कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

मनोबल बढाउने जित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी–२० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौँ — आसन्न ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले १५ सदस्यीय खेलाडी सूचीको नाम सार्वजनिक गरेको तीन दिनमात्र भएको छ । अनिल साह र सागर ढकालले ठूलो प्रतिस्पर्धाबीच अन्तिम समयमा अर्को महिना विश्वकप खेल्ने टोलीमा आफ्नो स्थान पक्का गरेका थिए । 

मनोबल बढाउने जित

उनै अनिल र सागरसहित आसिफ शेख, कुशल मल्ल र सोमपाल कामीले उच्च प्रदर्शन गरेपछि शनिबार नेपालले ट्वान्टी–२० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बलअघि नै पूरा गरेको थियो । सागर र सोमपालले ३–३ विकेट लिँदै वेस्ट इन्डिज ‘ए’ लाई मध्यम स्कोरमा रोक्न भूमिका खेलेका थिए भने आसिफ र अनिलले अर्धशतक बनाए । कुशल मल्लले सानदार फिनिसिङ गरेपछि नेपालको सान्त्वना जित सम्भव भएको हो । आसिफ र अनिलले दोस्रो विकेटमा ७१ बल खेल्दै ९६ रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिज ‘ए’ ले ३–२ को अग्रतासँगै शृंखला आफ्नो पक्षमा पारेको छ । कप्तान रोहित पौडेलको १ सय १२ रन मदतमा नेपालले अघिल्लो शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । तर, नेपाल दोस्रो खेलमा १० रनले पराजित भएपछि क्यारेबियन टोलीले शृंखला बराबरी गर्‍यो । वेस्ट इन्डिज ‘ए’ ले त्यसपछि तेस्रो खेल ७६ रन र चौथो खेल २८ रनले जितेको थियो ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

शनिबार कुशल भुर्तेल ९ बलमा ३ चौका प्रहार गरी १३ रनमा आउट भएपछि आसिफ र अनिलले जमेर खेले । आसिफले ५१ रन बनाए । उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे । सुरुआती विकेटमा जम्न समय लगाएका अनिलले ४५ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरी ५८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए पनि कुशल मल्लले आक्रामक ब्याटिङ गरेर नेपाललाई सानदार विजय दिलाए । अन्तिम दुई ओभरमा २२ रन बनाउनुपर्ने अवस्थामा मल्लले दोस्रो अन्तिम ओभरको पहिलो दुई बलमा छक्का र चौका प्रहार गरे । तेस्रो बल लेग बाईमा चौका भए पनि उनले अर्को दुई बलमा चौका हानेर नेपाललाई जिताए ।

कुशल १८ बलमा समान ३ चौका र छक्कासहित ३७ रन बनाई अविजित रहे । कप्तान रोहित क्रिजमा आए पनि उनले कुनै बलको सामना गर्नुपरेन । वेस्ट इन्डिज ‘ए’ का ओबेड म्याकोयले ३.५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए ।

शृंखलामा लगातार पाँचौं पटक टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले यसअघि निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७२ रन बनाएको थियो । देव्रेहाते स्पिनर सागरले कसिलो बलिङ गरे । सागरले पहिलो ३ विकेट लिँदै वेस्ट इन्डिजलाई दबाबमा राखेपछि वेस्ट इन्डिज ‘ए’ ले १४ ओभरमा १०६–४ को स्कोरमात्र बनाउन सकेको थियो । त्यसपछि भने वेस्ट इन्डिज टोलीले अन्तिम ६ ओभरमा आक्रामक भएर खेल्दै ६६ रन जोड्यो ।

सागरले आफ्नो पहिलो ओभरमा कदिम एलियनलाई ११ रनमा आउट गरे । उनले दोस्रो ओभरमा जोहन्सन चार्ल्स र मार्क डेयललाई आउट गर्दै नेपाललाई राम्रो स्थितिमा उभ्याए । अघिल्लो दिनमात्र वेस्ट इन्डिजको घोषित विश्वकप टोलीमा समेटिएका चार्ल्सलाई प्लेयर अफ द म्याच सागरले कट एन्ड बोल्ड गरेका थिए । चार्ल्सले २० बलमा २ चौका र २ छक्का प्रहार गरे ।

शृंखलामा पहिलो खेल खेलिरहेका डेयलले ११ रनमात्र बनाउन सके । सागरको बलमा आउट हुनुपूर्व १९ बल खेलेका उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । कप्तान रोस्टन चेसले ३३ रन बनाए । वेस्ट इन्डिजको विश्वकप टोलीमा रहेका चेजले २३ बल खेल्दै ५५ चौका प्रहार गरे । उनी अविनाश बोहराको बलमा आउट भए ।

अन्तिम ६ ओभरमा म्याथ्यु फोर्डे र एलिक एथान्जेले खुलेर ब्याटिङ गरे । फोर्डले १२ बलमा २३ रन बनाउँदा ३ छक्का प्रहार गरे । सोमपालले फाबियन एलेनलाई ३ र गुडाकेस मोतीलाई १ रनमा आउट गरे । एथान्जे ४२ र हेडेन वाल्स ७ रनमा अविजित रहे । एथान्जेले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

सोमपाल र सागरले ३–३ विकेट लिनेक्रममा क्रमशः ४ ओभरमा १६ र २ ओभरमा १७ रन खर्चिए । अविनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गर्दै गुलशन झा र करण केसीको स्थानमा अनिल र सागरलाई खेलाइएको थियो । २ सय ६५ रन बनाउनु साथै १ विकेट लिएका कप्तान रोहित प्लेयर अफ द सिरिज भए । ५ खेलमा २ सय १२ रन बनाएका वेस्ट इन्डिजका ओपनर जोहन्सन चार्ल्स उत्कृष्ट ब्याटर र ८ विकेट लिएका ओबेड म्याकोय उत्कृष्ट बलर चुनिए ।

प्रकाशित : वैशाख २३, २०८१ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?