२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सरकारको प्राथामिकतामा छैन सेती लोकमार्ग

अछाम — उत्तर–दक्षिण जोड्ने सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको सेती लोकमार्गको काम अघि बढ्न सकेको छैन । आयोजनाले कैलालीको टीकापुर नाकाबाट भारत र ताक्लाकोट बझाङले चीनलाई छोएको छ ।

सरकारको प्राथामिकतामा छैन सेती लोकमार्ग

बहुवर्षीय आयोजनाको रुपमा रहेको सेती लोकमार्ग निर्माणका लागि सरकारले दक्षिणी खण्डको लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ । दक्षिणी खण्डमा पर्ने १ सय ९४ किलोमिटर मध्ये ५९ किलोमिटर सडकको ट्रयाक खुलेको छैन । त्यस्तै बझाङ क्षेत्रमा पर्ने उत्तरी खण्डमा १ सय ५५ किलोमिटर मध्ये ७७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको छ ।

सरकारले आर्थिक वर्ष २०६५/६६ बाट बजेटमा समावेश गर्दै आए पनि प्राथामिकतामा नराख्दा निर्माण सुरु गरेको १५ वर्षसम्म ३ सय ४९ किलोमिटर रहेको यस लोकमार्गमा १ सय ३६ किलोकिटर सडकको ट्रयाक खोल्न बाँकी रहेको छ । हालसम्म २ सय १३ किलोमिटर सडककोमात्र ट्रयाक खुलेको छ ।

दक्षिण खण्ड अन्तरगत कैलालीको दुर्गौली–प्रतापुरमा पर्ने १० किलोमिटर सडक कालोपत्रेका लागि टेण्डर आह्वान गरिएको इन्जिनियर युवराज जोशीले बताए । चालु आवमा ठेक्का व्यवस्थापन गरेर आउने आवमा मात्रै कालोपत्रेको काम सुरु हुने उनले बताए । उनका अनुसार कैलालीको बौनियाँदेखि डोटीको सीमानामा पर्ने ५५ किलोमिटर सडक खण्डको ट्रयाक खोल्ने काम चालु आवको असारसम्म सकिने छ ।

आव ०७३/७४ मै ३३ करोड रकममा ठेक्का लागेको यो खण्डको काम रुख काट्नु पर्ने र त्यसका लागि मन्त्रीपरिषद्बाट कटान आदेश आउन ढिलो भएकाले चालु आवमा मात्रै सम्पन्न हुन लागेको जोशीले बताए । उनकाअनुसार यो खण्डमा पर्ने दुई मध्ये एक पुल निर्माणको काम सम्पन्न भइसकेको छ भने अर्को निर्माण प्रक्रियामा छ ।

निर्माण कम्पनीले पुलको काम सम्पन्न गरिसक्दा पनि भुक्तानी हुन नसकेको उनले बताए । ‘१० करोड लागतमा पुल बनिसकेको छ । अर्थ मन्त्रालयमा बजेट माग गरिएको छ । अहिलेसम्म भुक्तानी हुन सकेको छैनौं,’ दक्षिण खण्डका इन्जिनियर जोशीले भने,‘सडक विभागले बजेट व्यवस्थापनको लागि पहल गरेर अर्थ मन्त्रालयसम्म फाइल पुगेको छ । बजेट कहिलेसम्म आइपुग्छ भन्ने आधिकारिक जानकारी आएको छैन ।’

डोटीमा पर्ने ४० किलोमिटर सडक खण्डमा ट्रयाक नै खोल्न नसकेको आयोजनाका इन्जिनियर जोशीले बताए । गत वर्ष करिब ६७ करोडमा ठेक्का व्यवस्थापन भइसके पनि यस खण्डमा पर्ने करिब २८ सय रुख काट्नु पर्ने भएकाले काम अझै सुरु हुन नसकेको उनले बताए ।

‘डोटी क्षेत्रमा पर्ने करिब २८ सय रुख काट्नका लागि सडक विभाग हुँदै वन मन्त्रालयमा फाइल पठाइसकेका छौं,’ उनले भने,‘वन मन्त्रालयले मन्त्रीपरिषद्मा लिएर कटान आदेश दिनु पर्ने हुन्छ । अहिलेसम्म कटान आदेश नै कुरेर बसेका छौं ।’ निर्माणको जिम्मा पाएको कम्पनी एक वर्षदेखि आयोजनास्थलमा सामग्री लिएर बसेको उनले बताए । अछाम खण्डमा पर्ने ८० किलोमिटरमा ३२ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ ।

‘एक आर्थिक वर्षमा सरकारले करिब एक अर्ब बजेट सेती लोकमार्गको लागि व्यवस्थापन गर्न सकेको भए काम अघि बढ्थ्यो । पुल निर्माणसहित मुस्किलले १७ करोड बजेट मात्र आउँछ,’ उनले भने,‘खटिएर काम गर्यो भने सरकारले एक आवमा उपलब्ध गराउने बजेट बराबरको काम एक महिनामै सकिन्छ ।’

सरकारले सेती लोकमार्ग निर्माणको लागि बजेट व्यवस्थापन नगर्दा काम अघि बढ्न नसकेको उनले बताए । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने एक मात्र सडकको लम्बाइ अहिले करिब २ सय ७० किलोमिटर रहेकोमा सेती लोकमार्ग निर्माण भएपछि १ सय ३५ किलोमिटरमा झर्नेछ । सेती लोकमार्गको उत्तरी खण्ड बझाङमा पर्ने चैनपुर–ताक्लाकोट सडक खण्डमा पनि काम सुस्त गतिमा अघि बढेको आयोजनाका इन्जिनियर पंकज धामीले बताए ।

उत्तरी खण्डमा पर्ने ४२ किलोमिटर सडकमा मात्र अहिले काम भइरहेको उनले बताए । १० किलोमिटर सडक कालोपत्रे गर्न र अन्य क्षेत्रमा काम गर्नका लागि अर्थ मन्त्रालयमा बजेट व्यवस्थापनको माग गरे पनि एकिन नआएको उनले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?