३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

कर्णालीको कसरत, दुई अंकको स्वर्ण

कर्णाली प्रदेश बृहत १० औं राष्ट्रिय खेलकुद आयोजनाको संघारमा छ । मंसिरमा प्रतियोगिता हुने तालिका छ । राष्ट्रिय खेलकुदमा आफ्नो बलियो उपस्थिति देखाउनेतर्फ राष्ट्रपति रनिङ सिल्डको प्रदर्शन इङ्गित छ ।
ध्रुव तुलाधर

काठमाडौँ — जुनियर खेलाडीको प्रतिभा उजागर गर्ने प्रमुख थलोमध्ये एक रहेको राष्ट्रपति रनिङ सिल्डबाट यसपालि कर्णाली प्रदेशले सुखद सन्देश छाडेको छ ।

कर्णालीको कसरत, दुई अंकको स्वर्ण

राजधानीमा बिहीबारमात्र १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सकिएको छ । स्थानीय तह हुादै प्रदेशस्तरबाट छानिएर आएका सातै प्रदेशका कुल ६ सय ८६ खेलाडीले ६ फरक खेल (एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु) मा प्रतिस्पर्धा गरेका थिए ।

सुदूरपश्चिम प्रदेश १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदक जित्दै पहिलो पटक सिल्ड जित्न सफल भयो । वाग्मती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्यसहित दोस्रो हुॅदा कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कांस्यसहित तेस्रो स्थान हासिल गरेको थियो । कर्णाली पहिलोपल्ट ‘दुई अंक’ को स्वर्ण जित्दै पदक तालिकाको तेस्रो स्थानमा रहेको हो । एथलेटिक्समा ७, करातेमा २ र तेक्वान्दोमा १ स्वर्ण जितेको कर्णालीवासीका लागि यो सुखद सन्देश हो ।

कर्णाली प्रदेश बृहत १० औं राष्ट्रिय खेलकुद आयोजनाको संघारमा छ । यसै वर्ष मंसिरमा प्रतियोगिता हुने तालिका छ । त्यसले गर्दा कर्णालीले राष्ट्रिय खेलकुदमा आफ्नो बलियो उपस्थिति देखाउनेतर्फ रनिङ सिल्डको प्रदर्शन इङ्गित छ ।

अरू प्रदेशको तुलनामा कर्णालीमा खेल पूर्वाधारका गतिला संरचना छैनन् । दसौं राष्ट्रिय खेलकुद हुने मुख्यस्थल सुर्खेतमा मात्र रंगशाला र कभर्डहल छ । अरू जिल्लामा त्यो पनि छैन । तथापि अहिले कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुदलक्षित गरेर आफ्नो टिम तयारी गरिरहेको छ । नवौं संस्करण पार गर्दासम्म राष्ट्रिय खेलकुदमा कर्णालीले दुई अंकमा स्वर्ण जित्न सकेको छैन । आठौंमा ३ र नवौंमा २ स्वर्ण जितेको कर्णालीसँग धेरैचोटि पदकविहीन हुनुपरेको पीडा छ । त्यसैले ‘डबल डिजिट गोल्ड’ भन्ने अभियानमा कर्णाली प्रदेश खेलकुद परिषद् लागिपरेको छ ।

गत वर्ष सम्पन्न १३ औं राष्ट्रपति रनिङ सिल्डमा ४ स्वर्णसहित १७ पदक जितेर पाँचौ स्थानमा रहेको कर्णालीले यसपालि स्वर्ण पदकमा छलाङ नै मारेको छ । यसको मुख्य श्रेय निरन्तर प्रशिक्षण हो । कर्णालीले एथलेटिक्सका लागि थप प्रशिक्षक अनुबन्ध गरेर प्रशिक्षण गराइरहेको छ । सम्भवतः राखेपको कोटाबाहेक अरू प्रशिक्षक अनुबन्ध गरेर प्रशिक्षण गराउने कर्णाली पहिलो प्रदेश हो ।

प्रशिक्षक विक्रमजंग थापा ।

प्रदेशले एथलेटिक्सको पूर्व मुख्य प्रशिक्षक विक्रमजंग थापालाई आकर्षक तलबसहित अनुबन्ध गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट अवकाशपछि गृहनगर नेपालगन्जमै रहेका उनलाई कर्णालीले अनुबन्ध गरी एथलेटिक्सको अनुभव र योगदान खेर जान दिएन । उनले झन्डै एक वर्षयता कर्णालीको एथलेटिक्स टोली हेरिरहेका छन् ।

त्यसैको नतिजास्वरुप राष्ट्रपति रनिङ सिल्डमा कर्णालीले ७ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ । अन्तर प्रदेश खेलकुदमा ६ स्वर्ण जितेको थियो । प्रशिक्षक थापा भन्छन्, ‘राष्ट्रिय खेलकुदमा डबल डिजिट गोल्ड ल्याउने अवधारणामा कर्णालीको मुहार फेर्न लागिपरेको छु । त्यसैको सुरुआतमात्र हो यो सफलता ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालको मार्गनिर्देशनअनुसार आफ्नो टिम कटिबद्ध रहेको थापाले सुनाए । उनले भने, ‘उहाँहरूले कर्णालीलाई खेलकुदमा माथिल्लो स्थानमा देख्न चाहिरहनुभएको छ । मैले पनि त्यहीअनुसार ट्रेनिङ प्रोग्राम बनाएर पेस गरेको छु । मलाई सपोर्ट पनि भइरहेछ ।’

आफ्नो अनुभव र क्षमतालाई फेरि फिल्डमा लगाउन पाउँदा प्रशिक्षक थापा दंग छन् । आफू कर्णालीसँग जोडिनुमा राखेपकै सिनियर प्रशिक्षक रामबहादुर ओलीको भूमिका रहेको उनले बताए । ‘उहाँले मेरो क्षमता पहिचान गरेर कर्णालीसँग जोड्नुभयो, खुसी छु,’ थापाले भने ।

