१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८६

नेपाल ‘ए’ लाई आयरल्यान्ड उल्भ्सको विशाल लक्ष्य

काठमाडौँ — आयरल्यान्ड उल्भ्स (ए) ले पहिलो ट्वान्टी-२० क्रिकेटमा नेपाल ‘ए’ लाइ २२३ रनको विशाल चुनौती दिएको छ । नेपाल ‘ए’ ले टस जितेपछि ब्याटिङमा आएका आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २२ रन बनाएको हो ।

नेपाल ‘ए’ लाई आयरल्यान्ड उल्भ्सको विशाल लक्ष्य

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओपनर पिटर मुरले आईरिस टोलीबाट सर्वाधिक ४९ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर रस एडाएर २ रनमात्र बनाई कमलसिंह ऐरीको बलमा आउट भएपछि मुर र केड केरमाइकलले दोस्रो विकेटमा ५८ बलमा ८८ रनको साझेदारी गरे ।

जिम्बावे र आयरल्यान्डबाट टेस्ट खेलिसकेका मुर अर्धशतक बनाउन १ रन अगाडि आरिफ शेखको बलमा बोल्ड भए । केरमाइकलले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए । त्यसपछि स्टेफन डहनी र कप्तान निल रकले ५१ रनको साझेदारी गरे ।

डहनीले १६ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । रकले २३ बल खेली १ चौका र ३ छक्कासहित ३८ रन बनाए । ग्यारेथ डेलानी ३० र ग्याभिन होइ १८ रन बनाई अविजित रहे । इनिङ्सको अन्तिम ३ बलमा सागर ढकाललाई लगातार छक्का प्रहार गरेका डेलानी १४ बल खेली २ चौका प्रहार गरे । होइले ६ बलमात्र खेल्नेक्रममा २ छक्का प्रहार गरे ।

नेपाल ‘ए’ ले अन्तिम ५ ओभरमा ७३ रन जोडेको थियो । लामो समयपछि मैदानमा पुनरागमन गरेका कमलले ३ विकेट लिए । तर उनले सोक्रममा ३९ रन खर्चेका थिए । सागर र आरिफले १–१ विकेट लिए । अन्तिम ओभरमा २३ रन खर्चेका सागरले आफ्नो पहिलो ३ ओभरमा ११ रनमात्र दिएका थिए ।

नेपाली राष्ट्रिय टोलीसँगको पहिलो २ ट्वान्टी-२० खेलमा आयरल्यान्ड ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग ३ ट्वान्टी २० र ३ एकदिवसीय खेल खेल्ने छ ।

प्रकाशित : चैत्र १६, २०८० १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?