२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रोल्वालिङका बन्द होटल खुले

हिमपात र चिसो बढेपछि स्थानीय होटल व्यवसायी रोल्वालिङ क्षेत्रका होटल ३ महिना बन्द गरेर बेंसी झर्छन् 

दोलखा — पर्यटकको चहलपहल सुरु भएसँगै रोल्वालिङ उपत्यकाका होटल खुलेका छन् । मंसिरबाट चिसो बढेपछि बन्द भएका होटल पर्यटकको चहलपहल हुन थालेपछि खुलेका हुन् । रोल्वालिङ पदमार्गमा स्वदेशी र विदशी पर्यटकको आगमन राम्रो छ । गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गतको रोल्वालिङ क्षेत्रमा रहेको च्छो–रोल्पा र नजिकै रहेको दूधकुण्ड पदायात्रा निस्कने सिजन सुरु भएको छ ।

रोल्वालिङका बन्द होटल खुले

हिमपात र चिसो बढेपछि स्थानीय होटल व्यवसायीले रोल्वालिङ क्षेत्रका होटल ३ महिना बन्द गरेर तलतिर झर्ने गरेका छन् ।

गौरीशंकर गाउँपालिका–९ बेदिङ र च्छो–रोल्पा हिमताल नजिकैको गाउँ नामा २२ होटल सञ्चालनमा छन् । बर्खाका बेला पदयात्रामा पर्यटकको संख्या न्यून हुने भएकाले असार–साउनमा कतिपय होटल बन्द हुने गरेका छन् । बेदिङमा भने केही होमस्टे पनि छन् । वर्षको ७ महिना उक्त क्षेत्रका होटल पूर्ण रूपमा सञ्चालनमा आउने गरेको होटल व्यवसायी दावाछिरिङ शेर्पाले बताए । ‘मंसिरबाट हिमपात र चिसो बढ्ने भएकाले नियम बनाएरै होटल बन्द गर्छौं,’ उनले भने, ‘चैत लागेपछि रोल्वालिङमा पर्यटकको आगमन सुरु हुने भएकाले सबै होटल खोल्ने नियम छ ।’

यस वर्ष ढिलो गरी हिमपात भएकाले च्छो–रोल्पा आसपास र रोल्वालिङ हिउँ पग्लन सुरु भएको छ ।’ विदेशी पर्यटकको रोजाइमा पर्ने रोल्वालिङ पदमार्ग पछिल्लो समय स्वदेशी पदयात्री पनि हिमाली क्षेत्र घुम्न आउन थालेका छन् । विगतमा निकै कम मात्रै स्वदेशी पदयात्री रोल्वालिङ क्षेत्र जाने गरेका थिए । गत असोज र कात्तिकमा मात्र १ हजार ४ सय स्वदेशी पदयात्री रोल्वालिङ क्षेत्र पुगेको तथ्यांक संरक्षण क्षेत्रमा छ । विदेशी पदयात्रीको मात्र तथ्यांक राख्ने गौरीशंकर संरक्षण क्षेत्रले पहिला पटक स्वदेशी पदमार्गीको तथ्यांक राखेको हो । यस अवधिमा रोल्वालिङ क्षेत्रमा एक हजारभन्दा बढी विदेशी पर्यटक पदयात्राका लागि पुगेका थिए । दक्षिण एसियाली मुलुकबाट पनि २७ जना र तेस्रो देशबाट एक हजार ५२ जना विदेशी पर्यटकले रोल्वालिङ क्षेत्र घुमेका थिए । प्रायः युवा पुस्ता रोल्वालिङ पदयात्रा गरेर पुग्ने अन्तिम गन्तव्य ४ हजार ५ सय ८० मिटर उचाइमा रहेको च्छो–रोल्पा हुने गरेको छ । पछिल्लो समय युवाहरू च्छो–रोल्पा हिमताल नजिकैको अर्को गन्तव्य दूधकुण्डसमेत पुग्ने गरेका छन् ।

चरिकोटदेखि बिगु गाउँपालिका–१ छ्योछ्योतसम्म सार्वजनिक यातायात सञ्चालनमा छ । त्यसपछि रोल्वालिङ पदमार्ग सुरु हुन्छ । पहिलो दिन हिँडेर सिमिगाउँ वा सुरमुचेमा बास बसेर भोलिपल्ट क्याल्चे, डोङनाङ, ठाङ्दिङमा हुँदै हिमाल आरोहण गर्नेहरूको गाउँको परिचय बनाएको ३ हजार ७ सय २१ मिटर उचाइमा रहेको बेदिङ पुगिन्छ । बेदिङमा पर्यटकलाई लक्षित गरेर साना–ठूला डेढ दर्जन होटल छन् । बेदिङपछि तेस्रो दिन च्छो–रोल्पा पुगेर घुमाघाम गरी पर्यटक ४ हजार १ सय मिटर उचाइमा रहेको ना गाउँमा बस्ने गरेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

सिजनको सुरुमै रोल्वालिङ पदमार्गमा विदेशी पर्यटकको उपस्थिति उत्साहप्रद भएको उनले जनाए । ‘रोल्वालिङ क्षेत्र घुम्ने पर्यटकको चहलपहल बाक्लिएको छ, केही विदेशी समूहमा गएका छन्,’ उनले भने, ‘सिजन सुरु भएकाले रोल्वालिङमा गएका वर्षभन्दा उत्साहजनक पर्यटक भित्रने अपेक्षा गरेका छौं ।’ रोल्वालिङ क्षेत्रमा स्वदेशी पर्यटक पनि जान थालेको दाहालको भनाइ छ । वैशाखबाट मुख्यगरी यो क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने उनी बताउँछन् ।

५ हजार ६ सय ३० मिटरको यलुङ री, ५ हजार ९ सय २५ मिटरको रम्दुङ, ६ हजार मिटर माथिको फर्छेमलगायतको हिमाल आरोहणका लागि विदेशी पुग्ने गरेका छन् । यस्तै ५ हजार ७ सय ५५ मिटर उचाइको टासिलाप्चा पास छिचोलेर विदेशी पर्यटक खुम्बु क्षेत्र हुँदै सगरमाथा पनि पदयात्रा गरेर जाने गरेका छन् । ‘यस वर्ष ढिलो गरी हिउँ परेकाले बाटो देखिएको छैन,’ उनले भने, ‘अब हिउँ पग्लिएपछि बनेका बाटा देखिन्छन्, त्यसपछि उक्त क्षेत्र पुग्ने पर्यटकको पनि चहलपहल सुरु हुन्छ ।’

प्रकाशित : चैत्र १७, २०८० ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?