उनीहरू र हरिबहादुर रोकायले कर्णालीको एथलेटिक्स टिम हेरिरहेका छन् । १४ खेलाडीलाई क्याम्पमै राखेर प्रशिक्षण दिइरहेका छन् । त्यसका लागि प्रदेश सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता पनि दिन्छ ।

कर्णालीका खेलाडीले राष्ट्रपति रनिङ सिल्डमा दुई इभेन्टमा कीर्तिमान राख्दै स्वर्ण जितेका हुन् । सरिता खड्काले छात्रा ४०० र ८०० मिटर दौडमा दुई स्वर्ण जितिन् । छात्र ३ हजार मिटर दौडमा अजय विक, छात्रा १५ मिटर दौडमा कल्पना बुढा र छात्र सटपुट बालकुमार नकालले कर्णालीलाई स्वर्ण दिलाएका थिए । अर्को स्वर्ण सरिता, भावना फरसाल, हिमाली शाही र कृष्णा रानाको टिमले ४ गुणा ४ सय मिटर रिले दौडमा जितेको थियो । कीर्तिमान रिले र सरिताको ८०० मिटर दौडमा बनेको थियो ।

हाइअल्टिच्युडमा ट्रेनिङ गरिरहेकी कल्पनाबाट छात्रा ३ हजार मिटरमा स्वर्ण अपेक्षा गरिए पनि खेल्नु अघिल्लो रात उनमा शारीरिक समस्या आएपछि गुमाउनुपरेको प्रशिक्षक हरिबहादुर रोकायले सुनाए । कल्पनाबाट उक्त स्वर्ण सुदूरपश्चिमकी देवकी धामीले छिनेकी थिइन् । कल्पना तेस्रो भइन् । नत्र, एथलेटिक्समा कर्णालीले सुदूरलाई उछिन्ने थियो । यद्यपि दुवै प्रदेशले समान ७ स्वर्ण जितेका थिए ।

कर्णालीका सदस्यसचिव सन्ज्यालले पनि फेसबुक स्ट्याटसमार्फत खुसी साटेका छन् । उनले ‘कर्णाली दुई अंकको स्वर्ण पदकमा प्रवेश’ भनेर सबैलाई बधाई दिएका छन् ।

प्रशिक्षक थापा राजधानीमा प्राप्त यो सफलताले दसौं राष्ट्रिय खेलकुदका लागि उर्जा भरेको बताउँछन् । भन्छन्, ‘प्रदेशको शिर ठाडो पार्न सकेका छौं । प्रदेश सरकारले पनि पदक जित्नेलाई नगदसहित सम्मान गर्ने भनेको छ । हामीलाई त्यसले थप उर्जा दिनेछ ।’ कर्णाली प्रदेश सरकारले दसौं राष्ट्रियमा स्वर्ण जित्नेलाई ४ लाख, रजतलाई ३ लाख र कांस्यलाई २ लाख दिने घोषणाले आफ्ना खेलाडीको मनोबल उच्च रहेको प्रशिक्षक थापाको बुझाइ छ । यसले आफ्नो प्रदेशका लागि खेल्दा खेलाडीमा गौरव महसुस गराउने उनले सुनाए ।

कर्णालीलाई थप स्वर्ण तेक्वान्दोबाट निशान प्याकुरेल र करातेबाट लक्ष्मणकुमार शाही र प्रियंका शाहीले दिलाएका थिए ।राष्ट्रपति रनिङ सिल्ड उद्घाटनमै कर्णालीले आफ्नो पहिचान अनुभूत गराएको थियो । आफ्नै प्रदेशमा उत्पादन हुने अल्लोबाट बनेका पोसाकमा खेलाडीले मार्चपास गरेका थिए । त्यसलाई धेरैले प्रशंसा गरेका थिए ।

देशको हरेक स्थानीय तह, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्मको दायरामा हुने राष्ट्रपति रनिङ सिल्ड सहभागिता र प्रतिस्पर्धाको हिसाबले पनि ठूलो प्रतियोगिता हुन आउँछ । यसका लागि नेपाल सरकारले रातो किताबमै बजेट विनियोजन गर्छ । सरकारीस्तरमा हुने यो आधिकारिक खेलकुद प्रतियोगिता हो । तर, नियमित क्यालेन्डरमा हुन सकेको छैन ।

यसलाई क्यालेन्डर नै बनाएर समयमै आयोजना गर्न सुझाउँछन् कर्णालीका प्रशिक्षक थापा । उनले भने, ‘यसमा भाग लिने खेलाडी धेरै स्कुलका हुन्छन्, क्यालेन्डर नहुँदा उनीहरूको पढाइमा असर गर्छ । स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आउनुपर्ने हुन्छ । क्यालेन्डरमा भयो भने योजनाबद्ध ढंगले तयारी गर्न पाइन्छ । जसले राम्रो नतिजा ल्याउन सकिन्छ ।’

उनले आफ्नै प्रदेशको उदाहरण दिए । ‘हामीले समयमै स्थानीय र जिल्ला सकेर तयारीसाथ बसेका थियौं, त्यसले अहिले सजिलो भयो ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ पनि जुनियरस्तरको ठूलो खेलकुद प्रतियोगिता भएकाले यसलाई अरू खेल पनि थप्दै बृहत बनाउन र योजनाबद्ध ढंगले जान प्रयास गरिरहेको बताउँछन् । स्थानीयस्तरदेखि केन्द्रसम्म आउँदा ६ लाखभन्दा बढी खेलाडी यससँग जोडिन पुग्ने उनको दाबी छ ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?