राखेपबाट दशरथ रंगशालाको विवरण हस्तान्तरण
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीबाट माग गरिएको विवरणको आवश्यक कागजात अखिल नेपाल फुटबल संघ (एन्फा) लाई उपलब्ध गराएको छ ।
फिफा विश्वकप छनोट र एसियाली छनोटको खेल दशरथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्थाबारे एएफसीले प्रारम्भिक अनुगमनपछि माग गरेको विवरण राखेपले शुक्रबार एन्फालाई हस्तान्तरण गरेको हो । उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ ।
एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहित चार बुदे विवरण माग गरेको थियो ।
एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दी स्टेडियमका विषयमा जानकारी माग गरेको थियो । उक्त विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकामा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययनपछि तयार पारेको सम्पूर्ण विवरण दिइएको हो ।
बिहीबारमात्रै संसदीय व्यवस्था समितिमा दशरथ रंगशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त जनाएका थिए । त्यसको भोलिपल्ट नै राखेपले एन्फालाई विवरण दिएको छ ।
राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गरे ।
आगामी दिनदेखि अन्तर्राष्ट्रिय महासंघको पूर्वाधार मापदण्ड राखेपलाई समयमै उपलब्ध गराउन सदस्य–सचिव टंकलाल घिसिङले एन्फाको ध्यानाकर्षण गराएका छन् ।
फिफा विश्वकप र एसियाली छनोटअन्तर्गत नेपालले यूएईविरुद्ध जेठ २४ मा दशरथ रंगशालामा ‘होम म्याच’ खेल्दै छ ।