कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

सुपारी र पोस्तादानाको भएन लिलाम

गलत घोषणा गरी मालवस्तु भिरयाएका आयातकर्ता सम्पर्कविहीन
भूषण यादव

वीरगन्ज — आयातकर्ताले गलत घोषणा गरी भित्र्याएका पोस्तादाना र सुपारी वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पुनः मूल्यांकन गरी सिलबन्दी दरभाउपत्र आह्वान गर्दा पनि लिलाम बिक्री भएको छैन । तेस्रो मुलुकबाट गलत घोषणा गरी ल्याएको ३ लाख ४८ हजार ३ सय ४० किलो सुपारी र १ लाख ८६ हजार ६ सय किलो पोस्तादाना भन्सार कार्यालयले फेला पारेको हो । 

सुपारी र पोस्तादानाको भएन लिलाम

सुक्खा बन्दरगाह परिसरमा लामो समयदेखि जाँचपास नगराई थन्काइएका कन्टेनरहरूको भौतिक परीक्षण थाल्दा व्यापारीले मासको दाल घोषणा गरेका कन्टेनरभित्र सुपारी र पोस्तादाना बरामद भएको हो । १३ वटा कन्टेनरमा पोस्तादाना र १८ वटा कन्टेनरमा सुपारी फेला परेको थियो । पुनः मूल्यांकनमा पोस्तादानाको मूल्य प्रतिकिलो १ हजार ५ सय २१ रुपैयाँ ५२ पैसा र सुपारीको प्रतिकिलो ५ सय ९८ रुपैयाँ ५ पैसा न्यूनतम मूल्य कायम गरिएको थियो ।

यसअघि भन्सार कार्यालयले पोस्तादानाको प्रतिकिलो १ हजार ९ सय १ रुपैयाँ र सुपारीको ७ सय ९८ रुपैयाँ मूल्य राखेर सिलबन्दी दरभाउपत्र प्रकाशित गरेको थियो । तीन पटकसम्म सूचना प्रकाशित गर्दा पनि लिलाम बिक्री नभएपछि भन्सार कार्यालयले पुनः मूल्यांकन गरी गत चैत १३ मा १५ दिने सूचना प्रकाशित गरेको थियो । पुनः मूल्यांकनपश्चात्को पहिलो सूचनामा समेत सुपारी र पोस्तादाना लिलाम बिक्री नभएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले बताए ।

आयातकर्ता सम्पर्कविहीन

घोषणा गरेको भन्दा फरक वस्तु भित्र्याएको फेला परेपछि भन्सारले अनुसन्धानका लागि उपस्थित हुन गत माघको पहिलो साता नै ५ जना आयातकर्तालाई पत्र काटेको थियो । साता दिनभित्र उपस्थित हुन भनिएकामा ३ महिना पुग्न लाग्दासमेत आयातकर्ता भन्सार कार्यालयको सम्पर्कमा आएका छैनन् ।

सूचना अधिकारी शर्माले अनुसन्धान प्रक्रिया जारी रहेकाले आयातकर्ताको नाम बताउन नमिल्ने भन्दै आएका छन् । आयातकर्ताले तेस्रो मुलुकबाट मालवस्तु मगाउँदा बैंकमार्फत विदेशी मुद्रा बाहिर पठाएर आयात प्रक्रिया पूरा गरेका हुन्छन् ।

भन्सारले ती आयातकर्ताहरूका सम्बन्धमा राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बैंकले पठाएको २१ पाने पत्रमा ती फर्मले कारोबार नगरेको जनाएका छन् । ‘एउटा बैंकले हाम्रोबाट कारोबार भएको जनाए पनि केही समयपछि आयातकर्ताले कागजात फिर्ता लगेको पत्रमार्फत जानकारी गराएको छ,’ प्रमुख भन्सार अधिकृत मैनालीले भने, ‘आयातकर्ताको तीनपुस्ते विवरण निकाल्न कर कार्यालयमा समेत पत्राचार गरिएको छ ।’ कर कार्यालयबाट आएको विवरणका आधारमा भन्सारले ती आयातकर्ताहरूको स्थायी ठेगानामा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेर म्याद तामेल गरी सम्बन्धित व्यक्तिलाई सुक्खा बन्दरगाह भन्सार कार्यालय पठाउन पत्राचार गरिएको मैनालीले बताए ।

आयातकर्ताले भन्सारको ‘हरियो लेन’ दुरुपयोग गरी एउटा वस्तु घोषणा गरी प्रतिबन्धित मालवस्तु भित्र्याउने गरेका थिए । मुसुरोको दाल र कुखुराको दाना घोषणा गरिएको कन्टेनरमा सुपारी, मासको दालमा पोस्तादाना, हार्डवेयरका सामानमा स्कुटर, मदिरालगायतको सामान फेला परेको थियो । ४० फिटे कन्टेनरको आधा भागमा मासको दाल र आधा भागमा घोषणा नगरिएका वस्तु राखिएका थिए । ‘मासको दालको बोराभित्र सुपारीको बोरा राखेर सिलाएको फेला परेको थियो,’ अनुसन्धानमा संलग्न एक कर्मचारीले भने, ‘कन्टेनरको अगाडिपट्टि आधा भागसम्म घोषण गरेबमोजिम सामान राखिएको थियो, भित्रपट्टि आधा भागमा सुपारी र पोस्तादाना राखिएका थिए ।’ भन्सारमा प्रत्येक बोरा खोलेर जाँचपास गर्ने अवस्था नभएकाले व्यापारीले लुकाएर सामान भित्र्याउने गरेका थिए ।

प्रकाशित : वैशाख ५, २०८१ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?