४ मा एमालेले बहुमत पाउन चाहन्छ भने निर्वाचनमा माओवादी वा समाजवादीसँग गठबन्धन गर्नैपर्ने देखियो । उता कांग्रेसले पनि आगामी दिनमा गठबन्धन नगरे पार्टी नराम्रोसँग हार्ने देखियो ।

हुन त दुवै ठाउँमा उम्मेदवार अर्कैलाई बनाउनुपर्ने भनी गगन थापा, शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवालाई भनेका थिए । तर देउवाले कसैको कुरा सुनेनन् । इलाममा डम्बर खड्काको साटो भेषराज आचार्यलाई टिकट दिनुपर्ने, होइन भने हारको जिम्मा सभापति देउवाले लिनुपर्ने चेतावनी पनि गगन–शेखरले दिएका थिए । दुवै हारको जिम्मा देउवाले लिनुपर्छ । देउवाको सोच विचार र नेतृत्व कांग्रेसलाई फापेको देखिएन ।

कांग्रेसलाई अगाडि बढाउने हो भने देउवाले सहज तरिकाले अब पार्टीको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्मालाई सुम्पनपर्छ । ७० वर्षपारिका नेताहरू बिस्तारै किनारा लाग्दै जानुपर्छ । इलाममा धरानका मेयर हर्क साम्पाङ राईले कुल मतको ८० प्रतिशत मत पहिचानवादीलाई जान्छ भनेका थिए । तर त्यस्तो भएन । रास्वपाले मार खानुमा सहकारी प्रकरण पनि एउटा कारक तत्त्व हो ।

यसर्थ रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नै कार्यकालमा जीबी राईलाई नेपाल झिकाएर सहकारी समस्या समाधान गर्नुपर्छ । अन्यथा यही सहकारी प्रकरणले रास्वपालाई मिसन–८४ अफाप हुने निश्चित छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख १९, २०८१ ०५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?