सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर
काठमाडौँ — सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए ।
खान पश्चिमा देशका प्रमुख सहरमा मेयर निर्वाचित हुने पहिलो मुस्लिम नेता हुन् । २०१६ मे ९ मा पदभार ग्रहण गरेका खान २०२१ मा तीनवर्षे कार्यकालका लागि दोस्रो पटक निर्वाचित भएका थिए । उनले २०२४ मे २ सम्म मेयरको जिम्मेवारी सम्हाल्नेछन् ।
लन्डनको सार्वजनिक यातायातका क्षेत्रमा विभिन्न नीतिगत सुधार गरेका खान २०१८ मा टाइम म्यागेजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका थिए । मेयर निर्वाचित हुनुअघि खान २००५ देखि २०१६ सम्म बेलायती संसद्का सदस्य थिए । खान १९७० अक्टोबर ८ मा ब्रिटिस–पाकिस्तानी परिवारमा जन्मिएका थिए ।