पलेशा र कविराज सम्मानित
काठमाडौँ — पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई किंग्स लाउन्ज काठमाडौंले सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक २०२४ का लागि छनोट भएकी पलेशा र उनलाई छनोट गराउन सफल प्रशिक्षक कविराजलाई किंग्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र डाइरेक्टर कुमार गुरुङले सम्मानपत्र प्रदान गरे ।
चीनको ताइयानमा चैत ४ सम्पन्न एसियाली छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिस २०२४ पारालम्पिकमा स्थान बनाएकी थिइन् ।
पलेशा छनोट चरण पार गरेर ओलम्पिक खेल्न लागेकी तेस्रो नेपाली खेलाडी हुन् । यसअघि दीपक विष्ट र संगीना वैद्यले मात्र एसियाली छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।
चीनको हाङचाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेशाले कांस्य पदक जितेकी थिइन् । जुन पदक नेपालको पहिलो पारा एसियाड पदक हो ।
यसअघि सन् २०२० मा भएको टोकियो पारालम्पिकमा पलेशाले दुई खेल जितेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । त्यसमा तीन स्वर्ण, दुई रजत र ५ कांस्य छ । नेगीले पलेशालाई सन् २०१६ देखि प्रशिक्षण गराइरहेका छन् ।
किंग्स लाउन्जले लामो समयदेखि विभिन्न खेलक्षेत्रका खेलाडीलाई सहयोग गर्दै आइरहेको छ । लाउन्जले पलेशाबाट फ्रान्समा हुने पेरिस २०२४ पारा ओलम्पिकमा उच्च प्रदर्शन हुने अपेक्षा गर्दै शुभकामना व्यक्त गरेको छ ।
प्रकाशित : वैशाख १८, २०८१ २१:१०