कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित, मल्लको शानदार फिनिसिङ

काठमाडौँ — आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगाडि नै पुरा गर्‍यो । 

आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित, मल्लको शानदार फिनिसिङ

आसिफ र अनिलले दोस्रो विकेटमा ७१ बलमा ९६ रनको साझेदारी तथा कुशल मल्लको सानदार ब्याटिङमा नेपालले शृंखलामा सान्त्वना विजय हात पारेको हो । वेस्ट इन्डिज ‘ए’ ले ३–२ को अग्रतासँगैं शृंखला आफ्नो पक्षमा पारेको छ ।

रोहितको १ सय १२ रनमा नेपालले अघिल्लो शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । तर नेपाल दोस्रो खेलमा १० रनले पराजित भएपछि क्यारेबियन टोलीले शृंखला बराबरी गरेको थियो । वेस्ट इन्डिज ‘ए’ ले त्यसपछि तेस्रो खेल ७६ र चौँथो खेल २८ रनले जितेको थियो ।

कुशल भुर्तेल ९ बलमा ३ चौका प्रहार गरी १३ रनमा आउट भएपछि आसिफ र अनिलले जमेर खेलेका थिए । आसिफले ५१ रन बनाए । उनले ३५ बल खेली २ चौका र ५ छक्का प्रहार गरे । सुरुआतमा विकेटमा जम्न समय लगाएका अनिलले ४५ बल खेली समान ४ चौका र छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए पनि कुशल मल्लले आक्रामक ब्याटिङ गरि नेपालले सानदार विजय दिलाए । अन्तिम दुई ओभरमा २२ रन बनाउनु पर्ने अवस्थामा मल्लले पहिलो दुई बलमा छक्का र चौका प्रहार गरेका थिए । तेस्रो बलमा लेग बाईमा चौका भए पनि मल्लले अर्को दुई बलमा लगातार चौका प्रहार गरि नेपाललाई जिताए ।

मल्ल १८ बल खेली समान ३ चौका र छक्का प्रहार गरि ३७ रन बनाई अविजित रहे । कप्तान रोहित पौडेल क्रिजमा आए पनि उनले कुनै बलको सामना गर्नु परेन । वेस्ट इन्डिज ‘ए’ का ओबेड म्याकोयले ३.५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए ।

शृंखलामा लगातार पाँचौं पटक टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले यसअघि निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७२ रन बनाएको थियो ।

देव्रेहाते स्पिनर सागर ढकालले कसिलो बलिङ गरे पनि वेस्ट इन्डिज ‘ए’ ले राम्रो योगफल बनाएको हो । सागरले पहिलो ३ विकेट लिदैं वेस्ट इन्डिजलाई दबाबमा राखेका थिए, जसको कारण वेस्ट इन्डिज ‘ए’ १४ ओभरमा १०६–४ को स्कोरमात्र बनाउन सकेको थियो । त्यसपछि भने वेस्ट इन्डिज ‘ए’ ले अन्तिम ६ ओभरमा आक्रामक भएर खेल्दै ६६ रन जोडेको थियो ।

सागरले आफ्नो पहिलो ओभरमा कदिम एलियनलाई ११ रनमा आउट गरेका थिए । उनले आफ्नो दोस्रो ओभरमा जोहनसन चार्ल्स र मार्क डेयललाई आउट गरि नेपाललाई राम्रो स्थितिमा उभ्याएका थिए । अघिल्लो दिनमात्र वेस्ट इन्डिजको घोषित विश्वकप टोलीमा समेटिएका चार्ल्सलाई सागरले कट एन्ड बोल्ड गरेका थिए । चार्ल्सले २० बल खेली २ चौका र २ छक्का प्रहार गरे ।

शृंखलामा पहिलो खेल खेलिरहेका डेयलले ११ रनमात्र बनाउन सके । सागरको बलमा आउट हुनुपूर्व १९ बल खेलेका उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । कप्तान रोस्टन चेसले ३३ रन बनाए । वेस्ट इन्डिजको विश्वकप टोलीमा रहेका चेजले २३ बल खेली ५५ चौका प्रहार गरे । उनी अविनाश बोहराको बलमा आउट भए ।

अन्तिम ६ ओभरमा म्याथ्यु फोर्डे र एलिक एथान्जेले खुलेर ब्याटिङ गरे । फोर्डले १२ बलमा २३ रन बनाउनेक्रममा ३ छक्का प्रहार गरे । सोमपाल कामीले फाबियन एलेनलाई ३ र गुडाकेश मोतीलाई १ रनमा आउट गरे । एथान्जे ४२ र हेडेन वाल्स ७ रन बनाई अविजित रहे । एथान्जेले २९ बल खेली १ चौका र ३ छक्का प्रहार गरे ।

सोमपाल र सागरले ३–३ विकेट लिए । सोमपालले ४ ओभरमा १६ र सागरले २ ओभरमा १७ रन खर्चे । अविनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको थियो । गुलशन झा र करण केसीको स्थानमा अनिल साह र सागरलाई खेलाइएको थियो ।



प्रकाशित : वैशाख २२, २०८१ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?