२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

नेपालको एसिया कप यात्रामा धक्का

यूएई र ओमानले प्रिमियर कप फाइनल खेल्ने
विनोद पाण्डे

काठमाडौँ — फितलो प्रदर्शन गरेको नेपाल एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको सेमिफाइनलमै रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा जारी प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गर्न खासै संघर्ष गर्नुपरेन । 

नेपालको एसिया कप यात्रामा धक्का

योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्य समाप्त भएको छ । प्रिमियर कप विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले काठमाडौंमा यूएईलाई नै फाइनलमा पराजित गरि एकदिवसीय संरचनाको एसिया कप खेलेको थियो ।

यूएईले आइतबार हुने फाइनलमा आयोजक ओमानको सामना गर्नेछ । अकिब इल्याजले ५१ बलमा ४ चौका र २ छक्कासहित अविजित ६२ रन बनाएपछि ओमानले शुक्रबारै भएको दोस्रो सेमिफाइनलमा हङकङमाथि ५ विकेटको जित पाएको थियो । हङकङले बनाएको १३०–९ को स्कोरलाई ओमानले ४ बलअगाडि पूरा गरेको हो । नेपाल र हङकङ शनिबार तेस्रो स्थानलाई खेल्नेछ ।

नेपाल र यूएईको सानो स्कोर खेल रह्यो । यूएईले १ सय २० रनको लक्ष्य १६ बलअगाडि नै १ सय २३ रन बनायो । अलिसान सराफु ५५ र आयान अफजल खान ३ रन बनाई अविजित रहे । प्लेयर अफ द म्याच सराफुले ४१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर एवं कप्तान मोहम्मद वासिम ७ बलमा ११ रन बनाई आउट भए । दोस्रो ओभरमा वासिमले सोमपाल कामीको बलमा छक्का प्रहार गरे । तर, त्यसको अर्को बलमै सोमपालले उनलाई बोल्ड गरे । गुलशन झाले विष्णु सुकुमरन र आसिफ खानलाई आउट गरे । सुकुमरनले २८ बलमा ३ चौका र १ छक्कासहित २८ र आसिफले ६ बलमा १ छक्कासहित १० रन बनाए । सैयद हैदरलाई ललित राजवंशीले १४ रनमा एलबीडब्लू आउट गरे ।

यसअघि सन्दीप जोराले अर्धशतक बनाए पनि टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाललाई यूएईले ११९–९ को स्कोरमा रोकेको थियो । खेलको पहिलो बलमै कुशल भुर्तेललाई जुनैद सिद्दिकीले विकेटकिपरको पछाडि क्याचआउट गरेपछि नेपाली इनिङ्स मस्कटस्थित अल अमेरातमा पूरा दबिएको थियो । नेपालले पहिलो ५ ओभरमा २१–२ र १० ओभरमा ५२–४ को स्कोरमात्र बनाउन सकेको थियो ।

अर्का ओपनर आसिफ शेखले एक छक्का प्रहार गरे पनि ११ बलमा ८ रनमात्र जोड्न सके । कप्तान रोहित पौडेल पनि लामो टिक्न सकेनन् । उनले १८ बलमा ५ रनमात्र बनाए । कुशल मल्ल ५ बलमा ३ र दीपेन्द्रसिंह ऐरी ८ बलमा ५ रन बनाई आउट भए ।

सन्दीप जोरा ५० रन बनाई आउट भए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको तेस्रो अर्धशतक हो । उनले ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे । नेपालबाट दोहोरो स्कोर बनाउने अर्का दुई खेलमा गुलशन झा र करण केसी थिए । गुलशनले १६ बलमा समान १ चौका र छक्कासहित २० तथा करणले दुई छक्कासहित १२ बलमा १७ रन बनाए ।

सोमपाल २ रनमा आउट भए । अविनाश बोहरा १ र ललित राजवंशी २ रनमा अविजित रहे । यूएईका सिद्दिकी, अली नसिर र बसिल हमिदले २–२ विकेट लिए । सिद्दिकीले ४ ओभरमा २६, नसिरले ४ ओभरमा २८ र हमिदले २ ओभरमा ४ रन दिएका थिए । सफी रहमान, आयान र मोहम्मद फारुकले १–१ विकेट लिए ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?