२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

एसियाड पदकधारी र क्रिकेटरको पुरस्कार निकासा

१९ औं एसियाडमा कराते र कबड्डीका पदक विजेता खेलाडी तथा प्रशिक्षकसहित क्रिकेटरले २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार पाउने 

काठमाडौँ — एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङसहित नेपाललाई विश्वकपमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीले सरकारबाट घोषित पुरस्कार रकम पाउने भएको छ । लामो समयदेखि रोकिएको उक्त रकम मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निकासा गर्ने निर्णय गरेको हो । 

एसियाड पदकधारी र क्रिकेटरको पुरस्कार निकासा

असोजमा चीन सम्पन्न १९ औं एसियाली खेलकुदमा कराते खेलाडी एरिकाले रजत र नेपाली महिला टोलीले कबड्डीमा कांस्य पदक जितेको थियो ।

घरेलु भूमिमा नोभेम्बरमा सम्पन्न ट्वान्टी–२० विश्वकपको एसिया छनोट फाइनलमा पुग्दै नेपाल दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छानिएको थियो । तर कार्यविधिमै भए पनि खेलाडीहरूले यो घोषित पुरस्कार रकम पाउन सकेका थिएनन् ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै १९ औं एसियाडका पदक विजेता खेलाडी तथा प्रशिक्षकसहित क्रिकेटरले २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार पाउने भएका हुन् । त्यसमा राष्ट्रिय क्रिकेट टोलीले कुल २ करोड ४ लाख ७५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

नेपाललाई विश्वकपमा पुर्‍याउने टोलीका १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार हात पार्नेछन् । नेपाली टोली जुनमा हुने विश्वकप क्रिकेटको तयारीका लागि अहिले अमेरिकामा छ ।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिकाले १९ लाख ५० हजार, उनका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्नेछन् । एसियन खेलकुदमा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछ ।

एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन् । कबड्डी टिमले कुल ४८ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी तेक्वान्दोकी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार पाउनेछन् ।

लामो समयदेखि सरकारको घोषणा पुरस्कार रकम उपलब्ध गराउन खेलाडीहरूले बारम्बार गरेको अनुरोधलाई प्रमुख एजेन्डा बनाएर यसका लागि धैरै मिहिनेत गर्नुपरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बताए । यसका लागि मन्त्री श्रेष्ठले अर्थ मन्त्रालय र नेपाल सरकारलाई पनि धन्यवाद दिएका छन् ।

विश्वकप पुगेको ६ महिना बितिसक्दा पनि नेपाली टोलीले सरकारबाट घोषित नगद पुरस्कार पाउन नसकेको अवस्थामा नेपाली क्रिकेट टोली अघिल्लो महिना एसीसी प्रिमियर कप खेल्न ओमान जानुअघि बिदाइका क्रममा कप्तान रोहित पौडेलले आफूहरूले घोषित पुरस्कार रकम नपाएकोबारे खेलकुदमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

विश्वकपका लागि नेपाली टोली अमेरिका उड्नुअघि बिदाइका क्रममा मन्त्री श्रेष्ठले घोषित पुरस्कार रकम प्रदान गर्न नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय भएको जनाएका थिए । यसै आर्थिक वर्षभित्र घोषित पुरस्कार रकम उपलब्ध गराएमा खेलाडीको मनोबल उच्च भई आगामी प्रतियोगितामा थप उत्साहसाथ प्रतिस्पर्धा गर्ने वातावरण बन्ने भएकाले रकम जतिसक्दो चाँडो निकासा गर्न आफ्नो निरन्तर प्रयास रहने मन्त्री श्रेष्ठले बताएका थिए ।

प्रकाशित : वैशाख २८, २०८१ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?